: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट राज्यका तर्फबाट प्राप्त सबै सेवासुविधा त्यागेकी छन् । एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी छन् ।
गृहसचिव सम्बोधन गरी लेखिएको पत्रमा बुधबारदेखि नै लागू हुने गरी कुनै पनि सेवा, सुविधा नलिने उल्लेख छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । भण्डारीको हकमा पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइने सुरक्षा, सुविधा भने कायम रहनेछ । प्रोटोकलअनुसार नै सुरक्षा, सुविधा भने प्रदान हुनेछ ।
पूर्वराष्ट्रप्रमुख भण्डारीलाई सरकारले एक उपसचिवसरह स्वकीय सचिव, कार्यालय सहयोगीसहित तीन कर्मचारीको सेवा, सुविधा उपलब्ध गराउँदै आएको छ । सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृह मन्त्रालयले जनाएको छ ।