मुख्य समाचार
सक्दो सकारात्मक देखिने प्रयासमा
सक्दो सकारात्मक देखिने प्रयासमा

— नेपाली राष्ट्रिय फुटबल टोलीले जर्मन, इंग्लिस, ब्राजिलियन, दक्षिण कोरियाली, जापानी, अमेरिकी, बेल्जियन, स्विडेनी, कुवेती र इटालियनपछि अब अस्ट्रेलियाली प्रशिक्षक पनि पाएका छन् । उनी हुन्, ४७ वर्षीय म्याट रस ।


उनी हुनेछन् नेपालका लागि फुटबलको १९ औं आधिकारिक विदेशी मुख्य प्रशिक्षक । रसले प्रशिक्षण थालेकै २० वर्ष भइसकको छ । नेपाली पुरुष फुटबलमा छाएको अन्योलता, अनिश्चिता र अविश्वासको स्थिति चिर्ने चुनौतीपूर्ण जिम्मेवारी हुनेछन् उनी ।


नेपाली मिडियासँग उनी सोमबार पहिलोपल्ट कुराकानीमा बसे । उनी सक्दो सकारात्मक देखिने प्रयासमा रहे । यसको अघिल्लो दिनमात्रै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग एक वर्षको अनुबन्ध गरेका थिए । भलै, यो अनुबन्ध एकै वर्षको मात्र छ । उनी के विश्वास दिलाउन चाहन्छन् भने आफूले एक वर्षमा गर्ने कामले नयाँ अवसरको ढोका खोल्नेछ । उनी नेपाल आएको पनि महिना दिन भइरहेको छ । उनले नेपाली खेलाडीको प्रदर्शन हेर्ने मौका पाइसकेका छन् । महिला टिमको प्रदर्शनको मज्जा पनि लिइसकेका छन् ।

उनीसँगको एक घण्टा बसाइपछि खिचिएको सारका पाँच तथ्य यस्तो रह्यो :

ठूलो र गर्विलो अवसर


केही प्रशिक्षकले यसअघि नेपाललाई आफ्नो छवि उकास्ने अवसरको रूपमा प्रयोग गरेका थिए । सायद रस त्यस्ता होइनन् । उनको बोलेको पहिलो औपचारिक वाक्य हो, ‘नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक हुनु मेरा लागि ठूलो र गर्विलो अवसर हो । यो विशेष देशमा मैले पाएको विशेष भूमिका छ ।’ खासमा उनी त नेपाली टिम नै सम्हाल्ने ताकमा थिए । यसका लागि एक प्रकारले गृहकार्य पनि गरिरहेका रहेछन् । लामै समयदेखि नेपाली फुटबलबारे सोध्ने खोज्ने काम गरिरहेका थिए ।

नेपालमा फुटबलप्रति आम मानिसको मायाले दंग छन् उनी । भन्छन्, ‘नेपालमै रहेर यस्तो अनुभव नहुन सक्छ । तर, मैले धेरै देशमा समय बिताइसकेको छु । यहाँको फुटबलप्रतिको मोह साँच्चै अविश्वसनीय छ । म यही मोहलाई शक्तिमा बदल्न चाहन्छु अनि नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छु । नेपाली फुटबल साँच्चै नै विशेष छ । म आफ्नो करियरको ठीक मोडमा छु । मेरो भूमिका प्रशिक्षणमै मात्र सीमित हुन्न । म नेपाली फुटबललाई सक्दो सहयोग गर्ने प्रयासमा हुनेछु ।’



उद्देश्य साफ च्याम्पिनयसिप

रसले आफ्नो उद्देश्य नै साफ च्याम्पियनसिप जित्ने रहेको बताए । उनले भने, ‘सायद एसिया कप छनोट गाह्रो हुनसक्छ, तर, म नेपाली टिमलाई त्यस नजिक पुर्‍याउने प्रयास हुनेछु । मैले साफ च्याम्पिनसिप जित्ने नै उद्देश्य हो भन्दा कसैले यसलाई महत्त्वाकांक्षी मान्न सक्छन् । तर, मैले यति भनिनँ भने यो नेपाली फुटबलप्रति अन्याय हुनेछ । हाम्रा खेलाडी अविश्वसनीय रूपमा प्रतिशाभाली छन् । नेपाली खेलाडी विश्वस्तरीय छन्, केही यो भन्दा माथिका छन् ।’

उनको अनुभवमा जुन देशमा प्रशिक्षक उम्दा छन्, त्यस देशले पछिल्लो समय फुटबलमा धेरै विकास गरेको छ । उनी क्लबस्तर, उमेर समूहको स्तर र स्कुलस्तरमा सहयोग गर्न तयार छन्, प्रशिक्षक तयार पार्न । यो सबैको एकमात्र उद्देश्य नेपाली फुटबल उकास्नु नै हुनेछ । उनी पुरुष टिमको जिम्मेवारीमै मात्र सीमित रहन चाहँदैनन् । अझ उनी नेपालमा रहेको फुटबल संस्कृतिलाई अगाडि बढाउन चाहन्छन् । भन्छन्, ‘मेरो नेतृत्वमा नेपाली टिम मैदानमा उतारेको दिन अविस्मरणीय हुनेछ ।’

अलिकति ग्वार्डिओला, अलिकति मोउरिन्हो

‘म पेप ग्वार्डिओला पनि होइन न त जोसे मोउरिन्हो हुँ,’ उनले यति भन्न पनि छाडेनन् । तर लाग्छ, उनमा यी दुवैको केही न केही प्रभाव छ । भलै, यी दुवै सवर्था फरक प्रशिक्षक हुन् । उनी आफैं इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका समर्थक हुन् । भन्छन्, ‘आजभोलि फुटबल दर्शनबारे कुराकानी गर्ने चलन बढ्दो छ । म आक्रामक फुटबललाई जोड दिने प्रशिक्षक हुँ । प्रो–एक्टिभ फुटबल मन पराउने प्रशिक्षक हुँ । म खेलाडीले उच्च जोड दिएर खेलेको हेर्न चाहन्छुं । मेरो नेतृत्वमा यस्तै फुटबल हेर्न पाइनेछ ।’

‘तर सबैले के बुझ्न आवश्यक छ भने अहिले तत्काल हामीसँग एसिया कप छनोटको खेल खेल्ने तयारीका लागि दुई साता मात्रै छ । मलेसियाविरुद्धको खेललाई हामीसँग तयारी गर्ने पर्याप्त समय नै छैन । त्यसैले हामीले अवसर हेरेर काम गर्नुपर्छ ।सबै सम्भावनामा हामी खुला हुनुपर्छ । जतिबेला समय ठीक हुनेछ, हामीले आक्रमणमा जोड दिनुपर्छ । अग्रतामा छौं भने पछाडि बलियो रक्षापंक्तिमा पनि जोड दिनुपर्छ,’ उनले योजना सुनाए ।

खेलशैली रूपान्तरणको लक्ष्य

खेल्ने शैलीमा नेपाली टिमलाई रूपान्तरण नै गराउने उनको उद्देश्य छ । ‘मैले नेपालले खेलेको पछिल्लो १२ महिनाको खेल हेरेको छु । मैले यस्तो एक क्षेत्रलाई धेरै ध्यान दिएको छु, जसले भन्छ, नेपाली टिममा रूपान्तरण आवश्यक छ । अन्तर्राष्ट्रिय फुटबलमा बलमाथिको नियन्त्रण गुम्यो भने पछाडि जाने हुन्छ । यो निकै महत्त्वपूर्ण मोड हुन्छ । आफ्नोमा बल हुँदा र नहुँदा कसरी खेल्नुपर्छ, त्यसमा निकै ध्यान दिनुपर्छ, म चाहन्छु, विपक्षीले हाम्रा खेलाडीलाई पछ्याउने काम गरोस्,’ उनले भने ।

यति काम गर्न सक्यो भने नेपाली फुटबलले सफलता पाउने उनको विश्वास छ । उनी अगाडि थप्छन्, ‘म चाहन्छु नेपाली खेलाडीले लामो समय बलमाथि आफ्नो नियन्त्रण राखोस् । हामीले लामो बल खेल्न हतार गर्नुहुन्न । त्यसैले बलमाथि सक्दो बढी नियन्त्रण राख्नैपर्छ । बल हुँदा खेलाडीले दबाबलाई चिर्न सक्नुपर्छ । हामीसँग यस्तो गर्न सक्ने खेलाडी छन् ।’ यति भन्दाभन्दै उनले आफूलाई ग्वार्डिओला मनपर्ने, मोउरिन्हो पनि मनपर्ने भन्न छुटाएनन् ।

महिला टिम पनि हेर्ने सम्भावना

खासमा उनले आफ्नो प्रशिक्षक जीवनको बढी समय महिला फुटबलमै बिताएका छन् । त्यसो भए उनले नेपाली महिला टिम हेर्ने सम्भावना कति छ त ? आखिरमा नेपाली महिला टिमलाई पनि त विदेशी प्रशिक्षक चाहिएकै छ । यो प्रश्नमा उनी अलिकति बढी नै खुसी देखिए । उनको कूटनीतिक शैलीको उत्तर रह्यो, ‘यसका लागि सबैभन्दा पहिले एन्फा अध्यक्ष र महासचिवसँग नै कुराकानी गर्नुपर्ने हुन्छ । यसको उत्तर उहाँहरूसँग

मात्रै हुनेछ ।’

उनी भन्छन्, ‘मैले नेपाल र म्यानमारबीच महिला फुटबलको फाइनल हेर्ने अवसर पाएको छु । दशरथ रंगशालामा त्यो बेलाको माहोल अविश्वसनीय ढंगले सनसनीपूर्ण थियो । महिला खेलाडी पनि असाध्यै प्रतिशाली देखें । प्रीति राई त ठूलै स्टार खेलाडी रहेछिन् । नेपाली महिला फुटबलको सम्भावना पनि धेरै छ । मैले नेपाली महिला फुटबललाई पनि पछ्याएको छु । मलाई विश्वास छ, हामीले महिलाको निकै बलियो टिम बनाउन सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...