मुख्य समाचार
इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ
इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ

— इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम विस्तार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको जनाएको छ । ‘युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्य भएको र हमासले जारी वार्ताका लागि विटकफको प्रस्ताव अस्वीकार गरेकाले प्रधानमन्त्री नेतान्याहुले गाजामा सबै सामान र आपूर्ति प्रवेश रोक्ने निर्णय गर्नुभएको छ,’ इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ ।


हमास प्रवक्ता सामी अबु जुहारीले भने इजरायलले ‘सस्तो जालझेल’ र युद्धविराम सम्झौतामा ‘कू’ गरेको बताएका छन् । उनले इजरायललाई सहायता सामग्री आपूर्ति पुनः सुरु गर्न मध्यस्थकर्तालाई आग्रह गरेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको छ । तर, अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टीबिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ ।

‘गाजामा जाँदै गरेको सहायता रोक्ने नेतान्याहुको निर्णयले इजरायलको कुरूप अनुहार देखाउँछ । हाम्रा जनतालाई भोकै पर्न नदिन अन्तर्राष्ट्रिय समुदायले इजरायली सरकारलाई दबाब दिनुपर्छ,’ हमास प्रवक्ताले भनेका छन् । नेतान्याहुको कार्यालयले शनिबार राति मुस्लिम रमजान र यहुदी निस्तारको अवधिमा करिब ४ सातासम्म युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको उल्लेख गरेको थियो । तर, यस अवधिको अन्त्यमा वार्ता समाप्त भयो भने इजरायलसँग युद्धमा फर्कने अधिकार सुरक्षित रहेको कार्यालयले जनाएको थियो ।

अमेरिकी विशेषदूत विटकफले भने आफ्नो प्रस्ताव सार्वजनिक गरेका छैनन् । तर, दोस्रो चरणको युद्धविराम भने बाँकी सबै जीवित बन्धकहरूको रिहाइ र मृतकमध्ये आधाको शव हस्तान्तरणसँगै सुरु हुने इजरायलको भनाइ छ । यसअघि इजरायली प्रधानमन्त्री कार्यालयले युद्ध अन्त्य गर्ने सर्तहरूमा इजरायल र हमासबीचको मतभेद कम गर्नका लागि थप समय आवश्यक हुने बताएपछि विटकफले ६ साताका लागि युद्धविराम विस्तारको प्रस्ताव गरेका थिए । ६ साताको अवधिमा हमासले आफ्नो अडान परिवर्तन गरेको खण्डमा इजरायलले यसबारे तुरुन्तै वार्ता सुरु गर्ने कार्यालयले जनाएको छ ।


इजरायल र हमासबीच १९ जनवरीदेखि लागू भएको पहिलो चरणको युद्धविराम शनिबार सकिएको हो । १५ महिना लामो युद्धलाई अस्थायी विराम लगाएको सम्झौताका कारण ३३ इजरायली र ५ थाई बन्दीहरू मुक्त भए । त्यसबापत इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गरेको छ । हमासको नियन्त्रणमा अझै २४ जना जीवित बन्धक रहेको विश्वास गरिएको छ । तीमध्ये एक जना नेपाली युवा छन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको हो । हमासको नियन्त्रणमा रहेका ३९ जनाको भने मृत्यु भइसकेको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । त्यसयताका १५ महिनासम्म चलेको युद्धमा ४८ हजार ३ सय ६४ प्यालेस्टिनीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



मारिनेमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका छन् । इजरायली आक्रमणमा कम्तीमा १ लाख १० हजार घाइते भएका छन् भने गाजा क्षेत्रका ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । इजरायलतर्फ पनि करिब १४ सयको ज्यान गएको छ । युद्धविराम सम्झौतामा दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गरिने उल्लेख छ । मध्यस्थकर्ताहरूले त्यसका लागि वार्ता सुरु भएको जनाएका छन् । युद्धविरामको तेस्रो चरणमा गाजाको पुनर्निर्माणको योजना समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...