: नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले पछिल्ला दिनमा पार्टीभित्र देखिएको अराजक प्रवृत्ति र अनुशासनहीन गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पार्टीका सांसद र नेताहरूलाई सदन र सडकमा व्यक्तिगत शैलीमा आक्रोश पोख्ने प्रवृत्ति तत्काल रोकिनुपर्ने चेतावनी दिए।
राणाले सरकार र बजेटप्रति असन्तुष्टि भए पनि त्यो पार्टी बैठकमै उठाइनुपर्ने बताए। 'बजेटमा कमजोरी छन्, गुनासा छन्। तर ती गुनासालाई संस्थागतरूपमा उठाउनुपर्छ। मन्त्री र पार्टीबीच समन्वयको अभाव छ। यो समीक्षाको विषय हो, तर मन्त्रीमाथि व्यक्तिगत आरोप लगाउँदै हिँड्नु पार्टी अनुशासन विपरीत हो,' उनले भने।
उनले पार्टीकै मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रश्न उठिरहेका बेला बजेट वितरणमा राजनीतिक पूर्वाग्रह देखिएको आरोपलाई गम्भीरतापूर्वक लिन पार्टी नेतृत्वलाई आग्रह गरे। 'कांग्रेसका अधिकांश निर्वाचित क्षेत्रहरू बजेटमा उपेक्षित देखिएका छन्। एकातिर मन्त्रीले अर्थ मन्त्रालय देखाउँछन्, अर्कोतिर अर्थले अरूलाई जिम्मेवार ठहराउँछ। यो जवाफदेहिता होइन,' उनले भने।
राणाले कांग्रेसको डिजिटल उपस्थिति कमजोर भएको भन्दै भिजिट भिसा प्रकरण र सहकारी मुद्दामा सामाजिक सञ्जालमार्फत बनेको न्यारेटिभले पार्टीलाई नोक्सान पुर्याएको उल्लेख गरे। 'हाम्रो डिजिटल क्याम्पेन लगभग शून्य छ। रवि लामिछानेको सहकारी मामिलामा अदालतले प्रश्न उठाए पनि सामाजिक धारणा उल्टो बनेको छ। यस्तै रणनीति लिएर हामी अर्को चुनावमा गयौं भने नतिजा निराशाजनक हुनसक्छ,' उनले भने।