। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारले पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार एनिमल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कानुन बनाउने कुरामा मन्त्रालय सचेत रहेकोले बताए ।
‘यो विषयमा सरोकारवालासँग छलफल गरेर छिट्टै ऐन ल्याउने गरी तयारी गर्छु ’ मन्त्री अधिकारीले भने ।
एनिमल नेपाललले पशु कल्याण सम्बन्धी चुनौती तथा वर्तमान अवस्थामा पशु कल्याण ऐन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाहले नेपालमा पशु कल्याणको आवश्यकता भएकोले पशुकल्याण ऐनलाई छिट्टै ल्याउनु पर्ने जोड दिइन् । उनले नेपालमा पशु कल्याण ऐन आएमा यसले सम्पूर्ण पशुपन्छीमाथि हुने क्रुर र अमानवीय व्यवहार कम हुने बताइन् । यसलाई चाँडो पारित गरी लागू गर्नुपर्ने र समयसापेक्ष संशोधन गर्दै जानुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा पशु शाखा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. आभास पौडेलको प्रस्तुतीकारण रहेको थियो । उनको प्रस्तुतीकरणमा मानव पशुपन्छी सम्बन्ध, पशु कल्याण र पशु अधिकार साथै मुलुकी ऐनले पशु कल्याण सम्बन्धी गरेका व्यवस्था लगायतका कुरा समेटिएको थियो ।
पशु कल्याण सम्बन्धी काम गर्ने विभिन्न संस्थाले पशु कल्याण ऐन छिटो ल्याउनका लागि आवाज उठाइरहेका छन् । तर, यो आवाज एकमुस्ट पशु कल्याण महासंघमार्फत आयो भने अझ बुलन्द हुने डा. पौडेलले बताए ।
एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले हरेक जीवित प्राणीको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । ‘पशु कल्याणका लागि केही मापदण्ड बनेको भए पनि त्यसको कार्यन्वयन नहुँदा पशु पन्छीहरूले धेरै दु:ख कष्ट भोग्नु परेको छ’ राणाले भनिन् ।