: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले सोमबार ललितपुरमा विरोध प्रदर्शन गरेका छन्।
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै उनीहरूले ललितपुरको मंगलबजारमा विरोध प्रदर्शन गरेका हुन्।
त्यसअघि सुनचाँदी व्यवसायीहरू पाटनका विभिन्न स्थानमा प्रदर्शनसहितको र्याली निकालेका थिए। बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ।
सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत उनीहरूले राखेका छन्। सरकारले बजेटमार्फत गरेको व्यवस्था खारेज नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए।
उनले आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाएरै छाड्ने दाबी गरे। व्यवसायीहरूले सुनमा लगाएको कोटा प्रणाली खारेज गर्न समेत माग गरेका छन्। उनीहरूले मंगलबार भक्तपुरमा विरोध प्रदर्शन गर्ने जनाएका छन्।