मुख्य समाचार
आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी
आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी

: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्।



तिब्बतबाट बहिर्गमनमा परेका उनले सम्भवतः पहिलोपटक स्पष्ट रूपमा धर्मगुरु चुनिने परम्परा जारी रहने बताएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। आफ्नो पुनर्जन्म खोज्ने र पहिचान गर्ने प्रक्रिया गादेन फोड्राङ ट्रस्टको अधिनमा रहने र त्यस मामिलामा कसैलाई हस्तक्षेप गर्ने अधिकार नरहने उनले बताएका छन्।



'गादेन फोड्राङ ट्रस्टले मात्र दलाई लामाको पुनर्जन्मलाई मान्यता दिने अधिकार राख्छ र यसमा हस्तक्षेप गर्ने अरू कुनै अधिकार छैन,' उनले भनेका छन्। यसको अर्थ तिब्बतको आध्यात्मिक परम्परा र नेतृत्व संरचनाको स्थिरता सुनिश्चित गर्ने जिम्मेवारी गादेन फोड्राङ ट्रस्टका सदस्यहरूमा हुनेछ, जसले भविष्यमा दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रिया प्रारम्भ गर्नेछन्।



दलाई लामालाई जीवित अवतारको रूपमा मानिन्छ। उनले आफ्नो उत्तराधिकारी चीनभन्दा बाहिर पनि हुनसक्ने आकलन गरेका छन्। गत मार्चमा प्रकाशित किताबमा दलाई लामाले भनेका छन्, 'हुनसक्छ मेरो उत्तराधिकारीको जन्म चीनभन्दा बाहिर पनि हुनसक्छ।'


गत २४ सेप्टेम्बर २०११ मा गरेका एक महत्त्वपूर्ण वक्तव्यमा उनले भविष्यमा दलाई लामाको पुनर्जन्मको प्रक्रिया र उत्तराधिकारीको चयनबारे बताएका थिए। 'मैले १९६९ सम्म स्पष्ट पारेको थिएँ कि भविष्यमा दलाई लामाको पुनर्जन्म जारी रहनुपर्छ वा छैन भन्ने निर्णय तिब्बती बौद्ध परम्पराका उच्च लामाहरू, तिब्बती जनता र तिब्बती बौद्ध धर्मका अन्य अनुयायीहरूसँग परामर्श गरेर गर्नुपर्छ।'

चीनको आपत्ति
चीन सरकारले दलाई लामाको पुनर्जन्म र उत्तराधिकारीको चयनको विषयमा आपत्ती जनाएको छ। बेइजिङले भनेको छ कि दलाई लामाको पुनर्जन्म सरकारी स्वीकृतिमा आधारित हुनेछ र चिनियाँ प्रणालीअनुसार चयन गरिनेछ। चीनको विदेश मन्त्रालयले यस विषयमा कडा शब्दहरू प्रयोग गर्दै दलाई लामाको पुनर्जन्मको प्रक्रियामा हस्तक्षेप गर्ने अधिकार आफूसँग मात्र रहेको उल्लेख गरेको छ।

तर, दलाई लामाले भिडियो सन्देशमा प्रस्ट पारेका छन्, 'मेरा अनुयायीहरूलाई चीनले चुनेको जो कोहीलाई अस्वीकार गर्न आग्रह गर्दछु। मेरो पुनर्जन्म चीन बाहिर पनि हुनसक्छ।' यही अभिव्यक्तिले चीनलाई झन् आक्रोशित बनाएको विश्लेषकहरूको बुझाइ छ।

दलाई लामा निर्वासित भएपछि तिब्बतमा जे भयो
सन् १९५९ मा दलाई लामा भारत निर्वासित भएपछि तिब्बतमा चिनियाँ सैन्य नियन्त्रण थप कडा बन्यो। हजारौं तिब्बतीहरूले प्रतिरोध गरे पनि चिनियाँ सेनाले ती विद्रोहहरूलाई क्रूरतापूर्वक दमन गर्‍यो। धेरै तिब्बतीहरू मारिए, कैयौंलाई पक्राउ गरेर मुख्य भूमि चीनमा निर्वासित गरियो।

लगभग ८० हजार तिब्बतीहरूले देश छोड्न बाध्य भए। धेरैले हिमाली बाटो हुँदै नेपाल र भारततर्फ पलायन भए। सन् १९६५ मा चीनले तिब्बती स्वायत्त क्षेत्र घोषणा गर्‍यो। यसको केही समयपछि तिब्बतका धार्मिक केन्द्रहरू, विशेषतः मठहरू र पुराना सांस्कृतिक धरोहरहरू व्यापक रूपमा नष्ट गरिए। चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावले तिब्बतको परम्परागत बौद्ध शिक्षालाई ठूलो आघात पुर्‍यायो।


१९८० को दशकमा चीनले धर्म पालना गर्ने स्वतन्त्रता पुनर्स्थापित गरेको दाबी गर्‍यो। तर स्थलगत रिपोर्टहरूका अनुसार भिक्षु र भिक्षुणीहरूलाई निगरानी, नियन्त्रण र उत्पीडन भोग्नुपर्‍यो। बौद्ध मठहरूमा राज्यको हस्तक्षेप बढेको देखियो।

चीनले ठूलो संख्यामा हान चिनियाँहरूलाई तिब्बतमा स्थानान्तरण गराएको छ। सरकारको भनाइमा यो 'आर्थिक विकासका लागि आवश्यक' भए पनि, तिब्बती नेताहरू र मानव अधिकार समूहहरूले भने यसलाई योजनाबद्ध सांस्कृतिक हेरफेरको रूपमा हेरेका छन्।

सन् २००८ मा ल्हासामा सुरु भएको शान्तिपूर्ण प्रदर्शन केही दिनमै घातक हिंसामा परिणत भएको थियो। तिब्बती र हान चिनियाँ समुदायहरूबीचको तनाव सतहमा आयो। परिणामस्वरूप कयौंको ज्यान गयो र सयौं पक्राउ परे।

अहिले पनि तिब्बत चिनियाँ प्रशासनद्वारा कडा निगरानीमा छ। ह्युमन राइट्स वाचका अनुसार २०१६ देखि चीनले ग्रामीण तिब्बती समुदायहरूलाई जबरजस्ती स्थानान्तरण गर्ने कार्य तीव्र बनाएको छ, जसलाई उनीहरूले 'आर्थिक अवसर विस्तार' भनेर चित्रण गर्छन्। तर, आलोचकहरू भन्छन्, यसले पारम्परिक जीवनशैली र तिब्बती पहिचानमाथि खतरा उत्पन्न गराएको छ।


को हुन् दलाई लामा?
१४औं दलाई लामाको जन्म १९३५ मा ल्हामो धोन्डुपको रूपमा तिब्बतको एक किसान परिवारमा भएको थियो। दुई वर्षको उमेरमा उनलाई तिब्बती बौद्ध धर्मका सर्वोच्च नेता १३औं दलाई लामाको पुनर्जन्मको रूपमा चिन्हित गरिएको थियो।

दलाई लामाले तिब्बती बौद्ध धर्मको शिक्षामा गहिरो अध्ययन गरेका छन्। सन् १९५९ मा चीनले तिब्बतमाथि कब्जा जमाएपछि उनी भारतमा निर्वासित भएका थिए। 'तिब्बती पहिचानको रक्षा गर्न अहिंसात्मक संघर्ष' गरेको भन्दै उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

तिब्बती बौद्ध धर्मका अनुयायीहरू उनलाई अवलोकितेश्वर (चेन्रेजिग)को अवतारको रूपमा मान्छन्। दलाई लामाको भूमिका केवल आध्यात्मिक नेताका रूपमा नभएर तिब्बती जनताको राजनीतिक र सांस्कृतिक अस्तित्वको प्रतीकको रूपमा पनि रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...