मुख्य समाचार
एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी
एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी

एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी भइसकेको छ । आजको समयमा उक्त ‘हलिउड’ साइन (बोर्ड) वास्तविक जीवन र फिल्मी पर्दा दुवैमा एक ऐतिहासिक प्रतीक बनेको अवस्था छ ।

लस एञ्जल्स शहरमाथिको माउन्ट ली नामक डाँडामा बनाइएको उक्त साइन आज अमेरिकाको सबैभन्दा बढी चिनिने साँस्कृतिक प्रतीकहरूमध्येको एक हो । हलिउडलाई चिनाउने एउटा ल्यान्डमार्क हो ।




उक्त मार्क कहिले स्थापना गरियो भन्नेमा विवाद छ । तर यसको शताब्दी उत्सव १३ जुलाई २०२३ मा मनाइसकिएको छ । त्यसआधारमा यो साता (२०२५ जुलाईमा) हलिउड साइन १०२ वर्ष पूरा भयो ।

आज हलिउड साइन चलचित्र उद्योगको प्रतीक बनेता पनि मूलत : यसका लागि बनाइएको थिएन । सुरुमा जम्मा १८ महिनाका लागि एउटा होर्डिङ बोर्ड बनाइएको थियो । त्यसमा नयाँ ‘हाउजिङ’ (घर/जग्गा सम्बन्धी जानकारी) को विज्ञापन गर्ने उद्देश्य थियो ।



त्यसबेला बोर्डमा १३ वटा अक्षरमा ‘हलिउडल्याण्ड’ लेखिएको थियो- ‘HOLLYWOODLAND’, जुन एउटा रियल स्टेट कम्पनीको नाम थियो । त्यसको प्रत्येक अक्षरको उचाइ ४५ फिट र चौडाइ ३० फिट थियो । काठ र टिन प्रयोग गरेर टेलिफोन पोलहरूको सहारामा उभाइएको उक्त बोर्ड बनाउन तत्कालीन समयमा २३ हजार डलर खर्चनु परेको थियो । जुन आजको मूल्य अनुसार करिब ४ लाख ३० हजार डलर हुन आउँछ ।

त्यस्तै बोर्डलाई आकर्षक बनाउन हरेक खण्डमा चार हजार बढी बत्ती राखिएको थियो । तीन खण्ड ‘HOLLY, WOOD र LAND’ थियो । यसरी सुरुमा ‘हलिउड’ साइन फिल्म उद्योगको विज्ञापनका लागि नभई लस एञ्जल्सवासीलाई एउटा सपनाको जीवनशैली देखाउने उद्देश्यले बनाइएको थियो ।

तर त्यसपछि एलए शहरमा फिल्म उद्योग बढ्दै गयो । यता बोर्ड पनि जहाँको त्यहीँ नै रह्यो । त्यस्तैमा १९३० को दशकमा भएको आर्थिक मन्दीले बोर्डको मर्मत सम्भार रोकियो । फलस्वरूप केही वर्षमै बोर्ड जीर्ण र भत्किएको जस्तो देखिन थाल्यो ।

उक्त बोर्ड जीर्ण मात्रै बनेन । विभिन्न संयोगहरू पनि बनायो ।

‘नेचर ब्वाई ’ नामक गीत लेखेर प्रसिद्ध भएका इडन आहबेज बोर्डको पहिलो ‘L’ मुनि केही समय बस्न गए । २४ वर्षीया अभिनेत्री पेग एन्ट्विसलले करियर राम्रो नभएपछि बोर्डको ‘H’ अक्षरमा चढेर त्यहाँबाट हामफालेर आत्महत्या गरिन् । सन् १९४४ सम्म आइपुग्दा उक्त ‘H’ अक्षर हावाहुरीले भत्काइसकेको थियो ।

त्यसपछि हुँदै नभएपछि उक्त बोर्ड भएको जमिनसहित ४२५ एकड जमिन नगरपालिकालाई हस्तान्तरण गरियो । त्यसको केही समयपछि त बोर्ड नबनाउने निर्णय समेत भएको थियो । तर हलिउड चेम्बर अफ कमर्सले बोर्डलाई फेरि पुनः निर्माण गर्ने निर्णय गर्‍यो ।

त्यसपछि पहिलेको LAND शब्द हटाइयो । र ‘HOLLYWOOD’ मात्र राखियो । तर सन् १९७० को दशकको मध्यसम्म आउँदासम्म बोर्ड पुनः पहिले झैं झुर अवस्थामा पुगिसकेको थियो । सन् १९७८ सम्ममा त हावाहुरीले एच पछिको ‘O’ को माथिल्लो भाग भाँचिदिएको थियो भने डब्लुपछिको दोस्रो ‘O’ लाई पूर्णरूपमा क्षति गरिसकेको थियो । त्यसले गर्दा बोर्डमा मात्र ‘HuLLYWO D’ बाँकी थियो ।

‘सेभ द साइन’ अभियान

एकफेर अमेरिकन रक गायक एलिस कूपर आफैं भत्किएको ‘हलिउड’ बोर्ड मर्मत गर्न तम्सिएका थिए । एउटा कन्सर्ट गरेर त्यसैबाट पैसा जुटाउने योजना पनि बुनेका थिए ।

पछि थाहा भयो बोर्ड त मर्मत गर्न नसकिने अवस्थामा पुगेको रहेछ । त्यसपछि फेरि हलिउड चेम्बर अफ कमर्सले बिल्कुलै नयाँ संरचना बनाउने निर्णय गर्‍यो । यसपटक स्टीलबाट नभई कंक्रीटबाट बनाउने निर्णय गरियो । यसो गर्दा लागत तत्कालीन समयमा डेढ लाख अमेरिकन डलर हुने भयो ।

अनि परियोजना पूरा गर्न सन् १९७८ को मे महिनामा ‘सेभ द साइन’ अभियान सुरु भयो । त्यसको भोलिपल्ट ‘प्लेब्वाई’ पत्रिकाका संस्थापक ह्यु हेफ्नरको घरमा सेलिब्रेटीहरू जम्मा भएर कोष संकलन प्रारम्भ गरे । जसमा एलिस कूपर नै एउटा अक्षरको प्रायोजन गर्ने पहिलो व्यक्ति थिए ।

उनले अन्तिम ‘O’ अक्षरको प्रायोजन गरेका थिए । र, त्यो अक्षर उनले आफ्नो साथी अभिनेता ग्राउचो मार्क्सको सम्झनामा समर्पित गरे । यसरी बनाउँदा प्रत्येक अक्षरको लागत औसतमा २७ हजार डलर परेको थियो । उनी बाहेक एन्डी विलियम्स, वार्नर ब्रदर्स, जीन ओट्री आदि व्यक्ति/संस्था त्यस परियोजनामा संलग्न थिए ।

यसरी कोषमा रकम जुटाएपछि पुरानो बोर्ड भत्काइयो । र, नयाँ ४५० फिट लामो र २४० टन तौल भएको बोर्ड बनाइयो । जुन आज फिल्म उद्योगको एउटा प्रतीक बनेको छ ।

आजसम्ममा यो बोर्ड अर्थक्वेक (१९७४), च्याप्लिन (१९९२), फ्रेन्ड्स विथ वेनेफिट्स (२०११), सुपरम्यान : द मुभि (१९७८), द डे आफ्टर टुमारो (२००४), सान आन्द्रेस (२०१५) लगायतका धेरै फिल्महरूमा देखिइसकेको छ । भनौं न, यो बोर्ड सिनेमाको मौन अभिनेता बनिसकेको छ ।

त्यस्तै बोर्ड पनि समयअनुसार परिमार्जन हुँदै आएको छ । सन् १९७६ मा ड्यानी फाइनगुड नामका एक विद्यार्थीले गाँजा सम्बन्धी नियमहरू खुकुलो बनाइएको मौकामा ‘HOLLYWeeD’ बनाइदिएका थिए ।

सन् १९८७ मा लस एञ्जलसमा पोप जोन पल द्वितीय आउँदा बोर्डलाई ‘HOLYWOOD’ बनाइएको थियो । सोही वर्ष इरान-कन्ट्रा काण्ड हुँदा ‘OLLYWOOD’ मा बनाइएको थियो ।

नयाँ सहस्राब्दीको स्वागतमा सन् १९९९ को डिसेम्बर ३१ मा ६० वर्षपछि बोर्डलाई पहिलोपटक उज्यालो बनाइएको थियो । सन् २०२४ को पेरिस ओलम्पिकको समापन समारोहमा यसका दुईवटा ‘O’ अक्षरलाई ओलम्पिकको लोगोको भाव दिन प्रयोग गरिएको थियो ।

यीबाहेक यस बोर्डले नेपालमा समेत प्रभाव पारेको देखिन्छ । किनकि ‘हलिउड साइन’ शैलीमा नेपालका विभिन्न स्थानहरूको नाम लेखिएको छ । यसरी एउटा डाँडाको टुप्पोमा बनाइएको बोर्डले सिने जगतलाई त प्रभाव पार्‍यो नै, सँगै ठाउँको चिनारीका लागि पनि प्रेरकका रूपमा काम गर्‍यो । के यो कुनै अभिनेताभन्दा कम छ र ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...