: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार ढाल्ने पक्षमा आफूहरू नभएको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर माओवादीले केन्द्रले कांग्रेस-एमाले नेतृत्वको सरकारले निरन्तरता पाओस् भनेर चाहेको स्पष्ट पारेको हो।
तर, सत्तापक्षका अन्तरविरोधकै कारण सरकार ढल्ने दाबी पनि माओवादीले गरेको छ। 'हामी यो सरकारलाई ढाल्न खोजेका छैनौं। यो सरकारले निरन्तरता पाओस् नै चाहन्छौं। तर, सत्ता पक्षका सांसदहरू नै अहिले सरकारविरुद्ध तछाडमछाड गरिरहेका छन्। अन्तरविरोधकै कारण यो सरकार ढल्छ। धेरै दिन टिक्दैन,' माओवादीका केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने।
उनले सरकारको गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले सरकारले गाईजात्रा देखाइरहेको आरोप पनि लगाए। कुलिङ अफ पिरियडमा भएको जालसाझीलाई सामान्यरूपमा नलिने उनले बताए। 'समितिमा सर्वसम्मतले पारित भएको विषयलाई उल्टाएर जुन जालसाझी गरिएको छ, त्यो गम्भीर छ। राष्ट्रिय लज्जाको विषय हो। यसको जिम्मेवारी संघीय संसदको नेतृत्वले लिनुपर्छ,' उनले भने। शिक्षा विधेयक पनि सत्तापक्षकै कारण अड्किएको उनको आरोप छ।
त्यस्तै विपक्षीलाई छानी छानी मुद्दा चलाउने र जेल हाल्ने कामको पनि उनले विरोध गरे। 'यो सरकारले विपक्षीलाई मुद्दा लगाउने र जेल हाल्ने काममात्र गरेको छ। भ्रष्टाचारीलाई जोगाउने काम गरेको छ। राजनीतिक रूपमा यो सरकारको वैधता समाप्त भएको छ,' उनले भने।