: जगदम्बा स्टिल्सको जोखिमपूर्ण भट्टी सञ्चालनमा रोक लगाउन माग गर्दै विभिन्न दलका स्थानीय नेताले जितपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। मानव स्वास्थ्य र वातावरणलाई जोखिम हुने गरी उद्योगले भट्टी सञ्चालन गरेको भन्दै सात दलका स्थानीय नेताले उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन्।
स्थानीय सरकार प्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाउँदै राजनीतिक दलले जगदम्बाको कच्चा पदार्थ पखाल्ने जोखिमपूर्ण भट्टी सञ्चालनमा रोक लगाउन माग गरेका छन्। नगरवासीको स्वास्थ्यका लागि उद्योगले गर्दै आएको ज्यादती तत्काल नियन्त्रणका लागि स्थानीय सरकारको प्रस्ट भूमिका देखाउन राजनीतिक दलको माग छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा कांग्रेस सभापति छविलाल शर्मा, एमाले अध्यक्ष त्रिलोकविक्रम शाह, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी, समाजवादीका अध्यक्ष सञ्जय पटेल, लोसपाका अध्यक्ष सरोज पटेल र जनमत पार्टीका मनोहर साहले हस्ताक्षर गरेका छन्।
ज्ञापनपत्रमार्फत उनीहरूले असार १८ मा उद्योगको सिसिएम प्लान्टमा भएको विस्फोट घटनाले बढाएको त्रासदीपूर्ण वातावरणलाई गम्भीरताका साथ लिन स्थानीय सरकारलाई आग्रह गरेका छन्। लगातार भइरहेको विस्फोटका घटनाले उद्योगमा काम गर्ने श्रमिक ज्यानको जोखिमका साथै उद्योगवरपर बस्ने स्थानीयसमेत मानसिक रूपमा पीडित हुनुपरेको ज्ञापनपत्रमा उल्लेख छ।
भट्टी सञ्चालनसँगै उद्योगबाट हुने प्रदूषण नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका र वातावरण शाखाले चासो देखाएको पाइँदैन। उद्योगबाट हुने प्रदूषणका कारण स्थानीयवासी लामो समयदेखि प्रताडित छन्। प्रदूषणका कारण पीडित भइरहेका स्थानीय पछिल्लोपटक भएको भट्टी विस्फोटको घटनाबाट भने निकै त्रसित देखिएका छन्।
भट्टी विस्फोट हुँदा बस्ती वरपरका घरमा कम्पन भएको थियो। भूकम्पको महसुस हुने गरी घर हल्लिन थालेपछि साना बालबालिकादेखि वृद्धवृद्धासम्म घर छोडेर भागेका थिए। उद्योगका कारण उत्पन्न यस्तो परिस्थितिलाई दीर्घकालीनमा समाधान गर्न उक्त जोखिमपूर्ण भट्टी स्थानान्तरण गर्न आवश्यक रहेको राजनीतिक दलको ठहर छ। बुँदागत रूपमा ध्यानाकर्षण र माग राखेर उनीहरूले भट्टी स्थानान्तरणलाई पहिलो सर्त बनाएका छन्।
राजनीतिक दलले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार, मधेस सरकार र सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउने तयारी गरिरहेका छन्। यसअघि बारा–४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र बारा क्षेत्र नं. ४(१) का सांसद देवनारायण चौधरीले पनि भट्टी स्थानान्तरणको माग गरेका थिए।