: नेपाली कांग्रेसको २/२ महिनामा केन्द्रीय समितिको बैठक बस्ने गरेको भए पनि यसपालि ९ महिनापछि बैठक बसेको छ । लामो समयको अन्तरमा बसेको बैठकमा अहिलेको गठबन्धन सरकारको समीक्षा सँगै सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीको चर्को आलोचना भएको थियो । बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकारले जनताको मनोभावनाअनुसार काम गर्न नसकेको समीक्षा गरेका थिए ।
बैठकमा बोल्दै एक पदाधिकारीले भने, ‘सिंगो सरकारले लयमा काम गर्न सकेको छैन । अर्कोतिर कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू अल्मलिएको जस्तो देखिन्छ । रिजल्ट दिने किसिमको काम छैन । भोलि जनतामा जानुपर्छ भन्ने उहाँहरूले नसोची काम गर्नुभएको छ ।’
बैठकमा कांग्रेसको क्रियाशील सदस्यको विषयमा प्रसंग उठेको छ । कांग्रेसले असार मसान्तसम्मका लागि क्रियाशील सदस्यता नवीकरणका लागि समयावधि तोकेको छ । हालसम्म ५ जिल्लामा क्रियाशील सदस्यता नवीकरणको काम सकिएको छ । बैठकको सुरुवातमै महामन्त्री गगन थापाले पार्टीमा क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार नाघेको जानकारी गराएका थिए । उनले क्रियाशील सदस्यको वर्तमान विवरण सार्वजनिक गर्दै हालसम्म ८ लाख ७० हजार ७ सय ८० जना कांग्रेसका क्रियाशील सदस्य भएको देखाए ।
थापाले भने, ‘ती मध्यमा १४ औं महाधिवेशनमा नवीकरण गर्नेहरू ४ लाख २३ हजार ४ सय ३४ जना, नयाँ ४ लाख ४७ हजार ३ सय ४६ जना र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५ सय ९२ जना क्रियाशील छन् ।’ नवीकरणको अवस्थाका विषयमा भने थापाले कांग्रेस क्रियाशील सदस्यता नवीकरणको फाराम ०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन थालिएको बताए । सोहीअनुसार ८ लाख ७० हजार ८८४ वटा फाराम पठाइसकिएको छ ।
थापाले यसका लागि कार्यतालिकासहित नवीकरणको समयावधि तोकेर सिस्टममा इन्ट्री गर्न भनिएको र सोहीअनुसार जिल्लाबाट विवरण आउन थालेको बताए । थापाका अनुसार १२ गतेसम्मको विवरणअनुसार परिपत्रबमोजिम नवीकरण प्रविष्ट गरेका–बुझाएका जिल्ला ५ वटा छन् । त्यस्तै सिस्टममा प्रविष्ट भइरहेका जिल्लाको संख्या १५, जिल्लामै निर्णय प्रक्रियामा रहेका जिल्ला १०, वडाबाट जिल्लामा नवीकरण फारम संकलन भइरहेका जिल्ला ३३, नवीकरणमा समस्या भएका जिल्ला १४ रहेको उल्लेख गरे ।
कांग्रेसका नेता शेखर कोइरालाले चुनावी गठबन्धनअनुसार सत्तासमीकरण नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए । उनले भने, ‘गत निर्वाचनमा माओवादीसँग मिलेर गइयो । दुर्भाग्य माओवादीसँग सरकार बनाइरहन सकिएन । अहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको छ ।’
नयाँ सदस्यताका विषयमा नयाँ क्रियाशील सदस्यता फारम २ लाख १७ हजार ९ सय १ वटा पठाइएको छ । यो भनेको नवीकरण भएको सदस्य संख्याको २५ प्रतिशत हो । १७ जिल्लाले वडा सदस्यता फारम पठाएको जानकारी गराए पनि दोलखाबाहेक कुनै पनि जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण भएको जानकारी नभएको पनि बैठकमा बताइएको छ । थापाले हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नका लागि सबै जिल्लालाई जानकारी गराइएको बताए ।
नयाँ सदस्यता उपलब्ध गराउँदा जनसंख्या, मतसंख्या, क्लस्टर अनुसारको संख्या र सदस्यताका माग एवं आवश्यकता समेतलाई हेरी उपलब्ध गराउने गरी मापदण्ड बनाइ साउनपछि वितरण अभियान गरिने पनि उनले जानकारी गराए । त्यस्तै उनले जनसम्पर्क समिति सदस्यताको व्यवस्था गरी सदस्यता फारम र वितरण प्रक्रिया अगाडि बढाइएको पनि बताए ।
बैठकमा बोल्दै कांग्रेसका नेता शेखर कोइरालाले चुनावी गठबन्धनअनुसार सत्तासमीकरण नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए । उनले चुनावी गठबन्धन माओवादीसँग गरेर एमालेसँग सरकारमा सामेल हुनुलाई दुर्भाग्य भएको भन्दै अगाडि भने, ‘गत निर्वाचनमा माओवादीसँग मिलेर गइयो । दुर्भाग्य माओवादीसँग सरकार बनाइरहन सकिएन । अहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको छ ।’
उनले सभापतिले पार्टी एक ढिक्का होस् भनेको बारे थपे, ‘सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनभने भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।’ कोइरालाले महाधिवेशन समयमै गर्न नसक्नुको कारणबारे पनि जवाफ माग्दै भने, ‘कारण के हो ? क्रियाशीलको मात्रै हो कि अरू के हो ? क्लियर हुनुपर्यो मैले म जिल्लामा जाँदा टाइममै गर्नुपर्छ भनेर साथीहरू भन्नुहुन्छ । नवीकरण पनि हुन्छ, क्रियाशील पनि हुन्छ भन्नुहुन्छ त ।’
पार्टीका केन्द्रीय सदस्य नैनसिंह महले पार्टीको १५ औं महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै भने, ‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् यसले थप अन्यौलता सिर्जना गरेको छ । विधान अनुसार समयमै गर्न र पार्टीलाई गतिशील बनाउन अब महाधिवेशनको मिति तोकौं ।’
बैठकमा समयमै महाधिवेशन गर्न नसकेका कांग्रेसका भ्रातृ संस्थाहरूको महाधिवेशनबारे नयाँ मिति प्रस्ताव गरिएको छ । महामन्त्री थापाले भ्रातृ संस्थाको महाधिवेशनको मितिबारे नयाँ प्रस्ताव गरेका हुन् ।
गठबन्धन सरकारको प्रभावकारिताका विषयमा पनि बैठकमा छलफल भएको थियो ।
थापाले नयाँ समिति बनाउने, फेरि समय तोक्ने गर्दा संगठन चलायमान हुन नसक्ने बताए । उनले भने, ‘नेविसंघ, महिला संघसहित जति पनि महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्था छन् तीनमा अहिले के भइरहेको छ भन्नेबारे हाम्रो बैठक चलिरहँदा छलफल गरेर हामीलाई केके समस्या भएको विवरण दिनुहुन्छ भन्ने अपेक्षा छ ।’
बैठकमा संस्थापन पक्षले भ्रातृ संस्थालाई महाधिवेशनका लागि अझै केही समय दिनुपर्ने मत अगाडि सारेको थियो । सोही विषयमा महामन्त्री गगन थापा सहितका नेताले समयमा महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्नुपर्ने मत राखेका छन् ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा केन्द्र र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ-आफ्नो क्षेत्रको कामकारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराएको बताए । गठबन्धन सरकारको प्रभावकारिताका विषयमा पनि बैठकमा छलफल भएको थियो । सोमबारै पार्टी कार्यालयमा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थपका विषयमा भने केन्द्रीय समितिको बैठक बस्नु अगावै तरुण दल, नेविसंघ र महिला संघहरूले धर्ना दिएरै दबाबपूर्ण ध्यानाकर्षण गराएका थिए ।
कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशनको नयाँ मिति
समयमै महाधिवेशन गर्न नसकेका कांग्रेसका भ्रातृ संस्थाहरूको महाधिवेशनबारे नयाँ मिति प्रस्ताव गरिएको छ । महामन्त्री थापाले भ्रातृ संस्थाको महाधिवेशनको मितिबारे नयाँ प्रस्ताव गरेका हुन् । बैठकमा थापाले नयाँ समिति बनाउने, फेरि समय तोक्ने गर्दा संगठन चलायमान हुन नसक्ने बताए ।
थापाले बैठकमा भने, ‘नेविसंघ, महिला संघसहित जति पनि महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्था छन् तीनमा अहिले के भइरहेको छ भन्नेबारे हाम्रो बैठक चलिरहँदा छलफल गरेर हामीलाई के–के समस्या भएको विवरण दिनुहुन्छ भन्ने अपेक्षा छ ।’
बैठकमा महाधिवेशन गर्न नसक्ने तर तदर्थको भरमा चलिरहेका संस्थाको महाधिवेशन माघ मसान्तभित्र सक्ने गरी निर्देशन गर्ने प्रस्ताव राखे । तरुण दलको हकमा उनले भने, ‘तरुण दलको अधिवेशन मंसिर २६, २७ र २८ गतेसम्म सक्ने ।’
उपसभापतिले बुझाए प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन
बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाए । कार्यप्रगति प्रतिवेदनमा ०७९ असारदेखि ०८२ भसार १५ गतेसम्म प्रतिष्ठानले गरेका कामहरूको प्रगति विवरण उल्लेख गरिएको छ । उक्त प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्नुअघि उपसभापति खड्काले बैठकमा प्रस्तुत गरेका थिए ।
सभापति देउवाले ०७९ असार १० गते उपसभापति खड्कालाई प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका थिए । प्रतिष्ठानको प्रमुख उपसभापतिमध्येबाट हुने व्यवस्था छ । सोहीअनुरूप उनी भएका हुन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ मा प्रतिष्ठानको व्यवस्था गरिएको छ । प्रतिष्ठानले नीति निर्माण गर्ने, अनुसन्धान गर्ने र प्रशिक्षण दिने काम गर्दछ । मुलुकको समसामयिक राजनीतिक विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पार्टीले लिनुपर्ने नीति तय गर्न पार्टीलाई सहयोग गर्नु प्रतिष्ठानको जिम्मेवारीमा पर्छ ।
पार्टीले अख्तियार गरेका नीति तथा कार्यक्रम र मुलुकको समग्र हितका लागि पार्टीले लिनुपर्ने नीतिका विषयमा अध्ययन अनुसन्धान गर्नु प्रतिष्ठानको दायित्व मानिन्छ ।
कांग्रेसको बैठकमा १०० दिने अभियानका प्रतिवेदन प्रस्तुत र छलफल, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा, कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ ‘र’ नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धमा, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिता (मन्त्रीहरूको प्रतिवेदनसहित छलफल), समसामयिक विषय (राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिकलगायतका एजेन्डाहरू अगाडि सारिएको छ । बैठक केही दिन चल्ने प्रवक्ता महतले बताए ।