मुख्य समाचार
अस्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक स्टुअर्ट ललाई नेपालको पुरुष टिमको प्रशिक्षकमा नियुक्त
अस्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक स्टुअर्ट ललाई नेपालको पुरुष टिमको प्रशिक्षकमा नियुक्त

। नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक स्टुअर्ट ललाई नेपालको पुरुष टिमको प्रशिक्षकमा नियुक्त गरेको छ ।

गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्टको इन्ट्री भएको हो ।




७० जना आवेदकमध्ये १० जनालाई सर्टलिस्ट गर्दै अन्तिम चरणको अन्तर्वार्तापछि स्टुअर्ट ललाई छनोट गरिएको हो । चर्चित पूर्वखेलाडी तथा प्रशिक्षकहरू र नेपालकै प्रशिक्षक रहिसकेका केही नामहरूको चर्चाका बीच स्टुअर्ट लको नेपाली क्रिकेटमा आगमन भएको छ ।






उनीसँग प्रशिक्षकको दाबेदार रहेका अन्य नामहरू भने खुलाइएको छैन । ‘उहाँ राम्रो अनि अनुभवी भएर, नेपाली क्रिकेटलाई अगाडि बढाउन सक्ने क्षमता भएर छनोट गरिएको हो’ क्यान स्रोतले भनेको छ ।

नेपाली क्रिकेट टोलीमा प्रशिक्षण गर्ने उनी दोस्रो अस्ट्रेलियन हुनेछन् । यसअघि सन् २०२१ मा डेभ वाटमोर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।

अस्ट्रेलियाका लागि धेरै अन्तर्राष्ट्रिय खेलमा मौका नपाएका तर घरेलु क्रिकेटमा अब्बल रहेका स्टुअर्ट लको पछिल्लो अनुभव केकस्तो छ त ? आज कुरा गर्नेछौं ।

घरेलु क्रिकेटमा उत्कृष्ट

स्टुअर्ट ललाई अन्तर्राष्ट्रिय क्रिकेटमा अवसर नपाएका दुर्भाग्यशाली खेलाडीहरूमध्ये एक मानिन्छ। सन् १९९५ मा श्रीलंकाविरुद्ध खेलेको आफ्नो एक मात्र टेस्ट खेलमा उनले अविजित ५४ रन बनाएका थिए।

तर, त्यस समय अष्ट्रेलियाको बलियो ब्याटिङ लाइनअप (स्टिभ व, मार्क व, रिकी पोन्टिङ, डेमियन मार्टिन)का कारण उनले लगातार अवसर भने पाउन सकेनन्।

ओडिआई क्रिकेटमा उनले सन् १९९४ देखि १९९९ सम्म ५४ खेल खेलेर १२३७ रन बनाए जसमा एक शतक पनि समावेश छ। उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलियाको टोलीमा रहेका थिए, जहाँ अष्ट्रेलिया उपविजेता बनेको थियो।



अन्तर्राष्ट्रिय करियर छोटो रहेपनि घरेलु क्रिकेटमा भने उनको प्रदर्शन शानदार रह्यो। उनले क्विन्सल्यान्ड टिमको कप्तानी गर्दै पाँच पटक शेफिल्ड शिल्डको उपाधि जिताएका थिए।

इंग्ल्यान्डको काउन्टी क्रिकेटमा उनले एसेक्स र लान्साशायरको प्रतिनिधित्व गर्दै शानदार प्रदर्शन गरेका थिए । २७ हजारभन्दा बढी फर्स्ट क्लास रन र ७९ शतकसहित उनले घरेलु क्रिकेटमा भने गहिरो छाप छोडेका छन्।

प्रशिक्षकको रूपमा विश्व यात्रा

खेल जीवनबाट सन्यास लिएपछि स्टुअर्टले प्रशिक्षकको रूपमा नयाँ अध्याय सुरु गरे। उनी एक घुमन्ते प्रशिक्षका रूपमा परिचित छन्, जसले विभिन्न देशका क्रिकेट टिमहरूलाई प्रशिक्षण दिएका छन्।

उनले बंगलादेश, अफगानिस्तान, वेस्ट इन्डिज, अमेरिकालगायत टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् भने श्रीलंकाको सहायक तथा अन्तरिम मुख्य प्रशिक्षक, मिडलसेक्स टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी लिइसकेका छन्। अब उनको यो यात्रामा नेपाली क्रिकेट टिम समावेश हुनेछ ।

विशेषगरी कमजोर टिमलाई सुधार्दै नयाँ उचाइमा पुर्‍याउने खुबीका लागि परिचित स्टुअर्टले उल्लेखित टिमबाट विभिन्न सफलताहरू हासिल गरेका छन् । संघर्षरत टिमहरूलाई सुधार्दै सफलता दिलाउने प्रशिक्षकका रूपमा चिनिने उनले आफ्नो प्रशिक्षकीय यात्रामा विभिन्न उदीयमान क्रिकेट टिमहरूको स्तर उकास्न उल्लेखनीय भूमिका खेलेका छन्।

सन् २०११ को एकदिवसीय विश्वकपमा श्रीलंका फाइनलमा पुग्दा उनी टिमका सहायक प्रशिक्षक थिए ।

सन् २०१२ मा स्टुअर्ट लको प्रशिक्षणमा बंगलादेशले ऐतिहासिक सफलता हात पार्‍यो । उनको नेतृत्वमा बंगलादेश पहिलो पटक एसिया कपको फाइनलसम्म पुग्यो जुन टिमको लागि ठूलो उपलब्धि थियो। यो उपलब्धिले बंगलादेशलाई अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ पहिचान दिलाएको थियो ।



बंगलादेशका पूर्व कप्तान मोहम्मद अशरफुलले पनि उनको बारेमा बोल्दै भनेका थिए, ‘लले कहिल्यै हामीलाई प्रविधि (टेक्निक) परिवर्तन गर्न दबाब दिएनन्। उनले खेलाडीहरूलाई आफूले भएको सीपमा विश्वास गर्न सिकाए।’ उनको यही प्रशिक्षण शैलीले बंगलादेशी खेलाडीहरूलाई आत्मविश्वास जगाइदियो र उनीहरूको खेल सुधार गर्न ठूलो मद्दत गर्‍यो।

त्यस्तै सन् २०१७ मा स्टुअर्टकै प्रशिक्षणमा वेस्ट इन्डिजले आधुनिक क्रिकेट इतिहासकै एक चर्चित टेस्ट जित हात पारेको थियो। इंग्ल्यान्डको हेडिङ्ली मैदानमा वेस्ट इन्डिजले शानदार प्रदर्शन गर्दै टेस्ट जित हासिल गर्‍यो। यो जित विशेष महत्त्वपूर्ण मानिन्छ किनभने वेस्ट इन्डिज त्यसबखतका वर्षहरूमा टेस्ट क्रिकेटमा संघर्षरत टिमका रूपमा थियो।

त्यस्तै गतवर्ष भएको आईसीसी टी-२० विश्वकपमा उनकै प्रशिक्षणमा खेल्दै अमेरिकाले उच्च प्रदर्शन गरेको थियो । पाकिस्तानलाई हराउन सफल अमेरिकी टोली सुपर आठमै पुग्दै आगामी संस्करणका लागि सोझै छनोट भएको छ ।

प्रशिक्षण शैली

स्टुअर्ट लको प्रशिक्षण शैलीलाई तीन प्रमुख विशेषताले परिभाषित गर्छ । उनले खेलाडीहरूको शारीरिक तन्दुरुस्तीमा विशेष ध्यान दिने गर्छन् । फिटनेसलाई प्रमुख विषय मान्ने उनले फिटनेस भएमात्र अन्य फ्याक्टरमा सहयोग पुग्ने विश्वास राख्छन् ।

त्यस्तै खेलाडीहरूको मोटिभेसनदेखि अनुशासनमा पनि उनले विशेष नियम बनाएका हुन्छन् । खेलाडीको मेन्टालिटीदेखि खेलप्रतिको प्रतिबद्धता बढाउने कुरामा पनि उनी चान्स लिने गर्दैनन् । यो कुरा बंगलादेशी क्रिकेटको त्यो सफलता र खेलाडीहरूको भनाइबाट पनि बुझ्न सकिन्छ ।

घरेलु क्रिकेटमा अब्बल रहेपनि अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै अवसर नपाएका स्टुअर्टले विभिन्न अन्तर्राष्ट्रिय टोलीहरूको प्रशिक्षण गरिसकेका छन् र यो अनुभवले फाइदा नेपाली क्रिकेटलाई हुनेछ ।
त्यस्तै उनलले युवा खेलाडीलाई स्वतन्त्रता दिने गर्छन् । उनीहरूको मौलिक खेल शैली कायम राख्दै त्यसैमार्फत आत्मविश्वास जगाउने काम स्टुअर्टले गर्न सक्छन् ।

उनको यस प्रशिक्षण शैलीले हाल टिममा देखिएका कमीकमजोरीहरू कम गराउँदै आगामी दिनमा नेपाली क्रिकेट टोलीमा थप निखार ल्याउन सक्छ ।

नेपाली टोलीमा भूमिका

नेपाल क्रिकेट पछिल्ला वर्षहरूमा सुधार गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गरिरहेको छ। यद्यपी राम्रो लय निरन्तरता दिन नसक्दा नेपाली टोली संघर्षरत अवस्थाबाट पनि बाहिर निस्कन भने सकेको छैन ।

यस अवस्थामा बंगलादेश, वेस्ट इन्डिज, अमेरिकाजस्ता टिमहरूसँग काम गरिसकेका स्टुअर्ट ल नेपालका लागि उत्कृष्ट प्रशिक्षक हुनसक्छन्। एसियाली परिस्थितिमा उनको अनुभव नेपालका खेलाडीहरूका लागि महत्वपूर्ण सावित हुन सक्छ।



विशेषगरी उनले विश्वका विभिन्न राष्ट्रिय टोली तथा काउन्टी क्रिकेटका टोलीको प्रशिक्षण गरिसकेकाले उनलाई धेरै ठाउँको कन्डिशनबारे राम्रो जानकारी हुन्छ । त्यसकारण नेपाली क्रिकेट टिमले बाहिर गएर खेल्ने खेलहरूमा रणनीति बनाउन स्टुअर्ट अब्बल साबित हुन सक्छन् ।

त्यस्तै उनी आफैं पनि उत्कृष्ट घरेलु करियर बोकेका एक विशेषज्ञ ब्याटर रहिसकेकाले नेपालको पछिल्लो समय ब्याटिङमा देखिएको समस्याको समाधान हुनेछ भन्ने सकारात्मक पक्ष हुन सक्छ ।

टिमको रणनीतिक सुधार, युवा खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि र खेलको स्तर उकास्न उनले ठोस भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाली क्रिकेटको आगामी यात्रा

गत नोभेम्बरदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेको नेपाली क्रिकेट टोलीका लागि यस वर्ष केही महत्वपूर्ण प्रतियोगिता तथा शृंखलाहरूले पर्खिरहेका छन् ।

विशेषगरी नेपालका लागि सन् २०२५ को प्रमुख लक्ष्यका रूपमा आईसीसी टी-२० विश्वकपमा छनोट हुनु र आईसीसी विश्वकप लिग २ मा धेरैभन्दा धेरै खेल जित्नु नै हुनेछ ।

नेपालले अप्रिल दोस्रो साता कतारमा गएर चार देशीय टी-२०आई शृंखला खेल्ने तय छ । यो आईसीसी टी-२० विश्वकप छनोटको तयारीस्वरुप रहनेछ ।

त्यस्तै मे महिनामा युके गएर अभ्यास गर्ने छ जुन एकदिवसीय विश्वकपको आधार समेत मानिने लिग २ क्रिकेटको तयारीस्वरुप रहनेछ ।

जुनमा स्कटल्याण्डसँग टी-२०आई शृंखला खेल्ने छ । जुलाईमा श्रीलंका गएर तयारी क्याम्पमा सहभागी हुनेछ भने अगस्टमा तयारी क्याम्पसँगै अस्ट्रेलियाको नर्थन टेरीटोरीमा गएर टप एन्ड टुर्नामेन्ट खेल्ने टिमहरूसँग खेल खेल्नेछ जहाँ बंगलादेश, पाकिस्तानका ए टिमसहित बिग ब्यास टिमको खेलाडीहरू पनि समावेश भएको टोलीहरू हुनेछन् ।

त्यस्तै लगत्तै सेप्टेम्बरमा पूर्ण मान्यता प्राप्त टिमसँग यूएईमा गएर टी-२०आई शृंखला पनि नेपालले खेल्ने छ । यो सबै खेलहरू अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि फलदायी हुने क्यानको विश्वास छ ।

त्यसैअनुसार स्टुअर्टले रणनीति निर्माण गर्ने छन् । स्टुअर्टको प्रशिक्षणमा केकस्ता संकेत देखिन्छन् त्यो भने अब आउँदै गरेको शृंखला र प्रतियोगिताहरूमा नेपाली टोलीबाट हुने प्रदर्शनबाट अवश्य थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...