: कैलालीको जानकी गाउँपालिका-९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको हत्या भएको छ। अमरावतीस्थित आफ्नो घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले दिएको जानकारी अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएकी शाहीको आज बिहान घरमै शव फेला परेको थियो। दुई तले घरमा एक्लै बस्दै आएकी शाहीका एक छोरा काठमाडौं र एक छोरा टीकापुर बस्दै आएका थिए। उनको शव घरको माथिल्लो तलामा फेला परेको थियो।
मृतक शाहीको टाउको, घाँटी र छातीमा गम्भीर चोट लागेको बताउँदै डीएसपी बुढाथोकीले मृतकको टीकापुर अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको बताए। घटनाबारे स्थानीयले खबर गरेपछि अनुसन्धानमा खटेको प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएका व्यक्तिसँग सोधपुछ जारी रहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ। दुई वर्ष अघि अमरावतीको एक सामुदायिक वनमा लागुऔषध प्रयोगकर्ताहरूले एक युवकको घाँटी रेटेर हत्या गरेका थिए।