: झापाको बाह्रदशीमा सवारी दुर्घटना परी घाइते भएकी कचनकवल गाउँपालिका–३ डाकोपरा निवासी उर्मिला राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
गत असार २५ गते दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी स्कुटर चालक कचनकवल–३ डाकोपराका ६० वर्षीय श्रीप्रसाद राजवंशी, उनका ७ वर्षीय नाति आयुष राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी–१४ बस्ने २७ वर्षीय सुरज टुडूको सोही दिन मृत्यु भएको थियो। स्कुटर चालक श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला गम्भीर घाइते भएका थिइन्।
आज दिउँसो १:३५ बजे उर्मिलाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्कुटर चालक श्रीप्रसाद नाति आयुष र बुहारी उर्मिलालाई बुहारीको माइती छाड्न जाँदै थिए। सोही बेला तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी एकै परिवार तीन जनाको मृत्युले डाकोपराबासी अहिले शोकमा डुबेका छन्।