मुख्य समाचार
लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो
लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो

। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो ।

डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा थियो। तर लिभरपुलले हार मानेन। कोडी गाक्पोले बराबरी गोल गरे, तर फेरि फुलहामले अग्रता लियो।




त्यसपछि ८६औं मिनेटमा पोर्चुगिज स्टार डियोगो जोटाले डिफेन्डरहरूलाई छलेर शानदार गोल गर्दै लिभरपुलको हार टारेका थिए । त्यो गोललाई एन्फिल्डमा उपाधि जितेझैं खुसी मनाइयो। त्यसयता लिभरपुलको यात्राबारे त सबै जानकार छन् ।

आजसम्म पनि लिभरपुलका समर्थकहरू लिगको उपाधि जितेको खुसी मनाइरहेका बेला अचानक एउटा दु:खद खबर आयो जसले सारा माहोल शोकाकुल बनायो, फुटबल जगत् स्तब्ध भयो, लिभरपुलको उपाधि यात्राका एक महत्वपूर्ण हिस्सा रहेका जोटा अब संसारमा रहेनन्।



२८ वर्षकै उमेरमा संसारबाट बिदा भएका जोटाले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप, लिग कप जितेका थिए। उनले पोर्चुगलका लागि अघिल्लो महिना भएको यूएईएफए नेसन्स लिग फुटबल पनि दोस्रोपटक जिते ।

यसरी पोर्चुगको सानो सहर गोंडोमारदेखि सुरु भएर ऐतिहासिक एन्फिल्डसम्मको उनको यात्रा स्पेनको सडकमा पुगेर टुंगिएको छ । कार दुर्घटनामा परी अल्पायूमै अस्ताएका जोटाको निधनले विश्व फुटबलमा गहिरो शोक छाएको छ, फुटबलले एउटा चम्किलो तारा नै गुमाएको छ ।

गोंडोमारदेखि एनफिल्डसम्म

पोर्चुगलको सानो सहर गोंडोमारबाट फुटबल करियर सुरु गरेका उनी कुनै ठूलो एकेडेमीबाट आएका खेलाडी होइनन् । क्लब गोंडोमार एफसीबाट १० वर्ष खेलेका उनका लागि त्यसपछि महत्वपूर्ण खुड्किलाहरू नजिकिँदै थिए ।

मासिक २० यूरो आफैं तिरेर प्रशिक्षण गर्ने गरेका जोटा त्यसपछि पाकोस डे फेरेर क्लबको युथ टोलीमा समावेश भए जसपछि उनलाई सोही क्लबको सिनियर टोलीमा पनि समावेश गरियो ।

सन् २०१६ मा एट्लेटिकोमा अनुबन्ध भएपनि लगत्तै लोनमा पोर्टो एफसी गए जहाँ २७ खेल खेल्दा ८ गोल गरे । त्यसपछि उनी इंग्लिस फुटबलको दोस्रो डिभिजनमा रहेको वुल्भ्समा लोनमा गए जहाँ राम्रो प्रदर्शन गर्दै टोलीलाई प्रिमियर लिगमा नै बढूवा गर्न महत्वपूर्ण प्रदर्शन गरेका थिए । त्यसबेलासम्म उनको वुल्भ्ससँग स्थायी सम्झौता नै भइसकेको थियो ।


वुल्भ्सबाट खेल्दा जोटा
सन् २०१९ मा उनले लेस्टर सिटीविरुद्ध प्रिमियर लिगको आफ्नो पहिलो ह्याट्रिक गरे, क्रिस्टियानो रोनाल्डोपछि प्रिमियर लिगमा ह्याट्रिक गर्ने उनी दोस्रो पोर्चुगिज खेलाडी बने।

२०२० मा जोटा लिभरपुल आए। पहिलो १० खेलमा ७ गोल गरे र तुरुन्तै समर्थकको मन जिते। लिभरपुलले उनको लागि ४१ मिलियन पाउन्ड खर्च गर्‍यो, जुन लगानी उचित देखियो। त्यसपछि चोटका कारण संघर्ष गर्नुपरे पनि उनी लिभरपुलका लागि भ्यालुएबल प्लेयरका रूपमा स्थापित हुँदै गएका थिए ।

लिभरपुलबाट खेलेको पहिलो प्रिमियर लिग खेलमै गोल गरेका उनले च्याम्पियन्स लिगमा अटलान्टाविरुद्ध ह्याट्रिक पनि गरे। चोटका कारण केही महिना गुमाए तापनि पहिलो सिजनमा राम्रो प्रदर्शन गर्दा लिभरपुललाई तेस्रो स्थानमा पुर्‍याउन भूमिका खेले।

त्यसयता उनले युरोपियन च्याम्पियन्स लिगको फाइनल पनि खेले जहाँ रियल मड्रिडसँग पराजित हुँदा उपाधि भने जित्न पाएनन् । उनले लिभरपुलका लागि २ पटक लिग कप, १ पटक एफए कप तथा गत सिजनको प्रिमियर लिग उपाधि जिते ।


प्रिमियर लिगको उपाधिका साथ जोटा
तीव्र गतिको खेलशैली प्रस्तुत गर्ने जोटा एक निडर स्ट्राइकर थिए भन्न मिल्छ । उनी केवल स्ट्राइकर मात्र नभएर लिभरपुलको प्रणालीमा घुलमिल भएका प्रमुख खेलाडी थिए।

यसरी गोंडोमारबाट सुरु भएको उनको फुटबल यात्रा उच्चस्तरीय युरोपियन क्लब लिभरपुलमा पुगेर अन्त्य भयो । यसबीचमा उनले हासिल गरेको सफलताले उनलाई विश्व फुटबलमा स्टारको रूपमा स्थापित गरिसकेको थियो ।

सुरुवातमै अन्त्य भएको नयाँ जीवनको यात्रा

१२ दिनअघि अर्थात् जुन २२ मा मात्रै जोटाले आफ्नो बाल्यकालदेखिको माया रुटे कार्डोसोसँग विवाह गरे। १० वर्षभन्दा बढी समय सँगै रहेका उनीहरूले तेस्रो सन्तान आउँदैछ भन्ने खुसी पनि सँगै बाँडेका थिए । सामाजिक सञ्जालमा उनीहरूको हाँसीखुसी तस्बिर भाइरल भएका थिए ।

तर जुलाई ३ को विहानीमै त्यो सपना चकनाचुर भयो। स्पेनको ए-५२ सडकमा भएको कार दुर्घटनामा परी जोटा र उनका भाइको निधन भयो। प्रहरीको रिपोर्ट अनुसार उनको लाम्बोर्गिनी गाडीले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भई आगो लाग्दा दुवैको प्राण त्यहीँ अन्त्य भयो।

जोटाकी पत्नी र तीन सन्तान एक्लिए । यसरी नयाँ जीवनको सुरुवात पनि राम्रो हुन नपाइ उनको जीवन नै समाप्त भइदियो ।


दुर्घटनाग्रस्त कार
फुटबल संसार शोकमा

जोटाको निधनको खबरले यतिबेला सारा फुटबल जगत स्तब्ध छ । लिभरपुल र पोर्चुगल मात्र नभएर सम्पूर्ण फुटबलप्रेमीहरू शोकमा छन्। उनले केही दिन अघि मात्र क्लबलाई लिग उपाधि जित्न मद्दत गरेका थिए । तर अब उनी हामीमाझ नरहेको भन्ने कुरा पत्याउन गाह्रो छ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वास गर्न गाह्रो भइरहेको बताएका छन् । फ्यानेखि खेलाडी तथा विभिन्न क्लबहरू सबैले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।


क्रिस्टियानो रोनाल्डोसँग जोटा
लिभरपुलका समर्थकका लागि उनले दिएको खुसी अमूल्य थियो। पोर्चुगलका लागि उनी आशाको प्रतीक थिए। जसले उनलाई हरेक साताको खेलमा हेर्थे – त्यो मुस्कान, त्यो गोल मनाउने शैली, त्यो फुटबलको जादु, आज उनीहरू सबै नि:शब्द छन् ।

गोंडोमारको सानो गल्लीबाट सुरु भएर एन्फिल्डको प्रकाशमा चम्किएको त्यो जीवन आज अँध्यारोमा हराएको छ । उनका सम्झना, उपलब्धि, गोलहरू र उनका लागि गाइएको गीत सधैं जीवित रहनेछ। जहाँ कहीँ उनको कथा सुनिन्छ, एउटा कुरा सधैं गुञ्जिरहनेछ: ‘यू विल नेभर वाल्क अलोन’ अर्थात् तिमी कहिल्यै पनि एक्लो हुने छैनौ ।

हार्दिक श्रद्धाञ्जली !!!

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...