— प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा राखेको 'कुलिङ अफ पिरियड'को व्यवस्थामाथि जालझेल गर्नमा मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले भूमिका खेलेका हुन् कि भन्ने लागिरहेको एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बताएका छन् ।
राज्यव्यवस्था समितिको बुधबारको बैठकमा सांसद पाण्डेले मुख्यसचिव र सचिवहरूले विधेयकमा राखिएको 'कुलिङ अफ पिरियड'को व्यवस्था निष्प्रभावी पार्न भूमिका खेलेका हुन् कि भन्ने शंका भइरहेको बताए । विधेयकमाथि जालझेल गर्ने भूमिकामा मुख्यसचिव र सचिवहरू संलग्न छन् कि छैनन् भन्नेबारे छानबिन गर्न पनि समिति गठन गर्नुपर्ने उनको माग थियो ।
'हाम्रो मनभित्र पर्दा पछाडिबाट मुख्यसचिव र सचिवहरूले खेलेका हुन् कि भन्ने लागिहेको छ । पर्दाभित्र त यी मुख्यसचिव, सचिवहरूले 'कुलिङ अफ पिरियड' हटाउनका लागि प्रधानमन्त्रीलाई राजीनामा दिने धम्की दिएको भन्ने सार्वजनिक भएको थियो,' पाण्डेले भने, 'अब केही गर्न सकिएन तलबाट प्वाल पारिदिनुपर्यो भनेर यिनीहरू लागे भन्ने शंका लागेको छ । त्यो निवारण गर्नका लागि पनि छानबिन समिति गठन गर्नुपर्छ ।'
भविष्यमा यस्तो हुन नदिनका लागि पनि छानबिन गर्नुपर्ने पाण्डेको भनाइ थियो ।
विधेयकमा २ वर्षसम्म निजामती वा सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले संवैधानिक र सरकारी नियुक्ति लिन नमिल्ने व्यवस्था गरिएको थियो । तर, समितिले प्रतिवेदनमा भने उक्त प्रावधानलाई काट्ने व्यवस्था पनि यथावत राखिएको थियो ।