मुख्य समाचार
चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक
चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक

— तीन महिनाअघि ‘डिपसिक’ सार्वजनिक हुँदा यो एआई प्लाटफर्म, अमेरिकी कम्पनी ओपेनएआईको च्याटजीपीटीभन्दा सस्तो लागत र न्यून कम्प्युटिङ पावरमा निमार्ण गरिएको भनेर व्यापक चर्चा भयो । त्यसयता चीनमा डिपसिकभन्दा पनि सस्तो लगानीमा बनाइएका एआई टुलहरू एकपछि अर्को गर्दै धमाधम सार्वजनिक भइरहेका छन् ।

सोमबार मात्रै चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । बाइडुको अर्नी ४.५ र अर्नी एक्स वान मोडेल डिपसिकको आर वान मोडेललाई टक्कर दिने गरी तयार गरिएको छ। चिनियाँ सूचना प्रविधि कम्पनी बाइडुको दाबीअनुसार यी मोडेलहरू डिपसिकको आर वानजत्तिकै सशक्त छन् भने आर वानको तुलनामा आधा लागतमा निर्माण गरिएको छ ।


ग्लोबल टाइम्सका अनुसार नयाँ एआई मोडलहरू सार्वजनिक गर्नेमा बाइडु एक्लो छैन । यसअघि मार्च ६ मा अलिबाबा क्लाउडले तोङ्गयी क्विनयेन क्यु डब्लु क्यु- ३२ बी नामक ओपेन-सोर्स मोडल सार्वजनिक गरेको थियो । हिसाब-किताब, कोडिङ र जेनेरल क्यापाबिलिटिजमा यसले डिपसिकको आर वानसरह परफर्समेन्स दिने अलिबाबाको दाबी छ । अर्को ठूलो प्रविधि कम्पनी टेन्सेन्टले फेब्रुअरि २७ मा हुन्युआन टर्बो एस नामक एआई मोडल सार्वजनिक गरेको थियो ।

चीनमा अहिले स्थानीय कम्पनीहरूबीच एआई प्रविधिमा प्रतिस्पर्धा बढ्दै गएको छ । यस प्रतिस्पर्धामा अलीबाबा, टेन्सेन्ट, बाइडु, बाइटडान्सजस्ता ठूला प्रविधि कम्पनीसँगै कयौँ नयाँ स्टार्टअपहरूको पनि लहर छ । यी कम्पनीहरूमा विशेषगरी चीनका ‘सिक्स टाइगर्स अफ एआई’ (एआईका ६ ठूला कम्पनी) भनिने स्टेपफन, जिपु एआई, मिनिम्याक्स, मुनसट, ०१. एआई र बाइचुवानबीच प्रतिस्पर्धा देखिन्छ । यी कम्पनीहरू फाउन्डेसनल मोडेलहरूदेखि उपभोक्ता-केन्द्रित एप्लिकेसनहरूमा नयाँ-नयाँ पहल गर्दै आएका छन् ।

सन् २०२३ मा सांघाइमा स्थापना भएको स्टेपफन एआईलाई अडियो र भिडियो जेनेरेसनमा ‘अर्को डिपसिक’ का रूपमा लिने गरिएको छ । एक ट्रिलियनभन्दा बढी प्यारामिटरहरूसहित निर्माण गरिएको यसको स्टेप-२ नामक ल्यांग्वेज मोडेललाई विश्वकै शीर्ष मोडेलहरूमा गनिन्छ । कम्पनीले आर्टिफिसियल जेनेरेल इन्टेलिजेन्स (एजीआई) मा समेत अनुसन्धान गरिरहेको छ । स्टेपफनले अडियो च्याट, टेक्स्ट टु स्पिच, टेक्स्ट टु भिडियो मोडलहरू विकास गरेको छ ।

Sunrise bank
Nepal Life Insurance

Chinese companies releasing AI models one after the other

त्यस्तै, सन् २०१९ मा बेइजिङमा स्थापना भएको अर्को चर्चित चिनियाँ एआई कम्पनी ‘जिपु’ ले सन् २०२२ मा चीनको पहिलो सेल्फ-ट्रेन्ड लार्ज ल्या‌ंग्वेज मोडल विकास गरेको थियो । यसको च्याटबट एप ‘च्याट जीएलएम’का साँढे २ करोडभन्दा बढी प्रयोगकर्ता छन् । जिपु एआईलाई ओपेनएआईको चिनियाँ विकल्पका रूपमा लिने गरिएको छ । रोयटर्सका अनुसार गत जनवरीमा यस कम्पनीलाई अमेरिकाले कालो सूचीमा राखेर कुनै पनि अमेरिकी उत्पादन जिपुले खरिद गर्न नमिल्ने बनाइदिएको थियो । लगत्तै चीन सरकार मातहतको हुआफा समूहले जिपुलाई ५ सय मिलियन युआन (करिब ६ करोड ९० लाख डलर) लगानी उपलब्ध गराएको थियो ।



चीनमा डिपसिक, म्यानसजस्ता स्टार्टअप कम्पनी र एआई प्लाटफर्महरू पनि आफ्नो पहिचान बनाउन सफल भएका छन् । एआई प्रविधिलाई नभइ नहुने सेमिकन्डक्टर चिपमा अमेरिकाको प्रतिबन्ध र फाउन्डेसनल मोडेल प्रशिक्षणमा लाग्ने उच्च लागतजस्ता अवरोधहरूले कम्पनीहरूलाई सिर्जनशील बन्न प्रेरित गरिरहेका छन् । कम्पनीहरूलाई पछिल्लो समय चीन सरकार र राष्ट्रपति सी चिनफिङले पनि पर्याप्त हौसला प्रदान गर्दै आएका छन् ।

बीबीसीका प्रविधि पत्रकार टम सिंगलटनले कुनै बेला प्रविधि कम्पनीहरूमाथि कडाइ गरेका राष्ट्रपति चिनफिङले कसरी अहिले पुन: साथ दिइरहेका छन् भन्नेबारे विश्लेषणात्मक समाचार लेखेका छन् । उनका अनुसार गत फेब्रुअरीमा अमेरिकी ओभल अफिसमा डोनाल्ड ट्रम्पको छेउमा प्रविधि धनाढ्य इलन मस्क उभिएर बोलेको विषयमा विश्वको ध्यान गइरहँदा त्यही समय आसपास बेइजिङको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति चिनफिङले अलिबाबाका संस्थापक ज्याक मालाई छेउमा राखेर बैठक गरेका थिए ।

Chinese companies releasing AI models one after the other

फेब्रुअरी १७ मा बेइजिङमा प्रविधि क्षेत्रका उद्यमीहरूसँगको बैठकका क्रममा हुवावेका प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फेईसँग हात मिलाउँदै राष्ट्रपति सि चिनफिङ । तस्बिर : सिन्ह्वा/एपी
चिनियाँ प्रविधि उद्योगका ठूला व्यवसायीहरू उपस्थित उक्त बैठकमा राष्ट्रपति चिनफिङले उनीहरूलाई ‘आफ्नो क्षमता देखाउन’ अनुरोध गरेका थिए । कोभिड महामारीपश्चात सुस्ताएको चिनियाँ अर्थतन्त्रलाई माथि उठाउन प्रविधि कम्पनीहरूको सहायता खोजिरहेको चीन सरकारले कम्पनी र स्टार्टअपहरूलाई खुलेरै मद्दत गर्दा यो उल्टै प्रत्युत्पादक त हुँदैन भन्ने प्रश्न पत्रकार सिंगलटनको छ । उनले हुवावे र टिकटकको उदहारण दिँदै प्रविधि कम्पनीमा चीन सरकारको साथ देखिँदा डेटा सुरक्षा र गोपनीयताको श‌ंका उब्जिएर ती निकै समस्यामा परेको उनले उल्लेख गरेका छन् ।

‘सरकारले दिइरहेको साथसँगै प्राप्त हुने अतिरिक्त लगानीका कारण भविष्यमा चिनियाँ कम्पनीहरूले एआईमा थप उन्नत प्रगति हासिल गर्न सक्छन्,’ पत्रकार सिंगलटनको निचोड छ, ‘त्यो बेला धेरैलाई अहिले ओभल अफिसतिर ध्यान दिनुको सट्टा ग्रेट हल अफ पिपलतिर ध्यान दिएको भए हुन्थ्यो भन्ने लाग्न सक्छ ।’

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरब, टर्की र पाकिस्तानले त्रिपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । साउदी अरबको मक्का सहरमा शुक्रबार तीनै देशले सम्झौतामा हस्ताक्षर गरेका हुन् । पाकिस्तानको परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार तीनै देशका नेताहरूले एउटा सम्मेलनका क्रममा यो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्नेहरूमा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति ...
: थाइल्यान्डको एक विद्यालयमा अन्धाधुन्ध गोलीप्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आंशकामा १४ वर्षीय एक विद्यार्थीको पहिचान गरिएको छ। शुक्रबार राजधानी बैंकक नजिकै रहेको नन्थाबुरी जिल्लास्थित एक माध्यमिक विद्यालयमा उक्त दुखद् घटना घटेको हो। प्रत्यक्षदर्शीका अनुसार कक्षाका गतिविधि सञ्चालन भइरहेका बेला अचानक गोलीको आवाज सुनिएपछि विद्यार्थी तथा शिक्षकहरूबीच ...
: इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूलाई एकजुट हुन अपिल गरेको छ। इरानी विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, 'इरानको शक्तिशाली सेनाले विश्वकै सबैभन्दा महँगो सेनाको अगाडि आफ्नो तयारी, क्षमता र तागतको प्रदर्शन गरेको छ।' उनले अगाडि लेखेका छन्,'यदि मुस्लिमहरू एकजुट रहे भने हामी बाह्य शक्तिहरूको दुराशयपूर्ण हरेक चुनौतीको दृढताका साथ सामना ...
: अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना बढ्दै गएको छ । जसले मध्यपूर्वको सबैभन्दा जोखिमपूर्ण तनाव क्षेत्रमध्ये एक हर्मुज जलडमरूमध्य पुनः खोल्न सक्ने आशा बढाएको छ । प्रस्तावित सम्झौता केही सातादेखि चलिरहेको वार्ताको परिणाम हो । यसको उद्देश्य जुन १७ मा भएको अमेरिका–इरान युद्धविराम पुनःस्थापित गर्नु, विश्वको तेल आपूर्तिको करिब पाँच भागमध्ये एक हिस्सा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दिइँदै आएको जन्मसिद्ध नागरिकताको प्रावधानलाई कडाइ गर्ने उद्देश्यले पुनः दुईवटा नयाँ कार्यकारी आदेश जारी गरेका छन्। सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि नै ट्रम्प प्रशासनले यो नयाँ कानूनी रणनीति अपनाएको हो। ह्वाइट हाउसस्थित राष्ट्रपति कार्यालयबाट जारी गरिएका दुई आदेशमध्ये पहिलो आदेशले गैर-अमेरिकी नागरिकका ...