मुख्य समाचार
चन्द्रमामा नोकियाको फोरजी सेलुलर नेटवर्क सञ्चालनमा, फोन कल भने हुन सकेन
चन्द्रमामा नोकियाको फोरजी सेलुलर नेटवर्क सञ्चालनमा, फोन कल भने हुन सकेन

— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा विवरण पठाउन सकेको कम्पनीको दाबी छ ।


पर्याप्त सौर्य ऊर्जा नपुगेकाले भ्वाइस कल सेवामा भने सफलता हासिल गर्न नपाएको भन्दै कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले इन्ट्युइसिभ मसिन्ससँगको साझेदारीमा चन्द्रमामा पहिलोपटक मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको हो । तर, उल्लेख्य मात्रामा ऊर्जा नपुगेकाले कम्पनीले सेलुलर कल गर्न नसिकिएको विज्ञप्तिमा जनाएको छ ।


विश्वभरका दूरसञ्चार सेवा प्रदायकको संस्था ‘जीएसएमए’ मातहतको मोबाइल वर्ल्ड लाइभका अनुसार नोकियाको यो उपलब्धि अपेक्षित नै थियो किनभने कम्पनीले सन् २०२५ को सुरुवातमै आफ्नो मोबाइल नेटवर्क अन्तरिक्ष मिसनका लागि तयार भएको घोषणा गरिसकेको थियो । नोकियाको ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई इन्ट्युइसिभ मसिन्सको ‘आईएम-२’ नामक ल्यान्डर एथेनामा यसअघि नै एकीकृत गरिएको थियो ।

यस उपलब्धिले भविष्यमा चन्द्रमामा हुने अन्तरिक्ष मिसनहरूलाई आवश्यक पर्ने सेलुलर सञ्चार प्रविधि सेवाका लागि बाटो खोलेको नोकियाको विश्लेषण छ । कम्पनीले यस परीक्षणमा सेलुलर कल सञ्चालन गर्न नसक्नुको मुख्य कारण एथेना ल्यान्डर चन्द्र सतहमा अवतरण गर्दा यसका सौर्य प्यानल अर्कै दिशातर्फ फर्किएपछि पर्याप्त सौर्य ऊर्जा नपुग्नुलाई जनाएको छ ।

लुनार सर्फेस कम्युनिकेसन सिस्टमले भने २५ मिनेटजति ऊर्जा प्राप्त गरेको हुँदा यस प्रणालीले डेटा आदान-प्रदानजस्ता विभिन्न परीक्षणहरू सफलतापूर्वक सम्पन्न गरेको नोकियाले जनाएको छ । नोकिया बेल ल्याब्सका अध्यक्ष थिएरी क्लिनले अन्तरिक्ष अन्वेषणमा साना र ठूला दुवै सफलताहरू हुने बताएका छन् । ‘हामीले पहिलो सेलुलर नेटवर्क चन्द्रमामा सञ्चालन गरेका छौं,’ उनले भनेका छन्, ‘कठिन परिस्थितिबीच प्राप्त उपलब्धिप्रति हामी अत्यन्तै गौरवान्वित छौं ।’

नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित यस परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गरेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर–जी/एलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।

चन्द्रमामा मोबाइल नेटवर्क विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च भएको र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवसहितको सतहमा महत्त्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रबन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...