— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् ।
मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा उपयुक्त कारबाहीको कुरा उठ्छ, तर प्रक्रियागत कमजोरी मात्र हो भने त्यसलाई सच्याउन ध्यान दिनुपर्छ। मुख्य कुरा, गलत विधेयक पारित हुनुहुँदैन।' उनले प्रतिवेदन एक खालको हुने तर पारित हुँदा अर्कै हुने कुरा गम्भीर भएको पनि बताएका छन् । उनले भने, 'छलफल र बहस एउटा हुने, निर्णय एउटा हुने तर परिणाम भने त्यसलाई असर गर्ने खालको हुने कुरा कहाँबाट भयो ? कसको स्वार्थमा भयो ? त्यसबारे पनि खोजीनिती हुनुपर्छ ।'
सभामुख घिमिरेले निजामती सेवा विधेयकमा छलफल विपरीतका कुरा राखिएको भन्दा सासंदहरुले भनिरहेको बताउँदै अब यसलाई सच्याउने बाटो खोज्नुपर्ने बताएका छन् । उनले विधेयक राष्ट्रिय सभामा पुगेको भन्दै राष्ट्रिय सभाले यो विधेयकलाई सच्याउने अपेक्षा गरिएको र संशोधनपछि पुनः प्रतिनिधिसभामा सभामा फर्किने बताएका छन् । उनले राष्ट्रिय सभामा नमिलेका कुराहरू सहजै मिलाउन सकिने बताएका छन् ।
सभामुख घिमिरेले आवश्यकता र गम्भीरताका आधारमा हेरेर प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्नका लागि सचिवालयलाई भनिसकेको बताए । उनले नियतवश गलत कुरा लुकिछिपी भएको हो वा काम गर्दा त्रुटि भएको हो भनेर बुझ्नुपर्ने बताएका छन् । उनले भने, 'प्रतिवेदन एउटा र पारित गर्दा अर्कै हुने चाही गम्भीर कुरा भयो ।'
निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी र सांसदले गम्भीर जालझेल गरेको सार्वजनिक भइसकेको छ ।
विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको भनिए पनि प्रतिनिधिसभामा त्यसलाई खण्डित गर्ने अर्को दफासमेत समावेश गरेको भेटिएको छ ।