। वर्षासँगै आएको पहिरोले दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ ।
६३५ किलोवाटको उक्त जलविद्युत परियोजनाको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । ‘उर्लेनी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, थप के–केमा क्षति भयो भन्ने त्यसपछि थाहा हुन्छ’ महतोले भने ।
खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।
खिम्ती १ जलविद्युत केन्द्रले आयोजना प्रभावित दोलखा र रामेछापका वासिन्दालाई विद्युतीकरण गर्नका लागि ६३५ किलोवाटको झाँक्रे जलविद्युत परियोजना निर्माण गरेको थियो ।
सो परियोजनाको पावर प्लान्टमा समस्या आएपछि गत फागुनदेखि नै उत्पादन बन्द थियो । उपकरणमा समस्या आएर विद्युत उत्पादन बन्द भएकै बेला पहिरोले समेत पावर प्लान्टमा क्षति पुर्याएको हो ।
झाँक्रे खोला जलविद्युत् परियोजनाको विद्युत बन्द भएपछि केआरईसीले ४०० किलोवाटको हलुवा खोलाबाट उत्पादित बिजुली वितरण गरिरहेको छ ।