मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाए
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाए

— भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले सहयोग जुटाएर रंगशाला निर्माण थालेको थियो । तर सहयोग जुट्ने अवस्था नरहेको भन्दै फाउन्डेसन कामबाट अलग भएपछि भरतपुर महानगरपालिकाले स्वामित्व लिएर फेरि काम सुरु गरेको हो ।


महानगरले स्वामित्व लिएपछि गत वर्षको असार २३ गते निर्माण कम्पनीसँग ३० महिनाभित्र काम सक्ने गरेर सम्झौता भयो । सम्झौताको वर्ष दिन बित्दा भौतिक प्रगति ३२ प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत हाराहारीमा भएको निर्माण कम्पनीले जनाएको छ । रंगशालाको उत्तर र दक्षिणतर्फ दुईटा टावर रहने छन् । उत्तरतिरको टावरको भुईंतला ढलानका लागि अहिले जोडतोडले काम भइरहेको छ ।

‘सम्झौता भएको वर्ष दिन पूरा भयो । फाइनाइन्सियल प्रगति २६/२७ प्रतिशत हाराहारीमा छ । भौतिक प्रगति ३२ प्रतिशत पार भएको छ,’ निर्माण कम्पनीको तर्फबाट कार्यरत प्रोजेक्ट इन्जिनियर धर्मेन्द्र गुप्ताले बताए । १६ हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला निमाण भइरहेको छ । टावर र प्यारापिट निर्माणको काम अगाडि बढे पनि मैदानको काम सुरु भएको छैन ।

उत्तरतर्फ रहेको टावरको ढलान केही दिनमै हुने गुप्ताले बताए । त्यसपछि लगत्तै दक्षिणतर्फको टावर ढलान पनि हुनेछ । उत्तरतर्फको टावरमा भीभीआईपी र मिडिया बक्स रहनेछ । दक्षिणतर्फको टावरमा खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापनसँग सम्बन्धित व्यक्ति रहनेछन् । यी दुवै टावर तीन तलाका हुनेछन् । अहिले भुईंतलाको ढलान सुरसार हुँदै छ ।

टावरको पूर्व र पश्चिमतर्फ दुई खण्ड गरेर प्यारापिट रहने छन् । ‘टावरदेखि पश्चिमतर्फ पर्ने स्ट्यान्ड अर्थात प्यारापिट ‘ए’ को एक नम्बर खन्डको प्यारापिट ढलान भइसकेको छ । स्ट्यान्ड ‘ए’ कै दुई नम्बर खण्डको आधा ढलान भइसक्यो र आधाको ढलानका लागि डन्डी राख्ने काम भइरहेको छ,’ गुप्ताले जानकारी गराए । त्यसपछि टावरदेखि पूर्व पर्ने स्ट्यान्ड ‘बी’ को ३ नम्बर खण्डमा ढलानका लागि फर्मा राख्न सुरु गरिएको उनले बताए ।

स्ट्यान्ड अर्थात प्यारापिट ‘बी’को ४ नम्बर खण्डमा पीसीसी र सोलिङ पीसीसीको काम मात्रै भएको तर प्यारापिट ढलानको काम बाँकी रहेको छ । ‘यो वर्ष मैदान र पिचको काम सुरु हुँदैन । त्यो काम हामी अर्को वर्ष नै सुरु गर्ने छौं । पिच र मैदानको काम अन्तिममा गर्दा नै राम्रो हुने देखियो,’ उनले भने । काम पुरा गर्नुपर्ने ३० महिनाको अवधि रहेकामा १२ महिना पूरा भएर काम गर्न अब १८ महिना बाँकी छ ।

‘बीचमा फलामे डन्डी र सिमेन्टको अलि अभाव भयो । त्यसैले कामको प्रगतिमा अहिले एक महिना जति ढिला छौं । नभए अरू हिसाबले काम सन्तोषजनक नै छ । चारैतिर काम भइरहेको छ,’ इन्जिनियर गुप्ताले भने ।

भरतपुर महानगरपालिकाको नेतृत्वमा प्रदेश र संघीय सरकारको सहयोगमा रंगशाला निर्माणको काम भइरहेको हो । यसको निर्माण लागत ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा रहेको छ ।

२०७५ सालको माघ १६ गते चितवन रामपुरमा क्रिकेट रंगशाला बनाउने विषयमा काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रामपुरमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जमिनमा रंगशाला बन्न लागेको हो ।

जग्गा उपलब्ध गराएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले देश विदेशका नेपालीसँग सहयोग जुटाएर करिब ३ अर्बको लागतमा दुई वर्षभित्रै रंगशाला बनाउने उद्घोष गरेको थियो । तर सहयोग जुट्न सकस भएपछि फाउन्डेसनले २०७८ भदौदेखि काम बन्द गरेको थियो । सोही वर्षको पुस २ मा रंगशालाको स्वामित्व लिन फाउन्डेसनले महानगरलाई पत्र लेखेको थियो ।

काम सुरु गरेको वर्ष दिन नहुँदै विश्व नै प्रभावित हुने गरेर कोरोना संक्रमण सुरु भयो । सोचेअनुरुप सहयोग नजुटेको, ५७ करोड १२ लाख रुपैयाँ बराबरको काम हुँदा उधारो १८ करोड ४३ लाख रुपैयाँ रहेको भन्दै फाउन्डेसन रंगशाला निर्माणबाट अलग भएको थियो । जुन ऋण अझै चुक्ता भएको छैन ।



२०८० कात्तिक २१ मा महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर रंगशाला निर्माणको काम पूरा गर्ने सहमति गरेको हो । सहमति भएलगत्तै कात्तिक २३ मा संघीय सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । गत वर्षको असारमा निर्माण कम्पनीसँग सम्झौता भएर काम अगाडि बढेको हो । त्यसअघि फाउन्डेसनले रंगशालाको पिलर, प्यारापिट र मैदान निर्माणको काम सुरु गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...