मुख्य समाचार
एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, रोकिँदैन : प्रधानमन्त्री
एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, रोकिँदैन : प्रधानमन्त्री

: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) राष्ट्रिय गौरवको विषय भएको बताउँदै त्यसलाई कुनै हालतमा पनि रोक्न नहुने बताएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खेलकुद राजनीति गर्ने थलो नभएको बताउँदै एनपीएल कुनै हालतमा पनि नरोकिने बताएका हुन् ।



‘एनपीएल हाम्रो राष्ट्रिय गौरव हो । यसलाई भव्यताका साथ आयोजना गर्नुपर्छ । त्यसलाई राष्ट्रिय स्तरमा अझै विस्तार गर्नुपर्छ । यसको महत्व सबैलाई बुझाउनु पर्छ’, प्रधानमन्त्रीले भने, ‘जसरी क्रिकेटको क्रेज बढेको छ । त्यसरी नै एनपीएललाई अगाडि बढाउनु पर्छ । एनपीएल अघि बढाउने सवालमा सबैको ध्यान जाओस् ।’



उनले खेलकुद क्षेत्रमा राजनीति नगर्न पनि आग्रह गरेका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले खेलकुद राजनीति गर्ने ठाउँ नभएको प्रस्ट पारेका थिए । ‘सरकारमा राजनीतिक दल नै आउने हो । सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो । कृषि हो भने कृषिको विकास हुनुपर्यो‍, उद्योग हो भने उद्योगको विकास हुनुप¥यो । त्यहाँ राजनीतिक गर्नुभएन’, प्रधानमन्त्री ओलीले भने, ‘खेलमा हो भने खेलको विकास गर्नुपर्छ । खेललाई अगाडि बढाउनु पर्छ । राजनीति गर्नु हुँदैन । खेलकुदमा राजनीति गर्नलाई कुनै ठाउँ पनि छैन ।’




युवा तथा खेलकुदमन्त्री चौधरीले एनपीएलको पहिलो संस्करणका विषयमा छानविन गर्न भन्दै आफू निकट राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई आइतबार पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पूरा नगरेसम्म एनपीएलसम्बन्धी कुनै पनि काम नगर्न निर्देशन दिएको थियो । कार्यदलले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै आइतबार पठाएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न पनि भनिएको छ । साथै क्यानसँग पाँच वटा प्रश्नको जवाफसहित आवश्यक कागजात पनि माग गरिएको छ ।

गत जेठ ११ गते युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राखेप कार्यकारी सदस्य रञ्जना प्रधानको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा राखेप आर्थिक प्रशासन शाखा प्रमुख रिखिराम पोखरेल र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य छन् । कार्यदलले यसअघि पनि दुई पटक पत्र पठाउँदै एनपीएलमा भएको अनियमितताका बारेमा स्पष्ट जवाफ पठाउन निर्देशन दिएको थियो । ती प्रश्नको चित्तबुझ्दो जवाफ नआएपछि क्यानले आइतबार तेस्रो पटक पत्र पठाएको हो । एनपीएलको पहिलो संस्करणमा आर्थिक अनियमितता, देशको प्रचलित कानुनको उल्लंघन र अपारदर्शी काम भएको भन्दै २०८१ मंसिर ७ र फागुन १२ गते अख्तियारमा उजुरी परेको थियो ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद्ले पनि आफ्नो लेटरप्याडमा क्यानलाई पठाएको पत्र आफूले नभई कार्यदलले पठाएको र अब आइन्दा राखेपको लेटरप्याड प्रयोग नगर्न निर्देशन दिएपछि युवा तथा खेलकुदमन्त्री चौधरी र राखेप सदस्यसचिव टंकलाल घिसिङबीचको विवाद सतहमा आएको थियो । मंगलबार प्रचारप्रसार शाखाबाट एक विज्ञप्ति पठाउँदै राखेपले कार्यदललाई आफ्नो टीओआरभित्र रही काम गर्न र परिषद्को लेटरप्याड प्रयोग नगर्न तथा परिषद्प्रति प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देशन दिएको हो । यसले राखेप र कार्यदलबीच नै गम्भीर असहमति रहेको देखिएको छ ।

हाई पर्फमेन्स सेन्टरको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइ पर्फमेन्स सेन्टरको बिहीबार उद्घाटन गरेका हुन् ।

दुवै संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा निर्माण गरिएको हो । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले केन्द्र र सेन्टरमा रहेका उपकरणका बारेमा पनि जानकारी लिएका थिए । उद्घाटनपछि प्रधानमन्त्री ओलीले परिसर हातामै रहेको आउटडोर पौडी पोखरी र हिटिङ पोखरीको पनि अवलोकन गरेका थिए ।null

‘एसियाली खेलकुदको तयारीलाई भव्य बनाऔं’

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२६ को सेप्टेम्बर र अक्टोबरमा जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको ‘मिसन २०२६’ को तयारीलाई भब्यताका साथ अगाडि बढाउन निर्देशन दिएका छन्। बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०औं एसियाली खेलकुदको तयारी भब्यताका साथ अगाडि बढाउन निर्देशन दिएका हुन्। ‘जुन स्पिरिटका साथ खेलकुदलाई अगाडि बढिरहेको छ, त्यसलाई आगामी दिनमा पनि अगाडि बढाऔं’, प्रधानमन्त्री ओलीले भने, ‘मिसन–२०२६ को तयारीलाई भब्यताका साथ अगाडि बढाउँदै खेलाडीले दोहोरो अंकमा पदक जित्न आत्मविश्वासका साथ अगाडि बढौं।’

प्रधानमन्त्री ओलीले एसियाली खेलकुद लक्षित ‘मिसन २०२६’लाई भब्यताका साथ अगाडि बढाउन निर्देशन दिए पनि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा तालाबन्दी गर्दै तयारीलाई प्रभावित बनाउँदै आएका छन्।

उनले ओलम्पिक कमिटीमा आवद्ध पदाधिकारीलाई तर्साउन विदेश भ्रमणमा रोक लगाउने, खेल संघ विघटन गर्ने, नवीकरण नगर्नेलगायतका हतकन्डा अपनाउँदै आएका छन्। प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद पटकपटक सारिएकोमा पनि आपत्ति जनाएका थिए। उनले १०औं राष्ट्रिय खेलकुदको अब अर्को मिति नसारिने र मंसिरमा जसरी पनि गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँगै सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

‘अब राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमा हुन्छ। युवा तथा खेलकुद मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन चाहन्छु। १०औं राष्ट्रिय खेलकुद लज्जाको विषय भएको छ। अब निर्धारित मितिलाई सार्न मिल्दैन, त्यही समयमा हुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चीनबाट बहँदै आएको लेन्देखोलाको बाढीका कारण अवरुद्ध विद्युत र टेलिफोन सेवा तीन दिनपछि सुचारु भएको छ। त्रिदेशीय मार्ग अन्तर्गतको स्याफ्रुवेशी–टिमुरे–रसुवागढी सडकखण्डमा हेभिइक्युपमेण्टमार्फत सडक पुनर्निर्माण सुरु भएको छ। बाढीका कारण हराइरहेका सबैको खोजी कार्य जारी रहेको छ। सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी तथा उद्धारमा खटिएका छन्। भीषण बाढीले पुर्‍याएको क्षतिको मूल्यांकनका लागि विशेष समिति ...
: वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ परेकी छन्। नवलपरासी (पूर्व)को सुनवल नगरपालिका १ घर भई ललितपुर महानगरपालिका-२३ बस्ने २९ वर्षीया बिन्दु पोखरेल रहेकी छन्। प्रतिवादी बिन्दु पोखरेलविरुद्ध उपर बैंकिङ कसुर मुद्दामा ९ लाख र वैदेशिक रोजगार सम्बन्धी २ वटा कसुर मुद्दामा साढे ३२ लाख बिगो तोकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार,युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्। महिला उद्यमी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन्। 'हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि सँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका हुन् । उनले हरेकले आफ्नो ...
: स्रोत नखुलेको ९ लाख बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका-२ का ३० वर्षीय चंदन पंडित रहेका छन्। गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रुपैयाँसहित उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। भन्सार सुरक्षा गार्ड कार्यालय ...