— किनमेलका लागि हिँडेका व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । मंगलबार मध्याह्नतिर भारतीय बजारतर्फ जाने क्रममा तुइन बाँधिएको खम्बा भाँचिएर उनी महाकालीमा खसेका हुन् ।
व्यास–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार तुइन बाँधिएको भारतपट्टिको खम्बा भाँचिएको थियो । नारायणसँग रहेका दुई जनामध्ये २६ वर्षीय जितु विष्ट तरिसकेका थिए भने अर्का जयदु बुढाथोकी वारि (नेपालतर्फ) थिए । नारायण नदीको बीच भागमा पुग्दा तुइन खसेको थियो । उनको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय परिचालित भएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
वडाध्यक्ष बुढाथोकीका अनुसार गत वर्ष पनि दुम्लिङकै सुन्दरसिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए । ‘अघिल्लो वर्ष दुम्लिङ क्षेत्रकै १८ वर्षीय सचिन बुढाथोकी पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनीहरू तीनै जना फरक–फरक तुइनबाट खसेका हुन्,’ उनले भने, ‘प्रत्येक वर्ष तुइनबाट खसेर यहाँका कोही न कोही महाकालीमा हेलिएकै हुन्छन् ।’
२०७८ सालमा तुइनबाट महाकालीमा खसेका जयसिंह धामी अझै बेपत्ता छन् । त्यसको अघिल्लो वर्ष व्यास–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका थिए ।
केपी शर्मा ओलीले २०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर दशकसम्म पनि सीमान्त जिल्ला दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा तुइनबाटै वारपार गर्न बाध्य छन् । दुम्लिङमा मात्रै स्थानीयले तीन ठाउँमा तुइन लगाएर महाकाली वारपार गर्छन् । व्यास गाउँपालिका–२ र ५ का बासिन्दालाई किनमेलदेखि औषधि उपचार तथा आफ्नै जिल्ला सदरमुकाम पुग्न तुइनबाट महाकाली तरेर भारतको बाटो हिँड्नुपर्ने बाध्यता छ ।
डोरी वा फलामको सामान्य तारलाई वारिपारि रूख, ढुंगा वा खाँबोमा अड्काएर तर्दा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । जिल्ला प्रहरी प्रमुख डीएसपी दाहालले नेपालतर्फ दुम्लिङ र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरेको पाइएको बताए ।
दुम्लिङ बस्तीनजिक झोलुंगे पुल निर्माणका लागि सरकारलाई कैयौं पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको वडाध्यक्ष बुढाथाकीले बताए । उनका अनुसार महाकालीमा आधा दर्जन ठाउँमा झोलुंगे पुल निर्माण आवश्यक छ । ‘सबैभन्दा बढी दुम्लिङका बासिन्दालाई पुलको खाँचो छ,’ वडाध्यक्ष बुढाथोकीले भने ।
दार्चुला सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा नेपाल–भारत जोड्न व्यास गाउँपालिकाका ५ ठाउँमा महाकालीमाथि पुल हालिएको छ । सबैभन्दा माथिल्लो क्षेत्र सीतापुलमा पुरानो काठेपुल छ भने अन्य ४ ठाउँमा नयाँ झोलुंगे पुल छन् ।
मंगलबार दुर्घटना भएको स्थानबाट नजिकको वडा २ कै माल्घाटस्थित झोलुंगे पुल पुग्न दुई घण्टा लाग्छ । अर्को झोलुंगे पुल वडा ४ को मल्घट्टेमा छ । वडा ५ को तिगरम, वडा ६ को बडुगाउँमा पनि झोलुंगे पुल छन् तर ती टाढा छन् । झोलुंगे पुल टाढा रहेकाले र पुलसम्म पुग्ने बाटोसमेत सहज नहुँदा स्थानीयले पायक पर्ने ठाउँमा अस्थायी तुइन राख्ने गरेका छन् ।
व्यास–२ दुम्लिङ र बुदी तथा वडा ५ धौलाकोटका बासिन्दा तुइनमार्फत महाकाली वारपार गर्छन् । सदरमुकाम आउने पैदल बाटोसमेत गतिलो नभएका कारण उपभोग्य वस्तु किनमेल, औषधि उपचारलगायत आधारभूत कामका लागि तुइनमार्फत भारतीय बाटो धाउनुपरेको स्थानीय बासिन्दाको गुनासो छ ।