: मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहरमका अवसरमा वीरगन्जमा आइतबार निकालिएको ताजिया अर्थात दाहाको र्यालीमा सुरक्षाकर्मीहरुलाई नै किच्न खोज्ने गरी जबरजस्ती गाडी चलाएको पाइएको छ।
१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनमा दुर्गा प्रसाईले बीच सडकमा उभिएका सुरक्षाकर्मीमाथि नै पेलेर गाडी चलाएका थिए। ठिक त्यस्तै दृश्य आइतबार वीरगन्जमा पनि देखिएको हो।
वीरगन्जको छपकैयाबाट निस्किएको ताजियाको र्याली आदर्शनगर चोक हुँदै अगाडि बढ्ने क्रममा कैलाश होटल चोकमा तैनाथ सुरक्षाकर्मीले रोक्न खोजे। गत बिहीबार महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले दाहाको लाठी भाज्ने कार्यक्रमका लागि पुरानो बसपार्कको खाली जग्गा तोकेको थियो ।
तर आइतबारको दाहा र्याली त्यसको विपरीत आदर्शनगर रंगशालामा जानका लागि जबरजस्ती अगाडि बढ्न खोज्यो। दाहामा सहभागी डिजेसहितको ना ४ च ८८३४ नम्बरको पिकअप गाडीलाई कैलाश होटल चोकमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोजे। तर उक्त गाडीका चालकले अगाडिबाट गाडीको बाटो छेकिरहेका दर्जनौ सशस्त्र प्रहरीहरुमाथि नै गाडी चढाउने हिसाबले गाडी चलाउन थाले। जसका कारण सशस्त्र प्रहरीहरू ज्यान जोगाउन गाडीको बाटो छोडिदिए।
त्यहाँबाट जबरजस्ती हिँडेको गाडीसहितको दाहाको र्याली आदर्शनगर रंगशाला छिर्ने गेट अगाडिको सडकमा पुग्यो। रंगशालामा जबरजस्ती गाडी छिराउन खोजिएपछि त्यहाँ तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले लाठी चार्ज गरे। लाठी चार्जपछि डिजेसहितको गाडी छाडेर दाहाको र्यालीमा सहभागीहरु त्यहाँबाट तितरबितर भए। त्यसपछि उक्त गाडी प्रहरीले नियन्त्रणमा लियो।
पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले ड्युटिमा तैनाथ सुरक्षाकर्मीले रोक्दा रोक्दै पनि जबरजस्ती गाडी चलाउनेमाथि कारबाही हुने बताए। उनले भने, ‘तोकिएको रुट छाडेर अर्को रुटमा जान खोजेपछि प्रहरीले गाडी रोकेको थियो। तर प्रहरीलाई नै पेलेर जबरजस्ती गाडी चलाएको रहेछ। यो घटनाका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं। दोषीलाई कारबाही हुन्छ । ’
आदर्शनगर रंगशालामा जबरजस्ती गाडी छिराउन खोजिएपछि प्रहरी दौडेर जाँदा गाडी छाडेर त्यसमा रहेकाहरु भागेको उनले बताए। उक्त गाडी साँझपख सम्बन्धित गाडी धनीले लिएर गएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, आइतबार वीरगन्जमा निकालिएको मोहरमको ताजिया अर्थात दाहाको र्यालीलाई मध्यनजर गरेर वीरगन्जमा ७ सय ५० भन्दा बढी नेपाल प्रहरी र उत्तिक्कै संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
दाहाको र्यालीमा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गरेर वीरगन्जको चोकचोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी आइतबार बिहानैदेखि परिचालन गरिएको थियो।