— लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने तयारी गरिएको छ। आज बस्न थालेको प्रदेश सभाको छैठौं अधिवेशनको १६औँ बैठकमा मन्त्रालयगत छलफल सकेर बजेट पारित गर्नेगरी सत्तागठबन्धनका दलबीच सहमति भएको छ।
बुधबार दिउँसो १२ बजे बस्ने बैठकमा आगामी आव २०८२/०८३ का सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विभिन्न मन्त्रालय र शीर्षकसम्बन्धी समूहगत छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताएका छन्। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतननारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिनेछन्।
प्रदेश सभाको बुधबारकै बैठकबाट आर्थिक ऐन संशोधन गर्ने सरकारको तयारी छ। आर्थिक ऐन संशोधन गरेपछि बजेट निर्माणका क्रममा छुटेका प्रदेश सभा सदस्यका योजनाहरूको सूची प्रदेश सभामै पेश गरेर पारित गर्ने तयारी पनि गरिएको छ। छुटेका योजनाहरू प्रदेश सभाबाटै समावेश गरेर बजेट र योजना एकैसाथ पारित गर्ने विषयमा सत्तापक्षीय सांसद, मन्त्री, योजनामन्त्री र मुख्यमन्त्रीबीच सहमति भएको थियो।
त्यही अनुसार अहिले छुटेका योजनाहरू प्रदेश सभाबाटै पारित गर्ने र आर्थिक ऐन संशोधन गरेर पहिलो चौमासिकमै रकमान्तर गरी बजेट व्यवस्थापन गर्ने सहमतिपछि मंगलबारदेखि बजेटमाथिको छलफल सुरु गरिएको हो।
भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालले बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको र मन्त्रालयगत छलफलपछि आर्थिक मामिलामन्त्रीले जवाफ दिएपछि बजेट पारित हुने बताएका छन्।
बजेटमाथि विपक्षी दलहरूले निरन्तर विरोध जनाइरहेका छन्। माओवादी केन्द्रसहित विपक्षीहरूले बजेट पुनर्लेखन गर्नुपर्ने माग राखिरहेका छन्। विपक्षीको मागमा सरकार सहमत नभएपछि मंगलबारको छलफल बहिष्कार गरेका थिए। तर सरकारको समर्थनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मंगलबार नै समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेपछि बजेटमाथिको छलफल अगाडि बढेको हो।
लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि ३८ अर्ब ९१ करोड रूपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार, चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार, र स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार विनियोजन गरिएको छ।
बजेटले आन्तरिक स्रोतबाट ७ अर्ब ७८ करोड ४ लाख राजस्व संकलन गर्ने र चालु आवको बचत २ अर्ब परिचालन गर्ने लक्ष्य लिएको छ।