— मुख्यमन्त्री सतिशकुमार सिंहले खडेरीले मधेश प्रदेशमा चर्किएको खानेपानीको समस्या र सुक्खाग्रस्त क्षेत्र समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोतसाधन परिचालन गर्ने बताएका छन् । उनले सहयोगका लागि दातृ निकायलाई आग्रह गरेका छन् ।
जनकपुरस्थित मधेश सरकारको सचिवालयमा मंगलबार सरोकारवाला मन्त्रालय र दातृ निकायसँग बैठक गर्दै मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । हाल प्रदेश सरकार तथा दातृ निकायबाट गर्न सकिने तात्कालीन र दीर्घकालिन उपायबारे परामर्श गरिएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए ।
‘मुख्यमन्त्री नागरिकलाई तत्काल राहत महसुस हुने गरी काम गर्न आग्रह गर्नुभएको छ,’ प्रेस सल्लाकार झाले भने, ‘बैठक र निर्णय मात्र होइन, के गर्न सकिन्छ तुरुन्तै सुरु गरौं भन्ने उहाँको कुरा छ ।’
प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
‘सुक्खाका कारण धान रोपाइँ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट निम्त्याउँछ,’ मुख्यमन्त्री सिंहले भने, ‘आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडि बढाउनुस् । अहिलेबाटै काम थालौं । समस्या आए, मलाई भन्नुस् ।’
उनले सुक्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक छलफल भइरहेको बताए ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको उपस्थिति थियो ।
गत बिहीबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाए पनि मधेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन ।