मुख्य समाचार
युरोपका विभिन्न देशमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विशाल कारखाना निर्माण हुने
युरोपका विभिन्न देशमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विशाल कारखाना निर्माण हुने

— युरोपका विभिन्न देशमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विशाल कारखाना निर्माण हुने भएका छन् । एआई प्रविधिमा अमेरिका र चीनलाई पछ्याउने गरी युरोपले यस्ता गिगाफ्याक्ट्री बनाउन २० अर्ब डलर जुटाउन लागेको रोयटर्सले जनाएको छ । आगामी वर्षदेखि कारखाना स्थापनाको काम सुरु गरिँदै छ । तर यस्ता गिगाफ्याक्ट्रीको प्रयोजनबारे विज्ञले प्रश्न उठाएका छन् ।


युरोपेली आयोगको वेबसाइटमा राखिएको सूचनाअनुसार यस परियोजनाका लागि ‘द युरोपियन हाई पर्फमेन्स कम्प्युटिङ जोइन्ट अन्डरटेकिङ’ (युरो एचपीसी जेयू) साझेदारीमार्फत पहिला ७ र त्यसपछि ६ वटा गरी १३ स्थानमा एआई गिगाफ्याक्ट्री स्थापना गर्न लागिएको छ ।


फिनल्यान्ड, जर्मनी, ग्रिस, इटाली, लक्जेम्बर्ग, स्पेन, स्विडेन, अस्ट्रिया, बुल्गेरिया, फ्रान्स, पोल्यान्ड र स्लोभेनियाका विभिन्न ठाउँमा एआई कारखाना स्थापना गरिने युरो एचपीसी जेयूले जनाएको छ ।

एआई कारखाना स्थापनाका लागि छानिएका साइटमध्ये पाँच स्थान (फिनल्यान्ड, जर्मनी, इटाली, लक्जेम्बर्ग र स्विडेन) मा नयाँ एआई–अप्टिमाइज्ड सुपरकम्प्युटर राख्ने युरो एचपीसीको तयारी छ । स्पेनको एआई कारखानामा युरो एचपीसीले एक वर्षअघि सार्वजनिक गरेको ‘मारोनोस्ट्रम–५’ सुपरकम्प्युटर ‍‍स्तरोन्नति गरी सञ्चालन गरिनेछ । हाल यो सुपरकम्प्युटर बार्सिलोना सुपरकम्प्युटिङ सेन्टरमा राखिएको छ ।

ग्रिसमा पनि हाल सञ्चालनमा रहेको ‘डेइडालस’ सुपरकम्प्युटरकै स्तरोन्नति हुने गरी एआई कारखाना स्थापना र सञ्चालन गरिनेछ । फिनल्यान्ड र स्पेनका एआई कारखानामा एउटा प्रयोगात्मक प्लाटफर्मसमेत रहने र त्यसले नवीनतम एआई मोडलको विकास तथा परीक्षण गर्नुका साथै युरोपभर सहकार्यको प्रवर्द्धनका लागि अत्याधुनिक पूर्वाधार विस्तारमा काम गर्ने युरोपेली आयोगले जनाएको छ ।

Sunrise bank
Nepal Life Insurance

‘पहिलो चरणमा यी सात एआई कारखाना युरोपेली संघ र सदस्य राष्ट्रका स्थानीय स्रोतको संयोजनमार्फत स्थापना गरिँदै छन्,’ आयोगको वेबसाइटमा भनिएको छ, ‘यो परियोजनाले युरोपेली १७ देशको सहकार्यलाई प्रतिनिधित्व गर्छ । यसअन्तर्गत विभिन्न कन्सोर्टियमहरू बहुदेशीय साझेदारीमार्फत अघि बढ्नेछन् ।’

एआई कारखानाहरू विशेषतः एआई हबहरूको सञ्जाल निर्माण गर्ने उद्देश्यले अघि बढाइएको आयोगले जनाएको छ । यी हबले एआई स्टार्टअप, साना तथा मध्यम आकारका व्यवसाय र अनुसन्धानकर्ताहरूलाई अत्याधुनिक एआईमा आधारित हाई–पर्फमेन्स कम्प्युटिङ स्रोत, तालिम तथा प्राविधिक विशेषज्ञता उपलब्ध गराउने वेबसाइटमा उल्लेख छ ।



फ्रान्स र जर्मनीका एआई फ्याक्ट्रीहरूमा एलिस रेकक र जुपिटर नामका युरोपकै पहिलो एक्सास्केल सुपरकम्प्युटर सञ्चालन हुनेछन् । अस्ट्रिया, बुल्गेरिया, पोल्यान्ड र स्लोभेनियाले पनि नयाँ एआई–अप्टिमाइज्ड प्रणाली स्थापना गरी एआई फ्याक्ट्रीहरूमार्फत युरोपको एआई पूर्वाधारलाई थप विस्तार गरिने युरोपेली आयोगको अपेक्षा छ ।

जर्मनीको युलिसमा बनाइने एआई फ्याक्ट्रीमा नयाँ–नयाँ एआई मोडल र प्रविधि विकास तथा परीक्षण गरिनेछ । यी १३ वटा एआई फ्याक्ट्रीमा युरोपभर एआई नवप्रवर्तन प्रवर्द्धनका लागि अन्तरसम्बन्धित सञ्जाल बनाइने घोषणा गरिएको छ । प्रत्येक फ्याक्ट्रीले आफैंमा ‘वान–स्टप सप’ का रूपमा कार्य गर्ने र त्यसले एआई स्टार्टअप, साना

तथा मध्यम उद्यम र अनुसन्धानकर्तालाई उनीहरूको डेटासेट विकासका लागि सहयोग प्रदान गर्ने आयोगको वेबसाइटमा उल्लेख छ । गत महिना मात्रै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले एआई पूर्वाधार विकासका लागि ठूला डेटा सेन्टर निर्माणको योजना सुनाएकी थिइन् । फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मा आयोग अध्यक्ष भोन डर लेयनले युरोपलाई एआईसम्बन्धी नवीनतम् विकासमा अग्रसर बनाउनुपर्ने आवश्यकता औंल्याएकी थिइन् ।

‘हामी चाहन्छौं, युरोप एआईको क्षेत्रमा अगाडि बढोस्,’ उनले भनेकी थिइन्, ‘ताकि हामीले एआईलाई हाम्रो दैनिक जीवन र प्रयोगको अभिन्न हिस्सा बनाउन सकौं ।’ युरोपमा एआई लगानीका लागि २ सय अर्ब युरो परिचालन गर्ने योजना उनले त्यही बेला सार्वजनिक गरेकी थिइन् ।

यो लगानीलाई युरोपेली आणविक एजेन्सी ‘सर्न’ जस्तै एआई गिगाफ्याक्ट्री स्थापना गर्न प्रयोग गरिने उनको भनाइ थियो । युरोपको एआई गिगाफ्याक्ट्री परियोजनाले विभिन्न चुनौती सामना गर्नुपर्ने रोयटर्सको विश्लेषण छ । त्यसमध्ये सेमिकन्डक्टर चिप प्राप्त गर्नु र विद्युत् आपूर्ति सुनिश्चित गर्नु प्रमुख चुनौती रहने रोयटर्सले जनाएको छ ।

‘हामीले युरोपमा यति ठूला कम्प्युटिङ फ्याक्ट्री निर्माण गर्‍यौँ र उक्त पूर्वाधारमा कुनै एआई मोडल नै तयार गर्‍यौं भने पनि त्यसपछि हामीले त्यस मोडललाई के गर्ने ?’ थिंकट्यांक संस्था ब्रुगेलका बर्टिन मार्टेन्सले रोयटर्ससँग भनेका छन् ।

यस परियोजनाले फ्रान्सको मिस्ट्रल जस्ता स्टार्टअप कम्पनीलाई विस्तारित हुन सघाउने आशा गरिएको छ । यस स्टार्टअपलाई अमेरिकी चिप निर्माता एनभिडियाले सघाउँदै आएको छ । मिस्ट्रलले भविष्यमा युरोपेली एआई कानुन र डेटा संरक्षण नीति अनुकूल भएर स्थानीय एआई मोडल बनाउने आयोगको अपेक्षा छ ।

तर युरोपमा गुगल र अमेजनजस्ता ठूला क्लाउड सेवा प्रदायक कम्पनी वा च्याटजीपीटी निर्माता ओपेनएआई जस्ता लाखौं ग्राहक भएका कम्पनीको अभावमा एआईका लागि यति ठूलो हार्डवेयर निर्माण गर्नु जोखिमपूर्ण कदम हुने रोयटर्सका टबी स्टरलिङको विश्लेषण छ । युरोपले भने एआईमा आफूलाई अमेरिका र चीनभन्दा कम नरहेको स्थापित गर्न एआई कारखानाहरूमा ठूलो लगानी गरिरहेको छ । यी कारखाना नवप्रवर्तन, सहकार्य र भरपर्दो एआई मोडल विकासका लागि युरोपको रणनीतिक पहल भएको बताइएको छ ।

युरोपेली आयोग र सदस्य राष्ट्रहरूले यस परियोजनाका लागि कोष छुट्याएका छन् । पहिलो चरणका एआई फ्याक्ट्रीहरूले करिब १.६३ अर्ब अमेरिकी डलर र दोस्रो चरणमा अस्ट्रिया, बुल्गेरिया, फ्रान्स, जर्मनी, पोल्यान्ड र स्लोभेनियाका ६ वटा एआई फ्याक्ट्रीले करिब ५२८.६५ मिलियन डलरको लगानी प्राप्त गर्नेछन् ।

भूराजनीतिक दृष्टिकोणले हेर्दा यो पहलले युरोपलाई प्रविधिमा सार्वभौमिकता कायम गर्न बलियो बनाउने अनुमान गरिएको छ । विशेषगरी अमेरिका र चीनबाट आउने एआई प्रविधिहरूमा युरोपको निर्भरता घटाउने अपेक्षा गरिएको हो । चीनले सस्तो लागतमै डिपसिक, म्यानुसजस्ता उन्नत जेनेरेटिभ तथा एजेन्टिक एआई प्रविधि निर्माण गरेपछि युरोपलगायत अन्य संगठन एवं देशहरूलाई पनि एआई पूर्वाधार विकासमा हौसला मिलेको देखिन्छ ।

यससँगै युरोपेली आयोगले बलियो एआई इकोसिस्टम निर्माण गरेर नैतिक एवं भरपर्दो एआईका लागि विश्वव्यापी मापदण्ड तय गर्ने लक्ष्य पनि राखेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...