— सत्तारुढ दल कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ । केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको बताएका हुन् ।
संसद्मा रहेका र पार्टीका नेतामा अनुशासन नभएको कुरा केन्द्रीय समितिको बैठकमा आएको पनि प्रवक्ता महतको दाबी छ । 'हाम्रो पार्टीमा अनुशासन भएन । संसद्मा र बाहिर रहेका साथीहरूले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ,' उनले भने ।
अहिलेकै गठबन्धनले राम्रो काम गर्नुपर्नेमा पनि नेताहरूले जोड दिएको प्रवक्ता महतले बताए । ‘गठबन्धनका बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्नेबित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन । त्यो कुरा साथीहरूले बुझ्नुभएको छ । यद्यपि कतिपय साथीहरुको गुनासो छ । तथापि गठबन्धनका विषयमा फेरि प्रतिकूल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्छ भन्ने छ,’ उनले भने ।
आफूलाई मनमा लागेको कुरा बोल्ने र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको बारेमा प्रश्न उठेको प्रवक्ता महतको भनाइ छ ।