मुख्य समाचार
अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक
अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने वस्तुमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को घोषणा गरेपछि अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक भएका छन् । अमेरिकाको डो र एस एन्ड पी ५०० भनिने शेयर बजार सूचकांक क्रमश: ४ र ४.८ प्रतिशतले घटेको सीएनबीसीले जनाएको छ । प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्ड्याक कम्पोजिट पनि ६ प्रतिशतले खुम्चिएको छ ।


बुधबारयता सबैजसो प्रमुख कम्पनी र सूचकांकहरूमा उल्लेख्य गिरावट आएका छन् । राताम्य बनेका अमेरिकी सेयर बजारमा लगानीकर्ताहरूले गुमाएको कुल रकम ३० खर्ब अमेरिकी डलर आसपास रहेको प्रमुख सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।


ट्रम्पको घोषणाले अमेरिकी सेयर बजारमा गरेको असरलाई विश्वका अन्य प्रमुख सेयर बजारले पनि संत्रासपूर्वक पछ्या्एका छन् । यूएसए टुडेका अनुसार बुधबार ट्रम्पले सबैजसो प्रमुख देशमाथि लगाएको ट्यारिफ र त्यसको प्रभावले हुनसक्ने व्यापार युद्ध र मन्दीको डरले अन्य प्रमुख सेयर बजारहरू औसत ४.५ प्रतिशतले ओर्लिएका थिए ।

बेलायतको एफटीएसई १०० झन्डै ३.५ प्रतिशत, जर्मनीको डीएएक्स ४.२ प्रतिशतसँगै फ्रान्स ३.८ प्रतिशत, इटाली ३.९ प्रतिशत र स्पेनको सेयर सूचकांक ३.६ प्रतिशतले ओर्लिएका छन् । एसियाली प्रमुख बजारमा जापानको निक्केइ २२५ झन्डै ५.१ प्रतिशत, चीनको सांघाइ कम्पोजिट इन्डेक्स ६.३ प्रतिशत र दक्षिण कोरियाको कप्सी ४.८ प्रतिशतले ओर्लिएको थियो । अन्य सेयर बजारमा अस्ट्रेलियाको सेयर सूचकांक ३.८ प्रतिशत र भारतको सेन्सेक्स झन्डै ४.५ प्रतिशतले ओर्लिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

यो गिरावटले सबैभन्दा धेरै प्रविधि, खुद्रा व्यापार र सवारी साधन क्षेत्रलाई प्रभावित गरेको देखिएको छ । एप्पल र एनभिडियाजस्ता प्रविधि कम्पनीहरूको सेयर क्रमशः ९ प्रतिशत र ८ प्रतिशतले घट्यो । खुद्रा व्यापारमा डलर ट्री र ग्यापले ठूलो घाटा व्यहोरेका छन् । यी कम्पनीका सेयर मूल्य क्रमशः १३ प्रतिशत र २० प्रतिशतले ओर्लिए ।

सवारी साधनसम्बन्धी क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ । टेस्ला, फोर्ड र जनरल मोटर्सजस्ता कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य रूपमा गिरावट आएको थियो । घाटाको मारमा हाई-प्रोफाइल लगानीकर्ता र व्यावसायिक नेतृत्वकर्ताहरू पनि परेका छन् ।

यूएस न्युजका अनुसार टेस्लाको सेयर ११ प्रतिशतले ओर्लँदा इलन मस्कले १९ अर्ब अमेरिकी डलर र अमेजनको सेयर ९ प्रतिशत घट्दा जेफ बेजोसले २० अर्ब अमेरिकि डलर गुमाए । मेटाको सेयर १४ प्रतिशतले घट्दा मार्क जकरबर्गले झन्डै ३४ अर्ब अमेरिकी डलरसँगै गुगलका ल्यारी पेजले २० अर्ब अमेरिकी डलर, डेलका माइकल डेलले २० अर्ब अमेरिकी डलर, वारेन बफेटले १५ अर्ब अमेरिकी डलर र बिल गेट्सले १४ अर्ब अमेरिकी डलरको क्षति व्यहोरेका थिए ।


यो बजार गिरावटले अमेरिकी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने आकलन गरिएको छ भने मन्दीको डर बढेको छ । उच्च भन्सार महसुल र अन्य राष्ट्रहरूको सम्भावित प्रतिकृयाले आर्थिक वृद्धिमा गिरावट, अमेरिकी उपभोक्ताहरूका लागि उच्च मूल्य वृद्धि र मुद्रास्फीति बढ्ने जोखिम ल्याउन सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् ।

'यो अमेरिकी अर्थतन्त्रका लागि मात्र नभएर विश्वव्यापी अर्थतन्त्रकै लागि उल्लेख्य प्रभाव निम्त्याउन सक्ने कदम हो,’ फिच रेटिङ्सका अमेरिकी आर्थिक अनुसन्धान प्रमुख ओलु सोनोलाले भनेका छन्, ‘धेरै देशहरू मन्दीमा जान सक्ने प्रबल सम्भावना देखिन्छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...