मुख्य समाचार
इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ
इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ

— इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम विस्तार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको जनाएको छ । ‘युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्य भएको र हमासले जारी वार्ताका लागि विटकफको प्रस्ताव अस्वीकार गरेकाले प्रधानमन्त्री नेतान्याहुले गाजामा सबै सामान र आपूर्ति प्रवेश रोक्ने निर्णय गर्नुभएको छ,’ इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ ।


हमास प्रवक्ता सामी अबु जुहारीले भने इजरायलले ‘सस्तो जालझेल’ र युद्धविराम सम्झौतामा ‘कू’ गरेको बताएका छन् । उनले इजरायललाई सहायता सामग्री आपूर्ति पुनः सुरु गर्न मध्यस्थकर्तालाई आग्रह गरेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको छ । तर, अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टीबिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ ।

‘गाजामा जाँदै गरेको सहायता रोक्ने नेतान्याहुको निर्णयले इजरायलको कुरूप अनुहार देखाउँछ । हाम्रा जनतालाई भोकै पर्न नदिन अन्तर्राष्ट्रिय समुदायले इजरायली सरकारलाई दबाब दिनुपर्छ,’ हमास प्रवक्ताले भनेका छन् । नेतान्याहुको कार्यालयले शनिबार राति मुस्लिम रमजान र यहुदी निस्तारको अवधिमा करिब ४ सातासम्म युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको उल्लेख गरेको थियो । तर, यस अवधिको अन्त्यमा वार्ता समाप्त भयो भने इजरायलसँग युद्धमा फर्कने अधिकार सुरक्षित रहेको कार्यालयले जनाएको थियो ।

अमेरिकी विशेषदूत विटकफले भने आफ्नो प्रस्ताव सार्वजनिक गरेका छैनन् । तर, दोस्रो चरणको युद्धविराम भने बाँकी सबै जीवित बन्धकहरूको रिहाइ र मृतकमध्ये आधाको शव हस्तान्तरणसँगै सुरु हुने इजरायलको भनाइ छ । यसअघि इजरायली प्रधानमन्त्री कार्यालयले युद्ध अन्त्य गर्ने सर्तहरूमा इजरायल र हमासबीचको मतभेद कम गर्नका लागि थप समय आवश्यक हुने बताएपछि विटकफले ६ साताका लागि युद्धविराम विस्तारको प्रस्ताव गरेका थिए । ६ साताको अवधिमा हमासले आफ्नो अडान परिवर्तन गरेको खण्डमा इजरायलले यसबारे तुरुन्तै वार्ता सुरु गर्ने कार्यालयले जनाएको छ ।


इजरायल र हमासबीच १९ जनवरीदेखि लागू भएको पहिलो चरणको युद्धविराम शनिबार सकिएको हो । १५ महिना लामो युद्धलाई अस्थायी विराम लगाएको सम्झौताका कारण ३३ इजरायली र ५ थाई बन्दीहरू मुक्त भए । त्यसबापत इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गरेको छ । हमासको नियन्त्रणमा अझै २४ जना जीवित बन्धक रहेको विश्वास गरिएको छ । तीमध्ये एक जना नेपाली युवा छन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको हो । हमासको नियन्त्रणमा रहेका ३९ जनाको भने मृत्यु भइसकेको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । त्यसयताका १५ महिनासम्म चलेको युद्धमा ४८ हजार ३ सय ६४ प्यालेस्टिनीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



मारिनेमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका छन् । इजरायली आक्रमणमा कम्तीमा १ लाख १० हजार घाइते भएका छन् भने गाजा क्षेत्रका ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । इजरायलतर्फ पनि करिब १४ सयको ज्यान गएको छ । युद्धविराम सम्झौतामा दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गरिने उल्लेख छ । मध्यस्थकर्ताहरूले त्यसका लागि वार्ता सुरु भएको जनाएका छन् । युद्धविरामको तेस्रो चरणमा गाजाको पुनर्निर्माणको योजना समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...