मुख्य समाचार
निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न
निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न

: देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ।


धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई गत असारबाट सञ्चालनमा आइसकेको छ।

ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जङ्गलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालनमा (चार्ज) ल्याइएको छ। हाल चालू रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई उक्त स्थानमा ट्यापिङ गरी बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको हो।



प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन हाल रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सम्पन्न भएको ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएको बताए।
‘हिउँदयाममा हाल देखिएको ऊर्जा अभावलाई समाधान गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत् भारतबाट आयात गर्न सकिन्छ। यसबाट कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी जस्ता अर्धजलाशययुक्त आयोजनाको पानी दिउँसो जम्मा गरी साँझको पिक र राती चलाउन सकिन्छ। यसबाट ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुनेछ’, घिसिङले भने।

‘वर्षायाम सुरु भएपछि देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् पश्चिमबाट ढल्केबरतर्फ प्रवाह गरी भारतमा हुने विद्युत् निर्यातको परिमाण बढाउन सकिन्छ। साथै हाल चालू रहेको १३२ केभी प्रसारण लाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम अगाडि बढाउन सहज भएको छ।’

प्राधिकरणले मकवानपुरको हेटौंडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)को काम गरिरहेको छ। पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गर्न हेटौंडादेखि ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको हो।

यसमध्ये हेटौंडाबाट बाराको पिलुवा सबस्टेसनसम्मको दुबै सर्किटको तार पर्ने काम सम्पन्न भइसकेको छ। ढल्केबरबाट सर्लाहीको लालबन्दीसम्मको एउटा सर्किटको काम सम्पन्न भएको छ। स्थानीयको अवरोधका कारण लालबन्दीभन्दा अगाडि तार फेर्ने काम रोकिएको छ।

तार फेर्न लाइन बन्द (सट डाउन) गर्नुपर्ने र यसले गर्दा त्यस क्षेत्रको विद्युत् आपूर्ति नै प्रभावित हुने भएकाले काम अगाडि बढ्न सकेको थिएन। अब ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएकाले उक्त लाइनबाट विद्युत प्रवाह गरी तार फेर्ने काम अगाडि बढाउन सकिने भएको हो।

अहिले पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४ सय मेगावाट प्रवाह हुन्छ। यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युतलाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युतलाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्मको २ सय ८८ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो। प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ। यसमध्ये ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ।

यस खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडाहरू १५, १६ तथा १७ स्थिति हटिया क्षेत्रका केही स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै करिब ८ वर्षदेखि निर्माणमा अवरोध गरिरहेका छन्। हटिया क्षेत्रमा १६ वटा र हेटौँडा–११ स्थित थानाभर्‍याङमा २ वटा गरी १८ वटा टावर निर्माण गर्न बाँकी छन्। बाँकी २ वटा टावर निर्माणाधीन छन्।

आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो। विश्व बैंकको ऋण अवधि सकिएपछि बाँकी काम हाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् । शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना ...
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...