मुख्य समाचार
ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै
ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै

— ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै गएको छ । अहिले दुई शताब्दी यताकै थोरै सेना बेलायतसंग रहेको तथ्यांकहरुले देखाएका छन् । बजेट कटौती र युवाहरुको सेनाप्रति विकर्षणका कारण अहिले सक्रिय ब्रिटिश सिपाहीको संख्या ७३ हजार हाराहारी मात्र छ । यो संख्या चिनियाँ सेनाको २० लाख, रुसको १३ लाख वा अमेरिकी सेनाको ४ लाख ६० हजारभन्दा निकै कम हो ।

बेलायतको सेना अहिले रोमानिया र बंगलादेशको भन्दा पनि सानो छ भने क्यानाडा र आर्मेनियाको भन्दा थोरै ठूलो छ । रक्षामन्त्री जोन हेलीले अर्को वर्ष सेनाको संख्या ७० हजार भन्दा कम हुने बताएका छन् । जुन सन् १७९३ यताकै न्यून हुनेछ । 'हामी हाम्रा सेनाहरूलाई लड्न थप योग्य बनाउन र बेलायतलाई स्वदेशमा अझ सुरक्षित र विदेशमा बलियो बनाउन रातदिन काम गर्नेछौं,' उनको दाबी छ ।

दुई शताब्दी अघि सन् १८२३ मा जम्मा ७२ हजार ब्रिटिश सैनिक थिए । सन् १८२३ मा बेलायतको जनसंख्या २० मिलियन बढी थियो, आज लगभग ६७ मिलियन छ । जनसंख्याका लागि समायोजन गर्दा अहिले लगभग २ लाख २५ हजार सैनिक हुनुपर्ने हो । सन् १९८९ मा ब्रिटिश सेनासँग एकलाख ५६ हजार सैनिकहरू थिए जुन अहिलेको आकारभन्दा दोब्बर बढी हो ।

शीतयुद्ध अन्त्यपछि सिपाही भर्ती गर्न कठिनाइ, बजेट अभाव र अत्याधुनिक सटिक–निर्देशित हतियार उपलब्ध भएका कारण संख्या निरन्तर ओरालो लागेको विश्वास गरिन्छ । तलब वृद्धिका बावजुद धेरै ब्रिटिश सैनिकले जागिर छोडेका पाइएको छ । केही समययता सरकारले पारिश्रमिक वृद्धि गरेपनि धेरै सैनिकले सेवा छोडिरहेका छन् ।


टेलिग्राफको एक रिपोर्टअनुसार अक्टोबर २०२४ सम्म लगभग १५ हजार ब्रिटिश सेनाले जागिर छाडेका छन् । यीमध्ये आधा भन्दा बढी 'स्वैच्छिक त्याग' को रूपमा वर्गीकृत गरिएको छ । गत जुलाईमा बेलायत सरकारले सैन्य कर्मचारीहरूका लागि ६ प्रतिशत तलब वृद्धिको घोषणा गरेको थियो जुन दुई दशकमा सबैभन्दा धेरै हो ।

उक्त वृद्धिको उद्देश्य भर्ती र बढ्दो सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नु थियो । 'हाम्रो नयाँ सरकारको पहिलो कर्तव्य बेलायती जनतालाई सुरक्षित राख्नु हो। र हाम्रो रक्षा बल सेनामा सेवारत पुरुष महिलाहरूमा निहित छ,' रक्षामन्त्री हेलीको भनाइ छ ।



गत वर्षको सुरुमा बेलायतको रक्षा मन्त्रालय (एमओडी) को तथ्यांकले सन् २०२३ मा भर्ना भएका भन्दा धेरै मानिसले सेना छोडेको खुलासा गरेको थियो, जसको मुख्य कारण दयनीय जीवनशैली र खस्किएको सैनिक मनोवल मानिन्छ । बिजनेश इन्साइडरमा रक्षा सम्बन्धि जानकार माइकल पेक लेख्छन्, 'यसको आकारले नेटोलाई समर्थन गर्ने, रुसको सामना गर्ने वा युद्ध लड्ने बेलायतको क्षमतामाथि प्रश्न खडा गर्छ ।'

सन् २०१० मा कन्जरभेटिभ पार्टीका तर्फबाट डेभिड क्यामरुन नेतृत्वको गठबन्धन सरकारले सेनाको आकार घटाएर ८० हजार बनाउने र ऐतिहासिक रेजिमेन्टहरू खारेज गर्ने रणनीति र सुरक्षा समीक्षापछि सेनाको संख्यामा लगातार गिरावट आएको हो । दशकौंको सेना कटौतीले बेलायतलाई रूसी आक्रोशका लागि 'व्यापक रूपमा कमजोर' बनाएको बेलायती सशस्त्र सेनाका एक पूर्वप्रमुखले दाबी गरेका छन् ।

प्रधानमन्त्री केयर स्टार्मरलाई यूकेको रक्षा बजेट बढाउन बढ्दो दबाब भइरहेका बेला जनरल सर निक कार्टरले सेनाले विगत ३० वर्षमा निकै उपेक्षा भोगेको टिप्पणी गरेका छन् । निक सन् २०१८ देखि २०२१ सम्म डिफेन्स स्टाफको प्रमुख थिए ।

प्रधानमन्त्री यही बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भेट्न वासिङटन यात्रा गर्दै छन् । बेलायतलाई सन् २०३० सम्म बेलायतको जिडीपीको २.५ प्रतिशत रक्षा बजेट पुरयाउन दवाव छ । अमेरिकी राष्ट्रपति ट्रम्पको दबाबपछि युरोपले रक्षा खर्च बढाउनुपर्ने प्रधानमन्त्री केयर स्टारमरले बताएका थिए ।

बेलायती अर्थमन्त्री रचेल रिभ्सले आफ्नो योजनामा ​​पुनर्विचार गर्नुपर्ने संकेत गरेकी छन्। 'संसार स्पष्ट रूपमा परिवर्तन हुँदैछ', 
रिभ्सको भनाइ उधृत गर्दै उनका सहयोगीले भनेका छन् 'सरकारहरुले बदलिंदो संसारको अनुशरण गर्नुपर्छ। रिभ्स राष्ट्रिय सुरक्षालाई गम्भीर रूपमा लिनुहुन्छ । एक सुरक्षित अर्थतन्त्रलाई सुरक्षित रक्षा आवश्यक छ भन्ने उहांको मान्यता छ ।'

बेलायतले अहिले आफ्नो जिडीपीको २.३ प्रतिशत रक्षामा खर्च गर्छ । प्रधानमन्त्री स्टारमरले त्यसलाई २.५ प्रतिशतमा बढाउने 'मार्ग' तय गर्ने वाचा गरेका छन् जुन प्रतिवर्ष ५ देखि ६ बिलियन पाउण्ड हुनेछ ।

ब्रिग्रेड अफ गोर्खाजमा करिब ४ हजार

नेपालबाट वर्षेनी युवाहरु भर्ती भएर ब्रिटिश आर्मीमा आउने गरेका छन् । विगत २०९ वर्षदेखि यो क्रम चलेको हो । हाल ब्रिगेड अफ गोर्खाजमा करिब ४ हजार नेपाली आवद्ध रहेको बताइन्छ ।

यस वर्षमात्र बेलायती सेनामा २७४ नेपाली युवा भर्ती भएका छन् । केही दिनअघिमात्र बेलायती राजा चाल्र्स तृतीयका कान्छा भाइ राजकुमार एडवार्ड र पत्नी अधिराजकुमारी सोफी ति युवाको प्रमाणीकरण परेडमा पोखरामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...