युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्तावलाई स्वीकारेका छन्। युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा पुटिनसँग व्यक्तिगत वार्ता गर्न तयार रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई सुझाव दिएका थिए। त्यसलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू वार्ताको लागि तयार रहेको बताएका हुन्।
'अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैं बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु,' जेलेन्स्कीले लेखेका छन्।
जेलेन्स्कीले पहिले नै युक्रेन रुससँग वार्ता गर्न तयार रहेको तर वार्ताअघि युद्धविराम लागू हुनुपर्ने सर्त राखेका थिए।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमा शान्ति सम्झौताको सम्भावना छ कि छैन भन्ने कुरा स्पष्ट गर्न युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्ने जनाएका थिए।
उनले लेखेका थिए, 'कम्तिमा सम्झौता हुन सक्छ कि सक्दैन भनेर थाहा हुनेछ। यदि भएन भने अमेरिका र युरोपेली देशहरूले अब के गर्नुपर्छ भनेर थाहा पाउनेछन्। अहिले नै वार्ता गर्नुहोस्।'
शनिबार रूसी राष्ट्रपति पुटिनले युक्रेनलाई गम्भीर वार्ताको लागि आमन्त्रित गरेका थिए।
सन् २०२२ बाट रुस र युक्रेनबीच युद्ध चलिरहेको छ।