मुख्य समाचार
अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ मारिए
अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ मारिए

— अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।


अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले सामाजिक सञ्जाल एक्समा ‘पाँच बालबालिका र दुई महिलासहित ५३ जनाको ज्यान गएको’ बताएका छन् । उनका अनुसार ९८ जना घाइते भएका छन् ।


अमेरिकाले आक्रमणमा केही प्रमुख हुथी नेताहरू मारिएको दाबी गरेको छ । तर यसबारे हुथी समूहले कुनै पुस्टि गरेको छैन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबीसी न्युजसँग अमेरिकी आक्रमणमा ‘धेरै हुथी नेतालाई लक्षित गरिएको’ जनाएका छन् । ‘हामीले उनीहरूलाई अत्यधिक बल प्रयोग गरेर प्रहार गर्‍यौं र इरानलाई अब अति भयो भनेर कडा चेतावनी दियौं,’ उनले भने । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हुथी आक्रमणहरू बन्द नभएसम्म अमेरिकाले कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।

लाल सागरमा पानीजहाजमाथि आक्रमण गरेका कारण हुथीविरुद्ध कारबाही सुरु गर्नुपरेको ट्रम्पको भनाइ छ । ‘हुथीले इरानको आर्थिक सहयोगमा अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् । हाम्रा सेना र सहयोगीलाई लक्षित गरेका छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् । हुथीको ‘डकैती, हिंसा र आतंकवादका कारण अर्बौं डलर खर्च भएको र धेरैको जीवन जोखिममा पारेको’ ट्रम्पको भनाइ छ ।

गाजामा इजरायल र हमासबीचको युद्धको प्रतिक्रियामा लाल सागरबाट हुने ढुवानीलाई लक्षित गर्न थालेको हुथी समूहले अमेरिकी आक्रमणको जवाफ दिने बताएको छ । हुथी विद्रोहीहरूको गढ रहेको साना र उत्तरी प्रान्त सादामा शनिबार साँझ श्रृंखलाबद्ध विस्फोटहरू भएको हुथीहरूले जनाएका छन् । उनीहरूको गढ रहेको सादा साउदी अरबको सिमाक्षेत्रमा पर्छ ।

इजरायललाई आफ्नो शत्रु मान्ने इरान समर्थित विद्रोही हुथीले साना र यमनको उत्तर-पश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ । तर यो यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार भने होइन । हुथी समूहले जारी गरेको विज्ञप्तीमा यमनको राजधानी सानामा आवासीय क्षेत्रलाई लक्ष्य गर्दै दुष्ट आक्रमण भएको र त्यसका लागि अमेरिका र बेलायतलाई दोष लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...