मुख्य समाचार
माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने
माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने

। सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

विश्वप्रसिद्ध कम्पनी माइक्रोसफ्टले यो वर्ष मात्रै तेस्रो पटक ठूलो संख्यामा कर्मचारी कटौती गर्ने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।




कर्मचारी कटौतीको निर्णयले विभिन्न क्षेत्रलाई असर पर्ने बताएपनि माइक्रोसफ्टले विस्तृत जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ ।

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो लगानी गर्ने योजना बनाएकाले लगातार कर्मचारी कटौती गर्न थालेको विश्लेषकहरुले बताएका छन् ।



कम्पनीले एआई मोडलको प्रशिक्षणका लागि ठूला डेटा सेन्टरहरूमा ८० अर्ब डलर खर्च गर्ने जनाएको छ ।

बीबीसीसँग कुराकानी गर्दै कम्पनीका प्रवक्ताले जटिल प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा रहनका लागि संस्थागत परिवर्तन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

हाल विश्वभर माइक्रोसफ्टका झन्डै २ लाख २८ हजार कर्मचारी छन् । पछिल्लो कटौतीबाट झन्डै ४ प्रतिशत कर्मचारी प्रभावित हुनेछन् । सन् २०२३ मा पनि कम्पनीले १० हजार कर्मचारी हटाएको थियो ।

माइक्रोसफ्टका सीईओ सत्य नडेलाले यस वर्षको सुरुवातमा कम्पनीको झन्डै २० देखि ३० प्रतिशत कोड एआईमार्फत भइरहेको बताउँदै एआई पूर्वाधारमा अर्बौं लगानी गरिरहेको बताएका थिए ।

पछिल्लो कटौती एआईकै कारण हो कि होइन भन्नेबारे भने कम्पनीले स्पष्ट खुलाएको छैन । कर्मचारी कटौतीले कुन विभाग बढी प्रभावित हुन्छन् भन्नेबारे पनि कम्पनीले जानकारी सार्वजनिक गरेको छैन ।

पाकिस्तानमा कार्यालय नै बन्द गर्दै

माइक्रोसफ्टले पाकिस्तानमा कार्यालय नै बन्द गर्ने निर्णय लिएको छ । माइक्रोसफ्टले कार्यालय खोलेको २५ वर्षपछि पाकिस्तानबाट आफ्नो अपरेसन पूर्णरुपमा अन्त्य गर्ने तथा कार्यालय बन्द निर्णय लिएको त्यहाँस्थित कम्पनीका केही कर्मचारीहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।

बीबीसी उर्दूलाई माइक्रोसफ्टकी प्रवक्ताले इमेलमार्फत जानकारी दिँदै भनेकी छिन्, ‘व्यवसायिक पुनरावलोकन तथा सुधार प्रक्रियाको क्रममा हामी पाकिस्तानमा आफ्नो अपरेटिङ मोडेल परिवर्तन गरिरहेका छौं, यसले प्रयोगकर्तासँगका सम्झौतामा कुनै असर पार्ने छैन ।’

पाकिस्तानमा कार्यालय बन्द भएपनि स्थानीय साझेदार र क्षेत्रीय कार्यालयमार्फत सेवाहरु यथावत् रहने कम्पनीले आश्वस्त पारेको छ ।

कार्यालय बन्द गरेर साझेदार र क्षेत्रीय कार्यालयबाट सेवा दिने मोडेल अन्य देशमा पनि अपनाएको र त्यो सफल रहेको कम्पनीको दाबी छ ।

प्रयोगकर्ताले माइक्रोसफ्टका सेवा पहिलेझैं पाइरहेपनि त्यहाँ काम गरिरहेका कर्मचारी भने पछिल्लो निर्णयले प्रभावित हुने भएका छन् ।

माइक्रोसफ्ट पाकिस्तानका संस्थापक जव्वाद रहमानले लिङ्क्डइनमा लेख्दै सन् २००० मा सुरु भएको माइक्रोसफ्टको अपरेसन अब औपचारिकरूपमा अन्त्य हुने जानकारी दिएका छन् ।

पाकिस्तान सरकारको दाबी : बाहिरिएको होइन, मोडेल फेरिएको मात्रै

पाकिस्तानको सूचना प्रविधि मन्त्रालयले भने माइक्रोसफ्टले देशसँगको सम्बन्ध कायम राख्ने प्रतिवद्धता जनाएको दाबी गरेको छ ।

विश्वभरका सूचना प्रविधि कम्पनीहरु सफ्टवेयर-एज-ए-सर्भिस (एसएएएस) मोडेलमा जान थालेको भन्दै यो आम्दानीको नयाँ स्वरुप भएको मन्त्रालयको तर्क छ ।

पछिल्ला केही वर्षदेखि कम्पनीले पाकिस्तानबाटै हुँदै आएको व्यापारिक सम्झौता तथा लाइसेन्स प्रणाली आयरल्यान्डको मुख्यालयमार्फत दिन थालेको भन्दै देशमा कार्यालय बन्द हुन लागेको निर्णयको बचाउ गरेको छ ।

तर, पाकिस्तानका पूर्वराष्ट्रपति आरिफ अल्वीले माइक्रोसफ्टको पछिल्लो निर्णय मुलुकको आर्थिक भविष्यका लागि चिन्ताजनक संकेत भएको टिप्पणी गरेका छन् ।

उनले पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा माइक्रोसफ्टले लगानी गर्ने तयारी गरेको तर ‘रेजिम चेन्ज’ अर्थात् सत्ता परिवर्तनका कारण रोकिएको दाबी गरेका छन् ।

माइक्रोसफ्ट मात्र होइन, बाहिरिएका थिए अन्य कम्पनी पनि

पाकिस्तानमा सन् २०१५ देखि सेवा दिँदै आएको राइड-सेयरिङ कम्पनी ‘करीम’ ले जुलाई २०२४ बाटै सेवा बन्द गरेको थियो ।

अर्को राइड-सेयरिङ कम्पनी उबरले समेत सन् २०२२ मै पाकिस्तानबाट आफ्नो अपरेसन अन्त्य गरेको थियो ।

करीमका सह-संस्थापक मुदस्सिर शेखाले पाकिस्तानमा आर्थिक अवस्था, बढ्दो प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय लगानीको कठिनाइका कारण सेवा बन्द गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

एआईमा लगानी बढाउँदै माइक्रोसफ्ट

विश्वकै दोस्रो ठूलो सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले पछिल्लो केही वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तर्फ ध्यान केन्द्रित गरिरहेको छ ।

माइक्रोसफ्टले गत वर्ष मात्रै एआई विशेषज्ञ ब्रिटिस नागरिक मुस्तफा सुलेमानीलाई एआई विभागीय प्रमुखको नेतृत्व सुम्पिएको थियो ।

च्याटजीपीटीको माउ कम्पनी ओपन एआईको प्रमुख लगानीकर्ता समेत माइक्रोसफ्ट हो ।

यद्यपी, माइक्रोसफ्टकै एआई असिसटेन्स ‘कोपाइलट’मा प्रयोगकर्ताको रुचि उल्लेख्य नहुँदा च्याटजीपीटी नै रोजाइमा पर्ने गरेको छ ।

मेटा, अमेजन जस्ता कम्पनीले एआई विशेषज्ञलाई आकर्षित गर्न ठूलो बोनस अफर गर्दै आएका छन् । त्यसैले पनि माइक्रोसफ्टले कर्मचारी कटौती गरेर एआईमा लगानी बढाउने रणनीति लिएको विश्लेषण भइरहेको छ ।

ओपनएआईका प्रमुख शाम अल्टम्यानले फेसबुकको माउ कम्पनी मेटाले केही एआई विशेषज्ञलाई १० करोड डलरभन्दा बढी ‘साइनिङ बोनस’को प्रस्ताव गरेर कम्पनीमा अनुबन्ध गर्ने प्रयास गरिहेको दाबी गरे ।

अमेजनका सीईओ एन्डी ज्यासीले समेत एआईका कारण कम्पनीका कामदारको औचित्य सकिन सक्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...