: मोरङमा ट्याक्टर चालकको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका ट्रक चालकको बिहीबार दिउँसो मृत्यु भएको हो।
ट्रकका चालक सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार दोङले ना ५ ख ५६१६ नम्बरको ट्रक चलाउँथे। उनीमाथि कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि नामक उद्योग परिसरभित्र बुधबार दिउँसो आक्रमण भएको थियो।
उक्त उद्योगमा गाडीका पुराना टायरहरु प्रशोधन गरिँदै आएको छ। ट्रकमा पुराना टायर लिएर उद्योगभित्र गएका दोङमाथि टायर झार्र्दै गरेको अवस्थामा को १ त ५०३३ नम्बरको ट्याक्टरका चालक कटहरी–३ का अन्दाजी ३० वर्षीय दिपेश कामतले आक्रमण गरेको एसपी चिमरियाले बताए।
‘ट्याक्टरमा उद्योग परिसरमा माटो भर्ने काम भइरहेको रहेछ। ट्रक पुराना टायर लिएर त्यहाँ पुगेको थियो। ट्रकले टायर झार्दै गर्दा चालकहरुबीच विवाद भएको पाइयो। ट्रकले बाटोमा अवरोध गरेको भन्दै ट्याक्टर चालक कामतले विवाद गर्न थालेछन्। विवाद बढ्दै गएपछि लाट्ठीले दोङको टाउकोमा प्रहार गरेको खुलेको छ,’ उनले भने। गम्भीर घाइते भएका ट्रक चालक दोङलाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो।
उनको टाउकाको शल्यक्रिया पनि गरिएको थियो। तर, उपचार सम्भव नभएको र बिहीबार दिउँसो ३:४५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। घटनालगत्तै फरार भएका ट्याक्टर चालक कामतलाई खोजी गरेर प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेका कामतविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। घटनाको थप अनुसन्धान भइरहेको जानकारी एसपी चिमरियाले दिएका छन्।