— राष्ट्रिय सभामा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रका मानिसहरू दिनमा एकपटक नुहाउनु पनि सकारात्मक परिवर्तन भएको बताएका छन । उनले विदेश पलायन नेपालको मात्रै समस्या नभएको पनि बताए ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद शेर्पाले मुलुकमा केही भएन भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
पहिले हिमाली भेगमा बसोबास गर्ने मानिस वर्षदिनमा एक पटक पनि ननुहाउने गरेको दाबी गर्दै सांसद शेर्पाले अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने मानिस रहेको बताए । ‘अहिले हामी सकारात्मक कुरा किन गर्न सक्दैनौँ ? केही भएन, केही भएन भन्ने छ । भएको चाहिँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ?,' शेर्पाले भने, 'मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरूले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ । तर आज अर्थतन्त्र इकोनोमी राम्रो भएको छ । हाम्रै जातका मान्छेहरू हिमाली क्षेत्रमै बसेर, जहाँ माइनस १९ डिग्री तापक्रम हुन्छ । त्यहाँ बसेर दिनको एक पटक नुहाउने स्थिति छ । यो प्रगति होइन त ?'
विगतमा एक वर्षमा एक पटकसम्म नुहाउन पनि चिसोले गाह्रो हुने अवस्था रहेको बताउँदै सांसद शेर्पाले अहिले हिमाली क्षेत्रमा पनि आर्थिक समृद्धिले गर्दा दिनदिनै नुहाउने अवस्था रहेको दाबी गरे । 'हिजो हामी नुहाउँदै नुहाउँदैन थियौँ, एक वर्षसम्म । चिसो हुन्थ्यो, के हुन्थ्यो, एक वर्षमा नुहाउन पनि गाह्रो-गाह्रो हुन्थ्यो, मैले नै भोगेको कुरा हो । तर आज हामी हिमाली क्षत्रेमा बसेपनि प्रत्येक दिन नुहाउँछौँ,' उनले भने, 'एटेr बाथरुम छ । इकोनोमी राम्रो छ ।'
नेपालीहरू मात्रै विदेश गएको भन्ने भाष्य सही नभएको सांसद शेर्पाको भनाइ थियो । अवसर रहेको ठाउँमा बसाइ सर्नु अन्यथा नभएको उनको भनाइ थियो ।