मुख्य समाचार
युक्रेनी ऊर्जा पूर्वाधारमा ३० दिन आक्रमण रोक्न पुटिन सहमत
युक्रेनी ऊर्जा पूर्वाधारमा ३० दिन आक्रमण रोक्न पुटिन सहमत

— रुसले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसका लागि सहमत भएका हुन् ।

तर पुटिनले ३० दिने युद्धविरामको अवधिमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने बताएका छन् । त्यस्तै, ट्रम्प र पुटिनबीच 'ब्ल्याक सी'मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।


दुई राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा बुधबारदेखि रुस र युक्रेनले १ सय ७५ युद्धबन्दीहरू साटासाट गर्ने सहमति भएको छ । त्यसमा रुसले आफ्नो देशमा उपचार भइरहेका गम्भीर घाइते २३ युक्रेनी सैनिकहरू हस्तान्तरण गर्नेछ ।

दुवै राष्ट्रपतिले मध्यपूर्वमा भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्न सम्भावित सहयोगबारे पनि छलफल गरेका सीएनएनले जनाएको छ । वार्ताका क्रममा 'रणनीतिक हतियारको प्रसार रोक्नु आवश्यक भएको' विषयमा कुराकानी भएको छ । त्यस्तै, ट्रम्प र पुटिनबीच इरानले इजरायललाई ध्वस्त पार्ने उद्देश्य राख्न नहुनेमा पनि सहमति भएको छ ।

दुई नेताहरूबीचको फोन वार्तापछि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले रुसी राष्ट्रपति पुटिनले राखेको अमेरिका-रूस हक्की खेल आयोजना गर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन गरेको जनाएको छ । 'डोनाल्ड ट्रम्पले एनएचएल र केएचएलमा खेल्ने रुसी र अमेरिकी खेलाडीबीच अमेरिका र रूसमा हक्की खेल आयोजना गर्ने भ्लादिमिर पुटिनको विचारलाई समर्थन गर्नुभएको छ,' क्रेमलिनले भनेको छ ।

ट्रम्पसँगको वार्ताअघि पुटिनले रुसमाथि पश्चिमा देशहरूले लगाएका प्रतिबन्धहरूको विरोध गरेका थिए । रुसी उद्योगपति तथा उद्यमी संघको बैठकलाई सम्बोधन गर्दै पुटिनले रुसमाथि लगाइएका प्रतिबन्धहरू ‘अवैध’ भएको बताए । ‘प्रतिस्पर्धीहरूले सधैं रुसलाई घेर्न र आर्थिक तथा प्राविधिक सम्भावनालाई कमजोर पार्न चाहने’ पुटिनको भनाइ छ ।

यसअघि दुई नेताबीच १२ फेब्रुअरीमा टेलिफोन कुराकानी भएको थियो । वार्तामा दुई नेताबीच युद्ध अन्त्य गर्नेदेखि एकअर्काको देश भ्रमण गर्नेसम्मका विषयमा छलफल भएको थियो । ९० मिनेट लामो टेलिफोन वार्तामा दुवै राष्ट्रपति युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरू गर्ने सहमतिमा पुगेका थिए ।



राष्ट्रपति ट्रम्पले रुसी समकक्षीसँगको कुराकानी लामो र निकै फलदायी भएको प्रतिक्रिया दिएका थिए । कुराकानीका क्रममा दुवै राष्ट्रपतिले एकअर्कालाई आ-आफ्ना देशको भ्रमणका लागि निम्ता पनि दिएका छन् ।

दुई नेताबीचको वार्ता भएको एक सातामा रुस र अमेरिकाबीच साउदी अरबमा विदेश मन्त्रीस्तरीय वार्तासमेत भइसकेको छ । साउदी अरबको वार्तामा दुई देशबीच युद्ध अन्त्य गर्न उच्चस्तरीय टोलीबीच वार्ता गर्ने सहमति भइसकेको छ ।

वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र रुसी राष्ट्रपति पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी थिए । त्यस्तै, विदेशमन्त्री मार्को रुबियोले नेतृत्व गरेको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ सहभागी थिए ।

वार्तामा साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवानसमेत उपस्थित थिए । वार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री रुबियोले वार्तामा कसैलाई पनि किनारा नलगाइएको बताएका थिए । रुसी विदेशमन्त्री लाभरोभले दुई पक्षबीच निकै उपयोगी कुराकानी भएको प्रतिक्रया दिएका थिए ।

वार्तामा सहभागी नगराएको भन्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशको सहभागिताबिना हुने कुनै पनि वार्ता अमान्य हुने बताएका थिए । तर अमेरिकासँगको अनौपचारिक वार्तापछि खनिज सम्झौताका लागि अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउस पुगेका थिए । तर जेलेन्स्कीको अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको चर्काचर्कीपछि सम्झौताबिना नै फर्केका थिए ।

तर युक्रेनलाई दिँदै आएको सैन्यलगायत सहयोग रोक्ने ट्रम्प प्रशासनको कदमपछि दबाबमा परेका राष्ट्रपति जेलेन्स्की अमेरिकासँग वार्ताका लागि तयार भएका थिए । जसका कारण दुई देशबीच ११ मार्चमा युक्रेनसँग साउदी अरबमै वार्ता भएको थियो ।

वार्तमा दुई देशबीचको वार्तामा युक्रेन एक महिनाका लागि युद्धविराम गर्न सहमत भएको थियो । साउदी वार्तामा युक्रेनले रुससँग जमिन, समुद्र र आकाशमा ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्वीकार गरेको थियो । तर उक्त प्रस्ताव रुसले भने अस्वीकार गरिसकेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले अस्थायी युद्धविरामले युक्रेनलाई पुनः संगठित हुने मौका दिने भन्दै अस्वीकार गरेका हुन् । रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको उनको भनाइ छ । त्यस्तै, रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका थिए ।

रुसी प्रतिक्रियापछि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेषदूत स्टिभ विटकफले रुसी राजधानी मस्कोमा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरिसकेका छन् । विटकफले पुटिनसँगको बैठकमा धेरै प्रगति भएको बताएका थिए । त्यसलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामको सम्भावनाबारे ‘सकारात्मक सन्देश’ प्राप्त गरेको बताएका छन् ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी गरेपछि २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता रुसले युक्रेनको करिब २० प्रतिशत भूभागमा नियन्त्रण लिइसकेको छ । पूर्णस्तरको आक्रमणयता युक्रेनका दोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिजा गरी चार क्षेत्र रुसको नियन्त्रणमा पुगेका छन् । रुसले नियन्त्रणमा लिएको जापोरिजामा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्। बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्। संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको ...
। जर्मनीको चरम-दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पूर्वी राज्य सक्सोनी-आनहाल्टको राज्य चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। एक्जिट पोल र प्रारम्भिक नतिजाअनुसार एएफडीले करिब ४४ प्रतिशत भोट प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित भएको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक कुनै चरम-दक्षिणपन्थी पार्टी जर्मन राज्यस्तरमा सत्ताको यति नजिक पुगेको हो। यो नतिजा चान्सलर फ्रेडरिक मर्ज ...
। इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब एक लाख ७० हजार यात्रु अलपत्र परेका छन् । ज्वालामुखीको खरानीका कारण ती विमानस्थलबाट हुने उडानहरू अस्थायी रूपमा रोकिएको छ । आइतबार बिहान राजधानी जकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थल आसपासको हवाई क्षेत्रमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि यस्तो निर्णय गरिएको हो। इन्डोनेसियाको यातायात ...
। इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले इरानी सेनाको शक्तिशाली जवाफबाट अमेरिका र उसका सहयोगीहरू हताश अवस्थामा पुगेको दाबी गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘इरानी सैन्य बलले अमेरिकी ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेपछि अमेरिका र उसका सहयोगी देशहरू हताश अवस्थामा पुगेका छन्,’ गालिबाफले भनेका छन् । उनले विरोधी पक्षले नाराका ...