— कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
उपाध्यक्ष कल्पना गुरुङले मंगलबार १७ औं गाउँ सभामा चालु आर्थिक वर्षभन्दा १० करोड ८८ लाख ३७ हजार ५ सय रुपैयाँ कमको बजेट प्रस्तुत गरिन् । चालु आर्थिक वर्षमा गाउँपालिकाले ७१ करोड ३८ लाख ५७ हजार ५ सय रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षको बजेटमध्ये चालुतर्फ ४० करोड ३ लाख ४३ हजार ४ सय ७९ अर्थात् ६६.१७ प्रतिशत र पुँजीगततर्फ २० करोड ४६ लाख ७६ हजार अर्थात् ३३.८३ प्रतिशत विनियोजन गरिएको छ ।
आम्दानीतर्फ संघ सरकारबाट सर्तबापत ३० करोड ८८ लाख, राजस्व बाँडफाँडबापत ११ करोड ३९ लाख ४९ हजार, वित्तीय समानीकरणबापत १० करोड २२ लाख, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबापत १ करोड १५ लाख ६६ हजार, वित्तीय समानीकरणबापत १ करोड १२ लाख ४७ हजार, समपूरक अनुदानबापत ६० लाख र विशेष अनुदानबापत ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
सामाजिक विकासतर्फ २८ करोड ४० लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसमध्ये शिक्षा र स्वास्थ्य कर्मचारीका लागि २३ करोड २३ लाख रुपैयाँ छुट्याइएको छ । बाँकी रकम स्थानीय पाठ्यपुस्तक अद्यावधिक र छपाइ, स्वास्थ्य संस्थालाई औषधि खरिद, स्वास्थ्य स्वयंसेविका कार्यक्रम, विपन्न परिवार बिमा, आकस्मिक महिला तथा बाल उद्धार कोषका लागि विनियोजन गरिएको छ ।
पूर्वाधार विकासतर्फ १५ करोड ५० लाख ४० हजार, सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ८७ लाख ८२ हजार, कृषि, पशुपालनसहित आर्थिक विकासतर्फ २ करोड ९६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिका, वडा र स्वास्थ्य संस्थाको भवन निर्माण गर्न २ करोड विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताइन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म ५४.०५ प्रतिशत खर्च गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० भित्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ । तर, नीति तथा कार्यक्रममाथि छलफलको क्रममा कांग्रेस र एमालेबीच विवाद हुँदा बजेट निर्धारित समयमै सार्वजनिक हुन सकेको थिएन । एक साता लगाएर विवाद समाधान गरिएपछि नीति तथा कार्यक्रम, बजेट मंगलबार प्रस्तुत र पारित गरिएको हो ।