— लमजुङ प्रहरीले सुन्दरबजार नगरपालिका–९, पैरेबाट तीन जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरे पनि पक्राउ गरेको स्थानबारे प्रहरीले पूर्ण रुपमा खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार सुन्दरबजार नगरपालिका–९ का २८ वर्षीय किसान गुरुङ, वर्ष ३० का रोशन गुरुङ र सुन्दरबजार नगरपालिका–६ का २० वर्षीय विशाल गुरुङलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई लागूऔषध खरिद र बिक्री गर्दै गरेको अवस्थामा शनिबार अपराह्न साढे ४ बजेतिर पक्राउ गरिएको र उनीहरुको साथबाट ट्रामाडोल १ सय १० क्याप्सुल, गाँजाजस्तो देखिने चिजवस्तु ७ ग्राम, नगद २० हजार १ सय १५ रुपैयाँ र ३ वटा मोबाइल फोन बरामद गरिएको प्रहरी निरीक्षक तेलीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बेंसीसहर ल्याइएको र लमजुङ जिल्ला अदालतबाट आइतबार लागूऔषध सम्बन्धी कसुरमा दिन ७ को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।