— बजेटमा बिचौलिया हाबी रहेको र सांसदका योजनालाई पाखा लगाइएको आरोप लगाउँदै मधेश प्रदेश सभाका विपक्षी दलहरूले सोमबार पनि प्रदेशसभाको बैठकमा अवरोध गरेका छन्।
करिब डेढ घण्टा ढिलो सुरु भएको प्रदेशसभाको बैठक प्रारम्भ भएको सभामुख रामचन्द्र मण्डलको घोषणा लगत्तै विपक्षी दलका सांसदहरू उभिएका थिए। जनता समाजवादी पार्टी नेपालकी सांसद सुरिता साहले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी रहेको र बजेटको वितरण नमिलेको भन्दै पुनः लेखन गर्नुपर्ने माग गरिन्।
मुख्यमन्त्री सतिशकुमार सिंहलगायत उहाँको मन्त्रिपरिषद्का अधिकांश मन्त्री उपस्थित रहेको प्रदेशसभाको बैठकमा विपक्षी दल माओवादी (केन्द्र) की सांसद सुनिता कुमारी यादवले स्थानीय तह र प्रदेश सांसदले सिफारिस गरेको योजना बजेटमा नसमेटिएको र बिचौलियाका योजनालाई टेकेर बजेट ल्याइएकोमा विरोध जनाइन्।
नेकपा (एस) की सांसद बेंची लुङगेलीले ठूला नेता भएका जिल्ला र क्षेत्रमा बजेट खन्याइएको र अन्य क्षेत्रलाई बेवास्ता गरिएको आरोप लगाइन्। 'यो बिचौलिया हाबी भएको बजेट हो। ५–१० लाखका थुप्रै टुक्रे योजना बजेटमा समेटिएको छ,' उनले भनिन्, ‘त्यसैले बजेटको पुनः लेखन हुनुपर्छ।’
k
मधेश प्रदेशसभामा एक मात्र समानुपातिक सांसद रहेको संघीय समाजवादी नेपालकी सांसद विमला अन्सारी तरुन्नमले बजेट पुनः लेखन नगरे प्रदेशसभाको बैठक शान्तिपूर्ण चल्न नदिने चेतावनी दिइन्। ‘स्थानीय निकाय र प्रदेश सांसदका योजना हटाइएको छ,’ उनले भनिन्, ‘त्यसैले मैले पार्टी धारणा यहाँ स्पष्ट राख्छु— बजेट पुनः लेखन नभए बैठक शान्तिपूर्ण चल्न दिँदैनौँ।’
सभामुख मण्डलले विपक्षी दलको गतिरोध कायम रहेकाले प्रदेशसभाको अर्को बैठक मंगलबारसम्म स्थगित गरेका छन्।