: गुल्मीको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाका रूपमा घोषणा गरिएको छ।
आवश्यक प्रक्रिया र सूचकहरू पुरा गर्दै यस्तो घोषणा गर्नेमा धुर्कोट जिल्लामै पहिलो पालिका बनेको हो। गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशनको चौथो बैठकमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले औपचारिक रूपमा पालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त घोषणा गरेका हुन्। अध्यक्ष पोखरेलले घोषणासँगै बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
धुर्कोट गाउँपालिकाले २०८१ साउन २७ गतेदेखि बालमैत्री स्थानीय राष्ट्रिय महाअभियानको पालना गर्दै बालबालिकाको हितका लागि संस्थागत सुधारमा गाउँपालिका लागि परेको पालिका अध्यक्ष पोखरेलले बताए। उनले संस्थागत सुधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडी बढेकाले धुर्कोटलाई पहिलो पटक बालश्रम तथा सडक बालबालिकामुक्त घोषणा गर्न सफल भएको उल्लेख गरे।
पालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अन्तर्गतको सबै प्रक्रिया— वडागत निर्णय, अनुगमन, मूल्यांकन र सूचकहरूको परिपूर्ति पूरा गरेपछि मात्र औपचारिक घोषणा गरिएको बताइको छ। पालिकाले नेपालको संविधानको धारा ३९ मा उल्लेखित बालबालिकाको मौलिक हक, स्थानीय सरकार सञ्चालन ऐन २०७४, र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार सेवा प्रवाह र संस्थागत संरचनाहरू विकास गरेको गाउँपालिका उपाध्यक्ष सीता गिरीले बताइन्।
पालिकाले बालश्रम र सडक बालबालिकामुक्त घोषणाका लागि सबै मापदण्ड पुरा गरेको बताउँदै उपाध्यक्ष गिरीले अब बालमैत्री पालिका पनि बन्ने दिशामा अघि बढेको जानकारी दिईन्। पालिकाले विद्यालय, परिवार, स्थानीय संस्था र समुदायसँग सहकार्य गर्दै बालमैत्री वातावरण निर्माणमा विशेष जोड दिने जनाएको छ।
सरकारले सबै स्थानीय तहलाई बालमैत्री बनाउनका लागि राष्ट्रिय रणनीति ल्याएको छ। सोही रणनीति अनुसार स्थानीय तहहरूले बालश्रम, बाल अवस्था शिक्षा अभाव, तथा सडक बालबालिकाको समस्यालाई अन्त्य गर्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।