: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले महाधिवेशन समयमै गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएका छन् । पार्टी नेतृत्व र पदाधिकारीको चार वर्षको कार्यकाल सकिने बेलासम्म पनि महाधिवेशनको क्यालेन्डर बैठकमा प्रस्ताव हुन नसकेको भन्दै अधिकांश नेताहरूले प्रश्न उठाएका छन् ।
त्यसोत कांग्रेसको महाधिवेशन विधानतः ४ वर्षमा हुने भनिन्छ । त्यसमा १ वर्ष थपेर कम्तीमा ५ वर्षभित्रमा पनि गर्ने चलन छ । संविधानले साढे पाँच वर्षभित्र पार्टी पदाधिकारीको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । यस हिसाबले कांग्रेसले ०८४ को जेठभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ । ०८४ को वैशाख/जेठमा स्थानीय र मंसिरमा संसदीय निर्वाचन हुने भएकाले ०८३ सालमै महाधिवेशन गर्नुपर्नेको पार्टीमा करिब बहुमत छ । तर, संस्थापन पक्षका नेताको भने फरक धारणा छ । उनीहरू ०८४ को निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने भनेका छन् ।
अहिलेका पार्टी सभापति शेरबहादुर देउवाको ०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापति चुनिएको ०८२ मंसिरमा चार वर्ष पुग्दै छ । १५ औं महाधिवेशनका विषयमा अब को नेतृत्व हो त भन्ने विषय आफैंमा अन्योल छ । कांग्रेसका संस्थापन र इतर समूह कसैले पनि कोही नेतृत्व अगाडि सारेका छैनन् ।
बैठकमा नेताहरूले महाधिवेशनका विषयमा ध्यान केन्द्रित गरेपछि पार्टीका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम नटुंगिएको कारण देखाउँदै समयमै महाधिवेशन नहुने छनक भने दिइसकेका छन् । संस्थापनपक्षीय केन्द्रीय सदस्य अर्जुन जोशीले चार वर्षभित्र गर्न नसक्दा ०८४ मा हुने स्थानीय र आम निर्वाचनपछि नै महाधिवेशन गर्नुपर्ने बताए । उनले भने, ‘सकिन्छ भने ०८२ को मंसिरभित्रै गरौं, त्यसमा नसकिने भएपछि समय धकेल्दै गएर स्थानीय र संसदीय निर्वाचनको मुखमा महाधिवेशन गर्न हुन्न ।’
संस्थापन इतरपक्षका नेता डा. शेखर कोइरालाले महाधिवेशन कहिले हुने र कुन मितिमा हुने भन्नेबारेमा अन्योल रहेको भन्दै बैठकमा पदाधिकारीहरूबाट जवाफ मागेका थिए । ‘महाधिवेशन ०८२ मंसिरभित्रै हुनुपर्छ, यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारी साथीहरूले चित्तबुझ्दो जवाफ दिनुपर्यो । पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।’
कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीको महाधिवेशनका लागि समयमै गर्न सबैलाई चासो रहेकाले महाधिवेशन समयमै गर्नतर्फबाट कोही पनि पछि नसरेको बताइन् । उनले अनुशासन समितिले कारबाही दायरालाई अझ फराकिलो बनाउनुपर्ने भन्दै जसलाई अन्याय भएको छ उसलाई न्याय दिनुपर्छ, नभए अर्को विकृति बढ्ने बताईन् ‘महाधिवेशन अगाडि पार्टीभित्र अनुशासनको कारबाही बलियोसँग स्थापित गर्न सक्यौं भने पनि कार्यकर्तामा राम्रो मेसेज जान्छ र त्यसको बलमा आमचुनावमा धेरै सिट जित्न सकिन्छ ।’
कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको महाधिवेशन अगाडि संविधान संशोधन समिति गठन गरिनुपर्ने बताएका छन् ।
कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले १५औं महाधिवशेनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । बैठकमा धारणा राख्दै चार वर्षे कार्यकाल सकिन लागेको हुँदा महाधिवेशनको प्रक्रियामा जानुपर्ने बताए । ‘अब हामी महाधिवेशनको मुखमा आइपुग्यौं पार्टीको संगठन राम्रो बनाउनेमा लाग्नुपर्छ । कांग्रेस वेल मेनेज भयो भने प्राप्त उपलब्धिहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन् । पार्टीभित्र एकले अर्काको दोष देख्ने प्रवृत्तिले संगठन बलियो हुँदैन ।
सिंहले ७ बुँदे सहमतिका विषयमा भने, ‘राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेको छ । त्यसलाई नै अगाडि बढाउनुपर्छ ।’
बैठकमा बोल्दै प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महतले पार्टीको १५ औं महाधिवेशन समयमै हुने विषयमा आशंका नगर्न प्रष्ट्याए । उनले भने, ‘गर्नुपर्ने काम धेरै बाँकी भए तापनि महाधिवेशन समयमै हुने कुरामा आशंका नगरौं ।’
त्यस्तै, उनले सक्रिय सदस्यता अभियानको विषयमा भने, ‘सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।’ कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाधिवेशन महाधिवेशनभन्दा पनि कांग्रेसले वर्तमान सत्ता गठबन्धनको समझदारी नै संविधान संशोधन भएको र यसमा काम सुरु नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । ।
कोइरालाले संविधान संशोधनको काम अघि बढाउनुपर्ने र संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने प्रस्ताव गरेका छन् । ‘हेर्नुस् महाधिवेशन महामन्त्रीजी र सभापतिजी समयमै गर्न लागिपर्नुभएको छ भन्ने मलाई लाग्छ । अहिले हामीसँग अर्को विषय संवेदनशील छ । त्यो के भने यो सरकार बनाउँदा नै संविधान संशोधन गर्ने कुरा भएको हो । पहिलो संशोधन यही होस् । धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौं ।’
उनले निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने भन्दै अगाडि भने, ‘राष्ट्रियसभामा समानुपातिक प्रणाली लागू गरौं, तर प्रतिनिधिसभा केवल प्रत्यक्ष निर्वाचित प्रणालीमा आधारित होस् ।’
कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औं महाधिवेशनको मिति तोक्न माग गरेकी छन् । उनले महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्नुपर्ने प्रस्ताव अघि सार्न भन्दै उनले भनिन्, ‘हामीले एमालेसँग सहकार्य गर्दा नै संविधान संशोधनको कुरा राखेका छौं । हामीले सातै प्रदेशमा अन्तक्रिर्या पनि गर्यौं । यो विषयमा कांग्रेसले नेतृत्वले लिनुपर्छ । साथै हामी मुख्य प्रतिस्पर्धी एमालेसँग सहकार्यमा छौं ।’
बैठकमा बोल्दै केन्द्रीय सदस्य नैनसिंह महरले १५ औं महाधिवेशनको मिति तत्काल तोकेर तल्लो तहसम्मका नेता कार्यकर्ताको भ्रम चिर्न नेतृत्वले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘विधानअनुसार समयमै महाधिवेशनको मिति घोषणा गर्न लाग्नुपर्ने बेला भएको छ ।’ केन्द्रीय कमिटीको बैठक एक सातादेखि चलिरहेको छ ।