मुख्य समाचार
विशेष सम्बोधन गर्दै नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख
विशेष सम्बोधन गर्दै नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख

: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्। कोशी प्रदेशसभा बैठकलाई मंगलबार विशेष सम्बोधन गर्दै उनले नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख गरे।


ओलीले प्रदेशसभा बैठकलाई १ घण्टा ५ मिनेट सम्बोधन गरेका थिए। त्यस क्रममा उनले वादविवादमा अल्झिन मन नभएको र देशको मुहार फेर्नेतर्फ आफू केन्द्रित भएको उल्लेख गरे। जनताका कुरा सुन्न र जनताका भावनालाई सम्बोधन गर्न आफूले चाहेको ओलीको भनाइ छ।

उद्यमशीलता बिना मुलुक अघि बढ्न नसक्ने उल्लेख गर्दै ओलीले अरुको सहायतामा बाँच्छु भन्ने कुरालाई त्याग्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले नेपाली अब आफ्नै बलमा बाँच्नुपर्ने बताए। ‘विभिन्न उत्पादनसँग कृषकलाई जोड्न सकिन्छ। साना उद्योग स्थापना गर्न जनतालाई सहयोग गर्नुपर्छ। नजानेमा सिकाउनुपर्छ। जनप्रतिनिधिले पुलको काम गरौं। यसो भयो भने जनतालाई विकासमा जोड्न सकिन्छ,’ ओलीले भने। भावनामा बगेर नभइकन देशलाई अघि बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ।



‘दुनियाँ अगाडि बढिसकेको हुन्छ। हामी ठूला कुरा गरेर बस्छौं। अनि पछाडि पर्छौं। हाम्रो देश गरिब भइरहन्छ,’ ओलीले भने, ‘जनतालाई बचतको स्थितिमा पुर्‍याउन सकियो भने र आम्दानीलाई बचतमा परिणत गरियो भने देश धनी हुन्छ। जनता धनी हुन्छन्। जनताको जीवनस्तर पनि उक्सिन्छ।’ उत्पादन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्नेमा उनको जोड छ। ओलीले मानव जातिले विकास गरेका सुविधाको समुचित प्रयोगमा ध्यान दिँदा ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन सकिने बताए।

‘मुलुकमा केही नभएको हैन, विकास धेरै भएको छ। ३३ प्रतिशत महिला आज ‘पार्लियामेन्ट’मा हुनुहुन्छ। हामीले आरक्षणभन्दा पनि क्षमता वृद्धिको अवसरतिर ध्यान दिनुपर्छ। दक्ष नागरिक उत्पादन आजको आवश्यकता हो। सबै कुरा मानवको हित, कल्याण र भविष्यका लागि हाम्रा प्रयासलाई सचेत र योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्रीले भने। उनले प्रदेशसभाले राम्रा काम तर्जुमा गर्ने र त्यसको कार्यान्वयन प्रदेश सरकारले राम्ररी अगाडि बढाउने विश्वास लिएका छन्।

उनले प्रदेश सरकारलाई सहयोग गर्न संघीय सरकार तयार रहेको बताए। जनता र जनप्रतिनिधिका कुरा सुन्नका लागि सरकार बनेको उनको जिकिर छ। ओलीले राजनीतिक व्यवस्थासँगै मुलुकको अवस्था पनि परिवर्तन भएको बताए। उनले केही भएन भन्ने भाष्य गलत भएको दाबी गरे। जनताको अवस्थामा पनि सुधार भएको उनको भनाइ छ।

‘देश विकासका लागि शान्ति चाहिएको छ। अब पछाडि फर्कन सक्दैनौं। आफ्नो क्षमताको हिसाबले जो पनि अघि बढ्न सक्छ,’ उनले भने। उनले नागरिक सर्वोच्चता भएको प्रणालीबारे आफू स्पष्ट रहेको बताए। २ पटकको संविधानसभाले जनतालाई शक्तिशाली बनाउने संविधान निर्माण गरेको बताउँदै उनले यसलाई दुई तिहाइले संशोधन गर्नसक्ने उल्लेख गरे। सबैसँगको सहमतिमा संविधान संशोधन गर्न सकिने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले कृषिको क्षेत्रमा अलि ध्यान नपुगिरहेको बताए। कृषिलाई विकास र समृद्धिको आधार बनाउने योजनामा सरकार रहेको ओलीले बताए। आधारभूत आवश्यकता पूरा गरी गरिबी हटाएर समृद्धिको बाटोमा लाग्न सरकार प्रतिबद्ध रहेको ओलीको भनाइ छ। सरकारले कृषि, पर्यटन, व्यापारसहित बृहत् क्षेत्रमा काम गरिरहेको बताउँदै उद्यमशीलताको विकासका लागि सरकारले ध्यान दिइरहेको उनले बताए। सरकारी जागिर थोरैले प्राप्त गर्ने बताउँदै उनले उद्यमशीलतामा जोड दिनुको विकल्प नहुने बिचार राखे।

ओलीले देशलाई आवश्यक पर्ने श्रमिकको संख्या पर्याप्त नभएको पनि बताएका छन्। मुलुकको निर्माण व्यवसायको क्षेत्रमा मात्रै २० लाख श्रमिक आवश्यक रहेको उनको भनाइ छ। ‘निर्माण व्यवसायको क्षेत्रमा नै २० लाख श्रमिक चाहिएको छ। तर, ६-७ लाख मात्रै श्रमिक छन्। त्यो पनि पारिपट्टी (भारत)बाट ल्याएर काम गर्नु परेको छ,’ ओलीले भने।

ओलीले श्रमिकमा दक्षता र व्यावसायिक तालिमको अभाव रहेको बताए। ‘श्रमिकलाई व्यावसायिक तालिमको अभाव छ। जसका कारण श्रमिकले काम नपाउने समस्या छ। अनि काम पाइएन भनेर मान्छे विदेश जान्छन्। प्रविधिको प्रयोग गर्न श्रमिकले सकेका छैनन्। प्रविधिको प्रयोगमा श्रमिकलाई दक्ष बनाउन हामीले पहल गरिरहेका छौं,’ उनी भन्छन्।

उनले केही गैरसहकारी तत्व सहकारीमा प्रवेश गरेको पनि बताए। ‘गैरसहकारी तत्वलाई सहकारीमा प्रवेश गर्न दिन हुँदैन थियो। त्यसले गर्दा सहकारीको बदनाम भयो,’ उनले भने। कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवस्थित गर्नेतर्फ सरकारले काम गरिरहेको उनको भनाइ छ।

‘मुलुकलाई पछाडि फर्काउने हैन। अगाडि बढाउने हो। मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गजस्ता ठूलो आयोजनाको काम तीव्र गतिमा भइरहेको छ। दिगो विकास लक्ष्य भेट्नका लागि मुलुकमा ४८ प्रतिशत काम अघि बढेको छ,’ ओलीले भने। उनले कोशी प्रदेशमा गरिबी निवारण चाँडो गर्न सकिनेसमेत बताए। २० प्रतिशतभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको भन्दै उनले कोशी प्रदेशमा निरपेक्ष गरिबीको संख्या अलि थोरै रहेको उल्लेख गरे।

कोशी ओलीको गृहप्रदेश पनि हो। उनले कोशी प्रदेशको विकास तीव्र गतिमा हुनुपर्नेमा जोड दिएका छन्। व्यवस्थाविरुद्ध आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो ? भनेर प्रश्नसमेत गरेका छन्। राम्रो प्रणालीका लागि तयार रहेको बताउँदै उनले लोकतान्त्रिक प्रणालीको बाटोबाट नै सरकार अघि बढ्ने स्पष्ट पारे।

‘मुलुकमा अहिले शान्ति र एकता चाहिएको छ। हाम्रो देश विविधतायुक्त भएकाले हामीमा एकता हुनुपर्छ। यति सानो देश यति विविधतायुक्त छ। यसमा एकता पनि छ। पहिले विभेद थिए। राजनीतिक प्रणालीले नै विभेद हुर्काएको थियो। अहिले हामी त्यो प्रणालीमा छैनौं। जनतन्त्रमा छौं,’ ओलीले भने। सामाजिक न्याय र समानता कायम गर्दै सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता कायम गर्ने ढंगले अघि बढ्नुपर्ने आवश्यता रहेकोमा ओलीको जोड छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफ्ना आफन्तको शीघ्र खोजी तथा उद्धारको माग गर्दै पीडित परिवारका सदस्यहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। बाढी आएको १३ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूमा कार्यरत कर्मचारी तथा स्थानीय अझै बेपत्ता रहेकाले खोजी कार्यलाई तीव्रता दिन उनीहरूले सरकारसँग माग गरेका हुन्। दुई ...
: पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अंसारी रहेका छन् । पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिमा रहेको उक्त गाडी सडकको बीचमा रहेको ...
: सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ स्थित लखीवारी निवासी १९ वर्षीय जनक माझी रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मेचीपारिबाट खटिएको टोलीले आइतबार दिउँसो ४ :१० बजे भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री माझीलाई शंका लागि ...
: नेपाली सेनाले रसुवा भोटकोशीमा आएको बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। सेनाले प्रभावित क्षेत्रमा पुल निर्माणदेखि हवाई तथा जमिनी उद्धार, टनेलभित्र खोजी, घाइतेको उपचार र राहत सामग्री ढुवानीसम्मका कार्यलाई निरन्तरता दिएको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ...
: मधेशबासी समुदायलक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा १ जना पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार खोटाङ बाक्सिला नगरपालिका- १५ घर भई काठमाडौं महानगरपालिका -३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई शङ्खमुलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त ...