मुख्य समाचार
माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने
माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने

। सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

विश्वप्रसिद्ध कम्पनी माइक्रोसफ्टले यो वर्ष मात्रै तेस्रो पटक ठूलो संख्यामा कर्मचारी कटौती गर्ने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।




कर्मचारी कटौतीको निर्णयले विभिन्न क्षेत्रलाई असर पर्ने बताएपनि माइक्रोसफ्टले विस्तृत जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ ।

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो लगानी गर्ने योजना बनाएकाले लगातार कर्मचारी कटौती गर्न थालेको विश्लेषकहरुले बताएका छन् ।



कम्पनीले एआई मोडलको प्रशिक्षणका लागि ठूला डेटा सेन्टरहरूमा ८० अर्ब डलर खर्च गर्ने जनाएको छ ।

बीबीसीसँग कुराकानी गर्दै कम्पनीका प्रवक्ताले जटिल प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा रहनका लागि संस्थागत परिवर्तन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

हाल विश्वभर माइक्रोसफ्टका झन्डै २ लाख २८ हजार कर्मचारी छन् । पछिल्लो कटौतीबाट झन्डै ४ प्रतिशत कर्मचारी प्रभावित हुनेछन् । सन् २०२३ मा पनि कम्पनीले १० हजार कर्मचारी हटाएको थियो ।

माइक्रोसफ्टका सीईओ सत्य नडेलाले यस वर्षको सुरुवातमा कम्पनीको झन्डै २० देखि ३० प्रतिशत कोड एआईमार्फत भइरहेको बताउँदै एआई पूर्वाधारमा अर्बौं लगानी गरिरहेको बताएका थिए ।

पछिल्लो कटौती एआईकै कारण हो कि होइन भन्नेबारे भने कम्पनीले स्पष्ट खुलाएको छैन । कर्मचारी कटौतीले कुन विभाग बढी प्रभावित हुन्छन् भन्नेबारे पनि कम्पनीले जानकारी सार्वजनिक गरेको छैन ।

पाकिस्तानमा कार्यालय नै बन्द गर्दै

माइक्रोसफ्टले पाकिस्तानमा कार्यालय नै बन्द गर्ने निर्णय लिएको छ । माइक्रोसफ्टले कार्यालय खोलेको २५ वर्षपछि पाकिस्तानबाट आफ्नो अपरेसन पूर्णरुपमा अन्त्य गर्ने तथा कार्यालय बन्द निर्णय लिएको त्यहाँस्थित कम्पनीका केही कर्मचारीहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।

बीबीसी उर्दूलाई माइक्रोसफ्टकी प्रवक्ताले इमेलमार्फत जानकारी दिँदै भनेकी छिन्, ‘व्यवसायिक पुनरावलोकन तथा सुधार प्रक्रियाको क्रममा हामी पाकिस्तानमा आफ्नो अपरेटिङ मोडेल परिवर्तन गरिरहेका छौं, यसले प्रयोगकर्तासँगका सम्झौतामा कुनै असर पार्ने छैन ।’

पाकिस्तानमा कार्यालय बन्द भएपनि स्थानीय साझेदार र क्षेत्रीय कार्यालयमार्फत सेवाहरु यथावत् रहने कम्पनीले आश्वस्त पारेको छ ।

कार्यालय बन्द गरेर साझेदार र क्षेत्रीय कार्यालयबाट सेवा दिने मोडेल अन्य देशमा पनि अपनाएको र त्यो सफल रहेको कम्पनीको दाबी छ ।

प्रयोगकर्ताले माइक्रोसफ्टका सेवा पहिलेझैं पाइरहेपनि त्यहाँ काम गरिरहेका कर्मचारी भने पछिल्लो निर्णयले प्रभावित हुने भएका छन् ।

माइक्रोसफ्ट पाकिस्तानका संस्थापक जव्वाद रहमानले लिङ्क्डइनमा लेख्दै सन् २००० मा सुरु भएको माइक्रोसफ्टको अपरेसन अब औपचारिकरूपमा अन्त्य हुने जानकारी दिएका छन् ।

पाकिस्तान सरकारको दाबी : बाहिरिएको होइन, मोडेल फेरिएको मात्रै

पाकिस्तानको सूचना प्रविधि मन्त्रालयले भने माइक्रोसफ्टले देशसँगको सम्बन्ध कायम राख्ने प्रतिवद्धता जनाएको दाबी गरेको छ ।

विश्वभरका सूचना प्रविधि कम्पनीहरु सफ्टवेयर-एज-ए-सर्भिस (एसएएएस) मोडेलमा जान थालेको भन्दै यो आम्दानीको नयाँ स्वरुप भएको मन्त्रालयको तर्क छ ।

पछिल्ला केही वर्षदेखि कम्पनीले पाकिस्तानबाटै हुँदै आएको व्यापारिक सम्झौता तथा लाइसेन्स प्रणाली आयरल्यान्डको मुख्यालयमार्फत दिन थालेको भन्दै देशमा कार्यालय बन्द हुन लागेको निर्णयको बचाउ गरेको छ ।

तर, पाकिस्तानका पूर्वराष्ट्रपति आरिफ अल्वीले माइक्रोसफ्टको पछिल्लो निर्णय मुलुकको आर्थिक भविष्यका लागि चिन्ताजनक संकेत भएको टिप्पणी गरेका छन् ।

उनले पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा माइक्रोसफ्टले लगानी गर्ने तयारी गरेको तर ‘रेजिम चेन्ज’ अर्थात् सत्ता परिवर्तनका कारण रोकिएको दाबी गरेका छन् ।

माइक्रोसफ्ट मात्र होइन, बाहिरिएका थिए अन्य कम्पनी पनि

पाकिस्तानमा सन् २०१५ देखि सेवा दिँदै आएको राइड-सेयरिङ कम्पनी ‘करीम’ ले जुलाई २०२४ बाटै सेवा बन्द गरेको थियो ।

अर्को राइड-सेयरिङ कम्पनी उबरले समेत सन् २०२२ मै पाकिस्तानबाट आफ्नो अपरेसन अन्त्य गरेको थियो ।

करीमका सह-संस्थापक मुदस्सिर शेखाले पाकिस्तानमा आर्थिक अवस्था, बढ्दो प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय लगानीको कठिनाइका कारण सेवा बन्द गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

एआईमा लगानी बढाउँदै माइक्रोसफ्ट

विश्वकै दोस्रो ठूलो सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले पछिल्लो केही वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तर्फ ध्यान केन्द्रित गरिरहेको छ ।

माइक्रोसफ्टले गत वर्ष मात्रै एआई विशेषज्ञ ब्रिटिस नागरिक मुस्तफा सुलेमानीलाई एआई विभागीय प्रमुखको नेतृत्व सुम्पिएको थियो ।

च्याटजीपीटीको माउ कम्पनी ओपन एआईको प्रमुख लगानीकर्ता समेत माइक्रोसफ्ट हो ।

यद्यपी, माइक्रोसफ्टकै एआई असिसटेन्स ‘कोपाइलट’मा प्रयोगकर्ताको रुचि उल्लेख्य नहुँदा च्याटजीपीटी नै रोजाइमा पर्ने गरेको छ ।

मेटा, अमेजन जस्ता कम्पनीले एआई विशेषज्ञलाई आकर्षित गर्न ठूलो बोनस अफर गर्दै आएका छन् । त्यसैले पनि माइक्रोसफ्टले कर्मचारी कटौती गरेर एआईमा लगानी बढाउने रणनीति लिएको विश्लेषण भइरहेको छ ।

ओपनएआईका प्रमुख शाम अल्टम्यानले फेसबुकको माउ कम्पनी मेटाले केही एआई विशेषज्ञलाई १० करोड डलरभन्दा बढी ‘साइनिङ बोनस’को प्रस्ताव गरेर कम्पनीमा अनुबन्ध गर्ने प्रयास गरिहेको दाबी गरे ।

अमेजनका सीईओ एन्डी ज्यासीले समेत एआईका कारण कम्पनीका कामदारको औचित्य सकिन सक्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप