— चिनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्ड सर्भे सकेको छ । साढे दुई महिना लगाएर सर्भे सकिएको सडक विभागले जनाएको छ । यसका लागि प्राविधिक टोली गत ६ वैशाखमा नेपाल आएको थियो ।
टोलीले कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किलोमिटरमा सर्भे गरेको छ । प्राविधिक टोली चीन फर्किएको तीन महिनाभित्र डिजाइन रिपोर्ट आउने विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘अध्ययन गर्न आएको टोली एक साताभित्र चीन फर्कंदै छ,’ उनले भने ।
डिजाइन आएपछि सडक विभागले एक महिनाभित्र हेरेर थपघट गर्नुपर्ने विषय समावेश गरी स्वीकृत गरेर पठाइने अर्यालले जनाए । ‘पाँच महिनाभित्र ठेक्का आह्वान गर्ने योजना छ, जुन चीनमै हुन्छ,’ उनले भने, ‘उतैबाट छनोट भएर आएको निर्माण कम्पनीले विस्तार थाल्छ ।’ चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङका १८ जना प्राविधिक सर्भे गर्न खटिएका थिए ।
माछापोखरी चोकमा ट्राफिक जाम हुने भएकाले फ्लाइओभर निर्माण गर्ने गरी सर्भे गरिएको अर्यालको भनाइ छ । कहाँ–कहाँ बस रोक्न मिल्ने हो, त्यो ठाउँ तोकेर डिजाइनमा राखिएको छ । वनस्थली नजिकको ढुंगेधारामा कल्भर्टको ठाउँमा पुल बनाउन प्रस्ताव गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकालले बताए । ‘दायाँ–बायाँबाट क्रसिङ गर्न मिल्ने बाटो निकाल्ने गरी पुलको लम्बाइ कायम गर्न चिनियाँ प्राविधिकलाई अनुरोध गरेका छौं,’ उनले भने ।
अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ मा सकिएको थियो । कलंकीदेखि वसुन्धरा कल्भर्टसम्म विस्तार गर्न भनेर चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो । त्यहीअनुसार अहिले चीन सरकारको अनुदानमा विस्तार गर्न लागिएको हो ।
यस्तै, चक्रपथ तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको निर्माण गति घटेको छ । असारभित्रै काम सक्ने भनिए पनि अहिलेसम्म प्रगति ३५ प्रतिशत मात्र छ । एकतर्फी सडक कालोपत्र गर्न बेस र सबबेस राख्ने काम भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले जनाए ।
‘असारसम्म एकतर्फी सडक कालोपत्र सक्ने गरी काम गरिरहेका छौं,’ भण्डारीले भने, ‘बर्खा लाग्यो, त्यसैले योजनाअनुसार काम गर्न सकिएको छैन, अब दसैंसम्म यो खण्ड बनिसक्छ ।’ अहिले नाली, कल्भर्ट र वाल निर्माणको काम भइरहेको छ । कलंकी–वसुन्धरा खण्ड चीन सरकारको अनुदानमा बनाउने भनिए पनि ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो । उक्त खण्डको ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएका छन् ।