: पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार भएकाले यसको गहन अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएकी छन्।
मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जबजको बिचार नेपालका साथै अन्तराष्ट्रियस्तरमा समेत तुलनात्मक रुपमा अध्ययन हुनुपर्ने बताएकी हुन्। उनले समाज रुपान्तरणका लागि बिचार सबैभन्दा महत्त्वपूर्ण कुरा भएको धारणा राखिन्।
पूर्वराष्ट्रपति भण्डारीले जबजले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै नेपालको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात् गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धाको विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन् । उनले जबजको देशको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र अभ्यास भएको र यसले हिंसाबाट नभई लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्ने उत्कृष्ट राजनीतिक संस्कारलाई अंगिकार गरेको धारणा राखिन्।
पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेले पनि सुखी नेपाली र समृद्ध नेपालको साझा राष्ट्रिय आकांक्षा पुरा गर्न जबजको सिद्धान्त अनुसार अविचलित रुपमा लागिपरेको बताइन्।