: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको बताएका छन्। झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले झुट र घटिया प्रचार गरेको बताएका हुन्।
उनले भने,'भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरे। यस्ता कुराहरूको जवाफ दिन आवश्यक छैन।'
प्रधानमन्त्री ओली स्वयं सहभागी भएको स्पेनको कार्यक्रममा जाने बहानामा केही मानिस उतै बसेको भन्दै विपक्षी दलहरूले छानबिनको माग गरेका छन्।यो विषयले संसदमा प्रवेश पाएपछि बाहिर पनि नकारात्मक टिकाटिप्पणी सुरू भएका छन्। रास्वपा सांसद सोविता गौतमले गत मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका नफर्किएकाहरुको लिस्ट आफूसँग भएको समेत दावी गरेकी थिइन्।