: खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङको कारण खानेपानी आयोजना अघि बढाउन नसकिएको बताएका छन्। शुक्रबार धरानका सरोकारवाला नागरिकहरूको छलफल कार्यक्रममा मन्त्री यादवले धरानका मेयर साम्पाङको कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढाउन नसकिएको बताएका हुन्।
मन्त्री यादवले प्रधानमन्त्री केपी ओली र सुनसरी क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य अशोक राईको विशेष आग्रहमा एसियाली विकास बैंक(एडीबी)सँगको सहकार्यमा ६ अर्ब रुपैयाँ रकम विनियोजन गरी धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गराउन संघीय सरकारले आयोजनाको काम अगाडि बढाउन लाग्दा मेयर साम्पाङले अवरोध गरेको बताए।
मन्त्री यादवले धरानमा दैनिक ४ करोड ८४ लाख लिटर पानी उत्पादन गर्ने स्टेटमेन्ट तयार गरेर खानेपानी आयोजनाको काम अगाडि बढाउन खोज्दा मेयर साम्पाङले विदेशी अनुदान स्विकार नगर्ने भन्दै अवरोध पुर्याएको बताए। उनले मेयर साम्पाङ रित्तो गाग्री बोकेर पानी माग्दै काठमाडौं जाने तर, सरकारले रकम विनियोजन गरी खानेपानी आयोजनामा सहकार्य गरौं भन्दा उल्टै आयोजना विफल बनाउन लागेको आरोप लगाए।
उनले रित्तो गाग्री बोकेर विरोध गर्दैमा धरानको खानेपानी समस्या समाधान नहुने पनि बताए। धरानको खानेपानी समस्या समाधान गर्न आयोजनाको काम अगाडि बढाउनका लागि सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा छलफलका लागि मेयर साम्पाङलाई बोलाउँदा समेत नआएको मन्त्री राईले गुनासो गरे।
उनले धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गराउन ६ अर्बको खानेपानी आयोजनाको काम सुरु गराउन मेयरको ध्यानाकर्षण गराउन धरानवासीसँग अनुरोध गरे। साउन ७ गतेभित्र खानेपानीको टेन्डर आह्वान गरी म सुरु गर्नुपर्ने भएपनि मेयर साम्पाङले सहमति नजनाएका कारण खानेपानी आयोजनाको काम अगाडि बढाउन नसकिएको मन्त्री यादवले बताए।
उनले धरानको खानेपानी समस्याको समाधान तीनै तहका सरकारले गर्नुपर्ने भन्दै यो आयोजनाका लागि धरान उपमहानगरपालिकाले पनि १५ प्रतिशत रकम साझेदारी गर्नुपर्ने बताए। मन्त्री यादवले मेयर साम्पाङलाई पटक पटक फोन गर्दा नउठाउने खानेपानी आयोजनाको कामको विषयमा संवाद नचाएको बताए।
धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले तत्काल मेयर साम्पाङले खानेपानी आयोजनाको काम अगाडि बढाउन बाटो खुल्ला गर्दिनुपर्ने बताए। उनले मेयर साम्पाङले राजनीतिक प्रचारबाजी गरी खानेपानी आयोजनाको काम अगाडि बढाउन अवरोध गर्दा धरानवासीलाई नै नोक्सानी हुने बताए। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले पनि मेयर साम्पाङकै कमजोरीले गर्दा धरानमा खानेपानीको झन् समस्या थपिएको बताए। मन्त्री यादवले लगाएको आरोपको विषयमा पटकपटक फोन गर्दा साम्पाङले फोन उठाएनन्।