मुख्य समाचार
दुबईबाट २ हजार ५ सय नेपाली ‘डिपोर्ट’
दुबईबाट २ हजार ५ सय नेपाली ‘डिपोर्ट’

: दुई वर्षअघि हेल्परको काममा दुबई आएका मोरङ सुकुनाका वीरबहादुर परिवारसँग एकाएक सम्पर्कविहीन भए। वीरबहादुर दुबईको अलकोज क्याम्पमा बस्दथे। कोठाबाट साँझपख साथीहरूसँग निस्किएका उनी कोठा फर्केनन्।


अबुधाबीको मुसाफा क्षेत्रमा बस्ने कवितालाई स्थानीय प्रहरीले लिएर गयो। केही दिनसम्म उनी पनि सम्पर्कविहीन भइन्। गोर्खा घर भएकी कविताका श्रीमान्ले कविताको खोजीमा धेरै दिन मानसिक तनाब झेल्नुप¥यो। रौतहटका सुमन दुबईकै सुनापुर क्याम्पमा बस्दथे। उनी पनि एकाएक सम्पर्कविहीन भए।

रूपन्देहीका डम्बरबहादुरले दुबईमा भएको आफ्नो छोरा किरण सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन नेपाली संघसंस्थालाई गुहारे। खोजबिनपछि पत्ता लाग्यो, बेपत्ता भनिएकाहरू त यूएईका विभिन्न जेलमा पुर्पक्षमा राखिएका रहेछन्। उनीहरूमध्ये केही अनुसन्धानको क्रममा थिए भने केही नेपाल फर्काउनका लागि डिपोर्टेसन सेन्टरमा सारिँदै थिए। उनिहरू पक्राउ पर्नुपर्ने कारण रक्सीसेवन, झैझगडा, लागुऔसध सेवन र लागुऔषधको कारोबारमा संलग्न रहेको आरोप थियो।



स्याङ्जाका मणिराम त दुई महिनासम्म जेल बसेर डिपोर्ट भए। उनले स्थानीय प्रशासनको अनुमति नलिइकन नेपाली र अन्य कामदार बस्ने क्याम्पको बाहिर बाटोमा साँझपख खानेकुरा (स्ट्रिट फुड) बेचिरहेका थिए। दुबईकै डीआईपी क्षेत्रमा बस्ने सुवासलाई एकजना मिल्ने साथीले रम्बलघारी (बालुवाघारी) तिर घुम्न लिएर गइन्। कहिल्यै रक्सी सेवन नगर्ने सुवास उक्त ठाउँमा के पुगेका थिए, पक्राउ परिहाले। केही समय सम्पर्कविहीन बने पछि उनी पनि कहिल्यै यूएई आउन नपाउने गरी नेपाल फर्किए, अर्थात् डिपोर्ट भए। उनलाई जान्नेहरू सुवास भने कसरी परिबन्धमा परे भनेर आश्चर्य मानिरहेका छन्।

यसरी पक्राउ पर्ने र बेपत्ता हुनेका परिवारका सदस्यहरू आफ्नो मान्छे खोजिदिन यहाँका संघसंस्थालाई गुहार्छन्। संघसंस्थाले नेपाली दूतावास र अन्य विभिन्न निकायहरूमा धाएर सम्पर्कविहीन भएकाहरूलाई सम्पर्कमा ल्याउने र सहयोग गर्ने गर्दछन्। कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकोले आफन्तले चाहेको जस्तो छिटो परिणाम नआउने भएकोले कतिपय आफन्तहरू सहयोग नपाएको भनेर संघसंस्थाका प्रतिनिधिहरूसँग गुनासो गरिरहन्छन्।

रूपन्देहीका डम्बरबहादुरलाई आफ्नो छोरा रक्सी सेवन गरेर पक्राउ परेको भन्नेमा विश्वास नै छैन। उनको केसलाई नजिकबाट नियालिरहेका यूएईका एक समाजसेवीले छोरा पक्राउ पर्नु पर्ने कारण बताउँदा पनि उनी छोराले कहिल्यै रक्सी सेवन नगर्ने भन्दै प्रतिवाद गरिरहे। डम्बरबहादुरलाई परदेशको ठाउँमा छोरालाई कसैले फसायो होला भन्ने लाग्छ। यद्यपि एउटै कोठामा बस्ने अन्य नेपालीहरू भने किरणले अत्यधिक रक्सी सेवनले गर्ने गरेको र मध्यरातमा बेहोसी अवस्थामै क्याम्प बाहिर गएको बताए।

अभिभावकहरू नै आफ्नो सन्तानको आनीबानीबारे अनविज्ञ देखिए। जेल परेका अधिकांशका आफन्तहरू आफ्नो मान्छे निर्दोष रहेको दाबी गरिरहेका हुन्छन्। एकाधबाहेक प्रमाण र तथ्यले यहाँ दोषी देखाइसकेको हुन्छ।

यूएईमा श्रमिकहरू बसोबास गर्ने क्याम्प सहरी क्षेत्रबाट अलिक टाढा पर्छ। सहरभित्रको ट्राफिक र अन्य कारणले गर्दा लेबर क्याम्पलाई सहरभन्दा अलिकति बाहिर तर व्यवस्थित रूपमा बनाइएको हुन्छ। लेबर बस्ने ती भवननजिकै रम्बलघारी (बालुवाघारी) अर्थात् मरुभुमि क्षेत्र पर्छन्। क्याम्प प्रशासनले क्याम्पभित्र रक्सी ल्याउन प्रतिबन्ध गरेको हुन्छ। चर्को घाममा काम गरेका श्रमिकहरू दिनभरिको थकान मेटाउन नजिकैबाट रक्सी किन्छन् र सितन बोकेर रम्बलघारीमा बसेर अबेरसम्म मात्तिन्छन्। आजकल पक्राउ पर्नेहरू अधिकांश यिनै रम्बलघारीमा मात्नेहरू छन्। कतिपय लागुऔषध ओसारपसार गरेको आरोपमा थुनिएका छन्।

हृदयाघात (प्राकृतिक) भएर मृत्‍यु हुनेहरू पनि अधिकांश अव्यवस्थित खानपिनमा रमाउनेहरू छन्। दिनभरि ५० डिग्रीको तापक्रममा काम गर्ने, साँझ परेपछि टन्नै रक्सी खाने र चिसो एसीमा सुत्ने हुनाले कतिपयको सुतेकै ठाउँमा मृत्‍युसमेत हुने गरेको छ।

गोर्खाका राकेश श्रेष्ठ करिब दुई वर्षदेखि दुबईको जेलमा छन्। मोटरसाइकल ‘डेलिभरी ब्वाई’ मा कार्यरत राकेशलाई उनी बस्ने कोठाबाटै गिरफ्तार गरिएको हो। उनलाई लागुऔषध सेवन र ओसारपसार गरेको अभियोग लागेको छ। एउटै कम्पनीमा काम गर्ने विदेशी साथीले उनलाई उक्त कार्य गर्न प्रेरित गराएको हुन सक्ने उनी निकट साथीहरूको भनाइ छ।

यसरी सार्वजनिक स्थानमा रक्सी सेवन गर्नु, होहल्ला गर्नु र झैझगडा गर्नु गैरकानुनी कार्य हो। खाडी देशहरूमा लागुऔषध सेवन र ओसारपसार सोच्न पनि सकिन्न। अत्यन्तै कडा कानुन छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईका अध्यक्ष विकास शाहीले नेपालीहरू आफ्नै लापरबाहीले समस्यामा फसिरहेको बताए। ‘यहाँ पक्राउ परेका अधिकांशलाई जानकारी छ कि यूएईको सार्वजनिक स्थानमा रक्सी सेवन गर्नुहुन्न भनेर,’ शाही भन्छन्, ‘लागुऔषध सेवन र ओसारपसार गर्नेलाई कडा कानुन भएको देश हो। र, पक्राउ पर्नेहरू पनि प्रायः शिक्षित युवाहरू नै छन्।’ शाहीका अनुसार संघले पटकपटक जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ। यद्यपि नेपालीहरू पक्राउ पर्ने र समस्यामा पर्ने क्रम रोकिएको छैन, बरु बढ्दो छ। छिट्टै पैसा कमाउने प्रलोभनमा युवाहरू पर्ने गरेको हुन सक्ने शाहीको भनाइ छ।

नेपाली समाजका अध्यक्ष राम मोक्तानले आफूहरूसँग आउने अधिकांश केसहरू यस्तै हुने गरेको बताए। नेपाली समाजले ठाउँठाउँमा गएर जनचेतना जगाउने कार्य गरिरहे पनि यो क्रम नरोकिएकोमा आफू चिन्तित बनेको मोक्तानको भनाइ छ। युवायुवतीहरू कुलत संगत र आर्थिक प्रलोभनको कारण कानुनी समस्यामा परेको भन्दै मोक्तानले नेपालमा सञ्चालन हुने अभिमुखीकरण तालिम प्रभावकारी नहुनाले यो क्रम बढेको हुन सक्ने मोक्तानले बताए।

नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर दीपेन्द्र पौडेलका अनुसार गत ३ महिनाको अवधिमा ६ सय ३३ जना नेपालीहरूलाई यूएई सरकारले निष्कासन गरेको छ। केहीले यहाँको अध्यागमनको कानुन उल्लंघन गरेको भए भए पनि अधिकांश श्रमिकहरू अवैध मदिरा सेवन, लागुऔषध कारोबार र भिसा अवधि सकिएर गैरकानुनी रूपमा बस्दै आएकाहरू रहेको पौडेलले बताए।

रमादानको पहिलो ४ दिनमा मात्र दुबईबाट २ सय ५० जना नेपालीहरूको निस्कासनको पक्रियामा रहेका छन्। दूतावास स्रोतले बताएअनुसार गत ६ महिनाको अवधिमा २ हजार ५ सयभन्दा बढी नेपालीहरू यूएईबाट निस्कासित भएका छन्।

गत डिसेम्बर महिनामा २ सय ४३ जना नेपालीहरू यूएईको अदालतले तोकेबमोजिम जेल सजाय भोगिरहेको दूतावासले जनाएको छ। पक्राउ परेपछि आउने र जाने क्रम भइरहने भएकोले यही कारणले अहिले यति नै नेपालीहरू जेलमा होलान् भनेर भन्न नसके पनि पछिल्लो दिनहरूमा यूएईले लिएको नीतिका कारण जेलमा हुने नेपालीहरूको संख्या बढेर पाँच सयको हाराहारी पुगेको अनुमान छ।

दूतावास स्रोतका अनुसार अनौपचारिक भेटघाटको क्रममा यूएईका अधिकारीहरूले नेपालीहरूको पछिल्लो अवस्थालाई लिएर चिन्ता व्यक्त गर्ने गरेका छन्। धेरै नेपालीहरू मदिरा सेवन, झैझगडा र लागुऔषध ओसारपसारमा पक्राउ पर्ने गरेकोले स्थानीय कानुनको पालना गर्न जनचेतना जगाउन आग्रह गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...
। कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ । दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना ...