— झन्डै चार दशकपछि भारत, पोल्यान्ड र हंगेरीबाट अन्तरिक्ष यात्रीहरू समावेश एक निजी अन्तरिक्ष उडान मंगलबार प्रशान्त महासागरमा अवतरण गरिएको छ । उनीहरू सवार स्पेसएक्स क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट अलग भएको थियो ।
झन्डै २४ घण्टामा ती अन्तरिक्ष यात्रीहरू प्यारासुटको सहायताले दक्षिणी क्यालिफोर्नियाको समुद्री तटमा अवतरण गरेका थिए ।
तीन साताअघि ह्युस्टन कम्पनी एक्सिओम स्पेसद्वारा गरिएको चार्टर्ड उडानमा चार जनाको टोलीलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । सबैभन्दा अनुभवी अमेरिकी अन्तरिक्ष यात्री एक्सिओमकी पेगी ह्विटसनको कमान्डमा भारतका सुभांशु शुक्ला, पोल्यान्डका स्लावोस्ज उज्नान्स्की–विस्निएव्स्की र हंगेरीका तिबोर कापु अन्तरिक्ष यात्राका लागि गएका थिए । २०२२ पछि अन्तरिक्ष यात्री एक्सिओमको यो चौथो मिसन हो ।
उक्त मिसनका लागि सम्बन्धित देशहरूले आ–आफ्ना अन्तरिक्ष यात्रीका लागि जनही ६ करोड ५० लाख डलरभन्दा बढी तिरेका थिए । भ्रमण गर्ने अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा दर्जनौं प्रयोगहरू सञ्चालन गरेका थिए । भारत, पोल्यान्ड र हंगेरीले अन्तिम पटक १९८० को दशकको अन्त्यमा सोभियतहरूसँग मिलेर अन्तरिक्षमा प्रक्षेपण गरेका थिए ।