— गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक र अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई सरुवा गरेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयले सरुवा गरेको छ ।
रिजालको स्थानमा गृह मन्त्रालयका रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयमा प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखको भूमिकामा थिए ।
विमानस्थलको प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयले सरुवा गरेको छ। उनीहरू दुवै जनालाई मंगलबार सरुवा गरिएको हो । कोइरालाको स्थानमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई पठाइएको छ ।
विमानस्थलका अध्यागमन प्रमुख तीर्थ भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि गत जेठमा कोइरालालाई विमानस्थलमा पठाइएको थियो । भट्टराईलाई अख्तियारले छानबिन सुरु गर्नु दुई दिनअघि गृह मन्त्रालयले तानेको थियो । उनलाई गृहले ८ महिनामा फिर्ता गरेको थियो। कोइराला भने विमानस्थल पठाइएका दुई महिना नपुग्दै गृह मन्त्रालयमा फिर्ता भएका छन् ।
कोइरालालाई गत जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको थियो । अहिले विमानस्थल पठाइएका घिमिरे प्रजिअ हुनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारीमा थिए । घिमिरेको स्थानमा गृह मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
रिजाललाई गत कात्तिकमा गृह मन्त्रालयबाट अध्यागमन विभागमा सरुवा गरिएको थियो । काठमाडौंलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका रिजाल अहिलेसम्म कुनै विवादमा नपरेका छन् । उनलाई महानिर्देशक बनेको नौ महिनामै सरुवा गरिएको हो ।
बेलाबेलामा विवादमा पर्ने भएकाले विमानस्थल अध्यागमन विभागमा रहन वा सरुवा भएर जान कोही पनि मान्दैनन् भन्ने गृह स्रोतको भनाइ छ । पहिले त्यहाँ जान निकै इच्छुक हुन्थे, तर अहिले विवादमा पर्ने डरले सरुवा हुन आनाकानी गर्ने गरेको गृहका अधिकारीहरूले बताएका छन् । अहिले पनि कोभिड भिसामा स्पेन गएका कतिपय व्यक्ति नफर्केको विषय संसद्मा उठेपछि गृह मन्त्रालयले छानबिनका लागि प्रहरीलाई निर्देशन दिएको छ । उक्त प्रकरणमा सीआईबीले छानबिन समिति बनाइसकेको छ ।